काठमाडौँ । नयाँ संविधान जारी भएपछि दोश्रो आवधिक निर्वाचन भएर सरकार गठन भएको मंगलबार एक वर्ष पूरा भएको छ ।
गतवर्ष मंसिर ४ गते निर्वाचन भएपछि संसद्को तेश्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । मंगलबार दाहाल प्रधानमन्त्री नियुक्त भएको ठिक एक वर्ष पूरा भएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा विशेष सम्बोधन गर्ने जनाएका छन् । दाहालको सचिवालयका अनुसार मंगलबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । संसद्को अधिवेशन स्थगित भइसकेको अवस्थामा प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलन गर्दै देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारको एक वर्षको समीक्षा, आगामी कार्यदिशा र विशेष घोषणाहरू समेत गर्ने जनाइएको छ । तेश्रो पटक प्रधानमन्त्री बन्दा पहिलो पटक एक वर्षे कार्यकाल पूरा गर्न पाएका प्रधानमन्त्री दाहालले अब नयाँ ढंगले काम गर्ने बताउँदै आएका छन् । उनले सार्वजनिक कार्यक्रममै आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुवात नयाँ धक्का दिएर गर्ने बताएका थिए ।
दाहाल २०७३ मा पहिलो पटक प्रधानमन्त्री हुँदा नौ महिनामै सरकार ढलेको थियो भने २०६५ मा पनि उनले प्रधानमन्त्रीको रुपमा १० महिनाभन्दा बढी समय कटाउन पाएका थिएनन् ।