काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि शुक्रबार रिहा हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाँण शुक्रबार धरौटी बुझाएर रिहा हुन लागेका हुन् । खाँण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेश बमोजिम शुक्रबार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि खाँण रिहा हुने बताएका छन् ।
‘उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुन्छ । त्यसपछि धरौटी बुझाएर उहाँ रिहा हुनुहुन्छ ।’, घिमिरेले भने, ‘कारागारबाट उहाँलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केहीबेर हाजिर गराउनुपर्नेछ ।’ खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनीविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि उच्चका दुई न्यायाधीशहरूबीचै राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशसमक्ष पेश गरिएको थियो । न्यायाधीश कोइरालाले ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिने पक्षमा राय राखेका हुन् ।
यसअघिको इजलासमा न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्ने राय राखेकोमा अर्का न्यायाधीश प्रकाश खरेलले खाँणलाई थुनामा पठाउनुपर्ने राय राखेका थिए ।
त्यसबेला न्यायाधीशद्वय पाण्डे र खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै राखिरहन आदेश दिएको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सहित ६ जनालाई धरौटीमा रिहा गर्न र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिएको थियो ।
अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम संगठित रूपमा असुलेको अभियोगमा सरकारले गत जेठ १० गते पूर्वगृहमन्त्रीद्वय खाँण र टोपबहादुर रायमाझी सहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो । अभियोग खेपिरहेका १८ र फरार १२ गरी ३० मध्ये दुई पूर्वमन्त्री तथा गृहसचिवसहित १६ अभियुक्तलाई असार १ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
त्यसविरुद्ध उच्च अदालतमा उनीहरूले दायर गरेको निवेदनमाथि अन्तिम आदेश जारी गर्दै उच्चले पूर्वमन्त्री रायमाझी सहित टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको थियो भने खाँणका पीए नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई १५ लाख, सन्दीप रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्ने आदेश गरेको थियो । लक्ष्मी महर्जन, टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकी भने साधारण तारेखमा छुटेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्