×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अविश्वास बढेपछि बचतकर्ताले सहकारीमा पैसा राख्नै छोडे, केही बदमास सहकारीका कारण समग्र क्षेत्र नै समस्यामा पर्यो’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘अविश्वास बढेपछि बचतकर्ताले सहकारीमा पैसा राख्नै छोडे, केही बदमास सहकारीका कारण समग्र क्षेत्र नै समस्यामा पर्यो’

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालका सहकारीहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्दा विश्वसनीयता गुम्दै गएको चिन्ता व्यक्त गरेका छन् । हिमशिला मिडिया प्रालिद्धारा काठमाडौँमा आयोजित ‘सहकारीको ‘पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको पैसा उद्यमशीलतामा जानू पर्नेमा त्यहाँ नगएको बताउँदै सहकारी क्षेत्रमा समस्या आउनुमा नियामक निकायको ठूलो कमजोरी रहेको बताएका छन् । सजिलोसँग नाफा कमाउने सोचका कारण सहकारी क्षेत्रको पैसा अनुत्पादक क्षेत्रमा गएको पौड्यालको भनाई छ ।

त्यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताए । उनले केही रकम विदेशमा पनि गएको बताएका छन् । सहकारीप्रतिको विश्वास गुमेको कारण पैसा बाहिरिएको बताउँदै अब सहकारी बचाउन सबै जुट्नुपर्ने उनले जोड दिएका छन् । ‘विशेषगरी सहकारी क्षेत्रमा विश्वासको वातावरण बढाउन अभियन्ता, मिडिया र सदस्यहरु सबै जुट्नुपर्छ । सहकारीमा तरलताको अवस्थामा सिर्जना भइरहेका बेला उत्पादक क्षेत्रमा नगएको भन्दा पनि विश्वासको वातावरण बनाउनुपर्छ ।’, उनले भने, ‘यतिबेला केही पैसा गैरसहकारी क्षेत्रमा गएको छ, केही घरमा बसेको छ, केही विदेश गएको होला तर तत्कालीन अवस्थामा विश्वासको वातावरण बनाउनतर्फ लाग्नुपर्छ ।’

यता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा मात्रै नभएर अहिले वित्तीय क्षेत्रमा नै असर रहेको बताएका छन् । यसको प्रमुख कारण सहकारी क्षेत्रप्रति विश्वास जगाउन नसक्नु नै रहेको कँडेलको भनाई छ । ‘विश्वास गुमेपछि अलिकति बैंकमा राखे, अलिकति घरमा लगेर राखे होलान ।’, उनले भने, ‘केही बदमास सहकारीका कारण समस्या देखियो, तर सबैतिर त्यस्तो छैन ।’

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीले सहकारीले जे उद्देश्यका लागि लगानी गर्नुपर्ने हो त्यहाँ लगानी नगर्दा समस्या देखिएको बताएका छन् । ‘गर्नुपर्ने क्षेत्रमा लगानी नगर्नु कानून अनुरुप होइन । सहकारीमा आएको पैसा कसरी आयो, के का लागि आएको हो र कहाँ लगानी भयो भन्ने विषयका बारेमा पहिले अध्ययन हुनुपर्छ ।’, उनले भने, ‘उत्पादन र सेवाका क्षेत्रमा लगानी नहुनु सहकारीको मूल्य मान्यता होइन । संस्था आफ्नै कारणले पनि अविश्वासको वातावरण बनाइरहेका छन् । नियमन गर्ने सरकारले मात्र होइन संस्था आफैं जिम्मेवार बन्नुपर्छ ।’

कार्यक्रमका बारेमा प्रष्ट पार्दै हिमशिला मिडिया कम्पनीका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अभियन्ता, नियमक निकाय, सरोकारवालाबीच आपसी संवाद, अन्तरक्रियाको अभाव हुँदा पनि सहकारी अभियानमा अविश्वासको वातावरण बढेको बताएका छन् । उनले सहकारी क्षेत्रका मुद्दाका विषयमा आफूहरुले नियमित वहस, छलफल र अन्तरक्रिया गर्दै संचारमाध्यमबाट आवाजहरु उठाउँदै आएको बताए । सम्मेलनको महेन्द्र भट्टराईले सहजीकरण गरेका थिए । सम्मेलनमा दर्जन बढी सहकारी सदस्य एवम अभियन्ताहरुले आफ्नो धारणा राखेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: