×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली धितो राखेर तीन गुणा ऋण, राष्ट्रिय वाणिज्य बैंकको मनपरी छताछुल्ल ! (भिडियो ब्रिफिङ)

PRIME CA
GLOBAL IME BANK

नक्कली धितो राखेर तीन गुणा ऋण, राष्ट्रिय वाणिज्य बैंकको मनपरी छताछुल्ल ! (भिडियो ब्रिफिङ)

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । तपाईं हामीले बैंकबाट ऋण लिनुपर्यो भने कति झन्झट व्यहोर्नुपर्छ थाहा छ ? यदी तपाईंले बैंकबाट ऋण लिनुभएको छ भन्ने तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ । सुरुमा त तपाईंसँग गज्जबको धितो हुनुपर्छ । कानुनमा जे लेखेको भए पनि व्यवहारमा १५ लाख रुपैयाँमात्र ऋण लिने हो भने पनि ५० लाख भन्दा बढी पर्ने धितो बैंकमा राखेर ल्याप्चे हान्नुपर्छ । अझ चट्ट बाटो कुना मिलेको, बाटोले छ्याक्क छोएको नभई बैंकले ’हुन्छ’ भन्नेवाला छैन । अझ धितोले मात्र कहाँ पुग्छ र ? बैंकबाट ऋण लिन तपाईंको आम्दानीको स्रोत दह्रो होइन, सुपर दह्रो हुनुपर्छ । ऋण लिनका लागि तपाईंले कर तिरेको आम्दानीको सर्टिफिकेटसमेत बुझाउनुपर्छ बैंकलाई। अझ, यति भएपछि सजिलै ऋण पाए त हुने, बैंकले भनेअनुसारका ठाउँमा आँखा चिम्लेर ल्याप्चे हान्दा पनि बैंकले भनेको बेला, बैंकले आफ्नो सुविधामात्र ऋण दिन्छ तपाईंलाई । अझ बिवाह गरेपछि बरु नयाँ दुलाहादुहलीले बच्चा राख्न बरु केहि समय कुर्लान्, अहँ, बैंकले ब्याज बढाउन कुनै आइतबार कुर्दैन । अनि त ७ प्रतिशतमा लिएको बैंकको ऋण, सो ऋण उपयोग गरेर पैसा कमाउन नपाउँदै १७ पुगिसक्छ । अनि त कमायो, बैंकलाई तिर्यो, अझ बढी कमायो, बैंकलाई नै तिर्यो । फेरी कमायो, फेरी बैंकलाई नै तिर्यो । बैंकलाई त तिरेको तिर्यै । अनि सावाँ भन्दा ब्याज बढी गईसक्दा पनि व्यापारबाट कमाएको पैसा बैंक पाल्दै ठिक हुने भएपछि कसले गर्नु व्यापार ? बरु पासपोर्ट बनायो, झोला बोक्यो, विदेश हिड्यो । झट्ट सुन्दा तोइट ! यस्तो पनि हुन्छ ? भन्ने लागे पनि अहिले बजारमा हुने यस्तै हो । सबैको हकमा यस्तो नभए पनि अधिकांशको हकमा हुने यस्तै यस्तै हो ।

तर, फेरी यो तपाईंहामीजस्ता सामान्य मान्छेका लागि मात्र हो है । चट्ट २५ हजारको कोट टाई ढल्काएर, मरसिडीजमा सरर बैंकका हाकिम सापको कोठामा पुग्ने हैसियत राख्नेहरुको कथा छुट्टै छ । धितोले कति ऋण दिन पुग्छ होइन, तपाईंलाई कति चाहिएको भन्नुस् न, बाँकी त हात यहि हो, कलम यहीं छ, धस्काईदिईहाल्छु नि सहि भन्ने हाकिम सापका कारण हुनेखानेले जति धितो राखेर पनि जति पनि ऋण लिएका छन् । सबै बैंकमा सबै हाकिमले सधैं यसो गर्छन् भनेको होइन । तर यस्तो गर्नै नहुने हर्कत केहिले गर्दा समग्र नेपाली बैंकिङप्रति आम नागरिकको दृष्टि हुनुपर्नेजति सकारात्मक छैन । बिगत ५ बर्षका बैंकका घोटालाका केस हेर्ने हो भने, बिगत ५ बर्षमा बैंकहरुमा बिग्रिएका फाइलहरु हेर्ने हो भने, बिगत ५ बर्ष यता बैंकका कर्मचारीहरुले जेल जान नपरोस् भनेर शक्तिकेन्द्रको चाकडी गरेको लिष्ट हेर्ने हो भने, बैंकलाई लुटी खाने भाँडो बनाएकाहरुकै दबदबा छ यो देशमा ।

तर, जसले जति मै हुँ फुर्ति लगाए पनि, गल्ती गर्नेको पाप एक दिन धुरीबाट कराउँछ, कराउँछ । कसैको शान्त भएर कराउला, कसैको कराएरै कराउला । तर जनताको निक्षेप भएको बैंकलाई ठग्नेहरुको उँधोगति सधैं सम्भव छैन, छैन । यस्तै भएको छ राष्ट्रिय बाणिज्य बैंकका ४ कर्मचारीहरुलाई, जसले एउटा व्यापारिक समूहसँग मिलेमतो गरेर, हाकाहाकी पैसा खाएर, हुने नहुने कागज बनाएर ऋण दिएको थियो । १४ करोडको धितो राखेर ५१ करोडको ऋण दिएका ती फटाहा कर्मचारीहरु अन्ततः भ्रष्टाचारी ठहर भएका छन् । र अवको उनीहरुको बास यो ठण्डीमा जेलको हुने भएको छ ।

हो, सर्वोच्च अदालत पुगेको राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीसहितको मिलेमतोमा भएको किर्ते काण्डमा बैंकका कर्मचारीहरु दोषी ठहर भएका छन् । बैंकको विराटनगरस्थित रानी शाखाका प्रबन्धकहरु राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रवन्धक चन्द्रलाल अमात्य, र लेखा अधिकृत भैरवप्रसाद पोखरेल भ्रष्टाचारी ठहर भएका हुन् । जो, कागजसागज सबै म मिलाईहाल्छु नि, बस्, हल्का खर्च पानीको व्यवस्था गर्नुपर्यो भनेर हाकाहाकी ऋणीसँग घुस खान्थे । नक्कली कागजलाई सक्कली भनेर सहि गरिदिन्थे, अनि जसरी आफ्ना मान्छेको ऋण आउँछ, त्यसरी नै काम गरिदिन्थे । उही पाप धुरीबाट कराउँछ भनेजस्तै अहिले उनीहरुको पाप धुरीबाट कराएको छ ।

अव यो केस के हो ? के भएको थियो भन्ने बुझौं
ऋण लिएको समय अलि अगाडीको हो । विराटनगरका व्यवसायी मंगतुराम अग्रवालले राष्ट्रिय बाणिज्य बैंकबाट ऋण लिएका थिए । उनका छोराहरु सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवालसमेतको मिलेमतोमा नक्कली कागजात बनाई बैंकबाट ऋण निकालिएको थियो । उनीहरुका नाममा भएको १४ करोडको धितो लिई, थप धितो मूल्यांकनको नक्कली कागजात बनाई बैंकबाट ५१ करोड ऋण प्रवाह भएको थियो ।

कर्मचारीलाई खर्चपानी दिएर ढुक्क भएका उनीहरुको कुकर्म धेरै समय टिक्न सकेन । खर्च पानीको हिसाब नमिलेर हो, वा यो त अत्ति नै भयो भनेर हो, केस अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्यो । यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले यस विषयमा छानविन थाल्यो । छानविनका क्रममा बैंकिङ कानुन तथा नीति नियम विपरित ऋण प्रवाह भएको पुष्टी भएपछि अख्तियारले २०६२ सालमा मंगतुराम अग्रवालसहित उनका छोराहरु र बैंकका ६ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता गरेको थियो । सो मुद्धाको फैसला गर्दै विशेष अदालतले २०६८ साल वैशाख ८ गते २ कर्मचारीलाई सफाई दिएको थियो भने अन्य कर्मचारी र मंगतुराम अग्रावलसहित उनका छोराहरुलाई दोषी ठहर गरेको थियो ।

अख्तियारले १ अर्ब ३७ करोड रुपैयाँ विगो मागदावी गरेको उक्त मुद्धामा अग्रवालका बाबुछोराहरुलाई १–१ बर्ष कैद र दोषी ठहर भएका बैंकका कर्मचारीहरुलाई ६–६ महिना कैदको सजाय सुनाइएको थियो । पछि विशेष अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै उनीहरु पुनरावेदन गर्न सर्वोच्च पुगेका थिए । अन्ततः सर्वोच्चले पनि विशेष अदालतको फैसला सदर गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो । अव ऋणीहरु एक–एक बर्ष जेल बस्नुपर्ने भएको छ भने बैंकका कर्मचारीहरुको पनि ६–६ महिना जेलमा बास हुने भएको छ ।

अग्रवाल समूहका विभिन्न कम्पनीहरुमा कमसल धितो राखी कर्जा प्रवाह भएको, स्वीकृत सीमाभन्दा बढी कर्जा प्रवाह भएको, भाखा नाघेको ऋणीलाई पुनः कर्जा दिएकोसमेत अख्तियारले फेला पारेको थियो । २०५३ सालदेखि यस्तो किर्ते काममा राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको मिलेमतो थियो ।

हुन त राष्ट्रिय बाणिज्य बैंकमा भएको यस्तो घोटाला यो पहिलो भने होइन । राष्ट्रिय बाणिज्य बैंक त्यहि बैंक हो, जसले केहि समय अगाडी नक्कली सुन धितोमा राखेर ऋण दिएको थियो । यो त्यहि बैंक हो, जहाँ कर्मचारीहरुको मिलेमतोमा भएका यस्ता अरु घटना पनि बग्रेल्ती छन् । यो राष्ट्रिय बाणिज्य बैंक त्यहि हो, जहाँका मेनेजरहरुले ऋणीसँग घुस खाएको भन्ने घटना नै दर्जन बढी यस अघि नै सतहमा आईसकेका छन् । र यसपाली ४ कर्मचारी अव ६ महिनाका लागि पुलिस मामाको घरमा पुगेका छन् । अरु कर्मचारीका अन्य केसहरु पनि चलिरहेका छन् । र केस चल्ने क्रम पनि जारी छ ।

अझ अचम्मको कुरा त के छ भने यो केस पनि बैंकले सुटुक्क मिलाउन खोजेको थियो । ऋण नतिर्नेहरुको ऋण सहुलियत बनाएर सबै कुरो मिलिपनिसकेको थियो । तर विशेष अदालतमा दायाँ बायाँ नहेर्ने, सहिलाई सहि भन्ने गलतलाई गलत भन्न सक्ने आँटी न्यायाधीस परेछन, खर्च पानी दिएर गरेको कुकर्म, थप खर्च पानी दिएर मिलाउने दुष्प्रयास विफल भएको थियो । र अहिले पनि यो र यीजस्तै अन्य बैंकमा यसरी सक्नेले लुटीरहने, नसक्नेको हरिबिजोग हुने क्रम जारी छ ।

नियामकले पनि सात्तो लिने सानै ऋणीको हो । बैंकले पेल्ने पनि सानै ऋणीलाई हो । सानालाई ठुला बन्नै नदिने, अझ सानालाई बोल्नै नदिने गर्दा पछिल्लो समय बैंकको छवी बिग्रिएको सत्य हो । राष्ट्रिय बाणिज्य बैंकमा केहि सिमित मान्छेले मनपरी गरेकै थिए, त्यसमा अरु बैंक र ऋणीहरु पनि थपिए, जसले नेपाली बैंकिङ क्षेत्रलाई धुमिल बनाएको छ ।

खासमा बैंक तपाईं हाम्रो हुनुपर्छ । राष्ट्रिय बाणिज्य बैंकले त झन् आफ्नो भनेको आफ्नै हुन्छ भन्ने नारा नै लगाउने गरेको छ । तर आफ्नो भनेको आफ्नै हुन्छ भनेर आमा जनताले भन्न सक्नुपर्छ । यसरी बैंकलाई ठगी खानेहरुका लागि मात्र राष्ट्रिय बाणिज्य बैंक आफ्नो भनेको आफ्नै हुन्छ हुनु हुँदैन । बैंक भनेको अभिभावक पनि हो, बैंकले उठ्न खोज्नेहरुलाई उठाउन सक्नुपर्छ । तर पछिल्लो समय केहि बैंकहरुले साथी भनेर लुटीदिने, आफन्त भनेर भुटीदिने, सीएसआरको पैसाले कर्मचारीलाई चकलेट दिने, अनि ग्राहकहरुलाई दुख मात्र दिने गर्दा ऋणीहरु आत्तिएका छन् । यो गलत हर्कतको सृंखला अव रोकिनुपर्छ । र साँच्चै जनताले भन्न सक्नुपर्छ, राष्ट्रिय बाणिज्य बैंक, आफ्नो भनेको आफ्नै हुन्छ भनेर । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: