×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा मिनी बुलः बैंकहरुमा ऋण लिनेको लर्को, तर ख्याल गरौँ है ब्याड न्युज छ अर्को ! (भिडियो ब्रिफिङ)

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा मिनी बुलः बैंकहरुमा ऋण लिनेको लर्को, तर ख्याल गरौँ है ब्याड न्युज छ अर्को ! (भिडियो ब्रिफिङ)

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौँ । सेयर बजारमा जव बुल आउँछ, तव तव हरेक बुलमा दृश्य यस्ता देखिन्छन् कि बजारमा नसोचेको हुन्छ । बियर लभरहरुले एकाविहानैबाट उत्तानो परेको साँढे फेसबुकमा जति हाले पनि बजारले आफ्नो लय लिन्छ । बियर लभरहरु जति डाँको छोडेर रोए पनि बजारले आफ्नो गति भुल्दैन । बजार त आफ्नै गतिमा अविरल, अविराम बगिरहन्छ। यति बेला सेयर बजारमा मिनी बुलको रौनक छ । अहिलेको बजारलाई यस कारण मिनी बुल मात्र भनिएको कि कि सहि अर्थमा बुल आउन नै बाँकी छ । बुलिस लयमा हिँडेको बजारमा एउटा स्वाभाविक तर अकाट्य करेक्सन आउँछ । हो, त्यहि छोटो र स्वाभाविक करेक्सनपछि दौडेको बजार बिग बुलको यात्रामा हुन्छ ।

अहिले बजारमा मिनी बुलले रौनकता ल्याउँदा बजारमा दिनप्रतिदिन सेयरको कारोबार बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक उकालो गतिमा छ र नेप्से निरन्तर बढिरहेको छ । मौद्रिक नीतिको समिक्षापछि एक दिनबाहेक लगानीकर्ताले रातो देख्नुपरेको छैन । बजार घट्न घट्न लागेजस्तो तर फेरि घट्न नमानेजस्तो गरेर उकालो गतिमै छ । बुधबार बजारमा केहि करेक्सनको अपेक्षा गरिएको थियो । किनकि ठुला केहि लगानीकर्ताहरु बजारमा प्रफिट बुक गरिरहेका थिए । बजार केहि तल ओर्लेजस्तो अनि पुनः माथि उक्लेजस्तो तपाईंहरुले पक्कै देख्नुभयो होला । हो, बजारमा केहि ठुलाले प्रफिट बुक गरे पनि बजारले आफ्नो लय समात्यो र मझौलाले पनि बजार थामे भन्ने तथ्यको उदारहण थियो त्यो । सेयर बजारका अघिल्ला बुल र इतिहास हेर्ने हो भने पनि जव जव बजार इन्ट्रा डे करेक्सन भएर बढेरै बन्द हुन्छ, त्यो बुल बजारकै संकेत हो । मिनी बुलको लयमा दौडिएको बजारले आज बजार पक्का बुलिस लयमा छ भन्ने थप कन्फरमेसन दिएको छ । यसको अर्थ आगामी दिन बजारका लागि थप सुन्दर हुनेछ । बेच्न नजान्नेहरुका लागि यो बजार सुन्दर छँदै छैन । किन्न–बेच्न जान्नेहरुका लागि यो बजारभन्दा सुन्दर चीज अर्को छैन । र त हरेक घटना, परिघटनाले सेयर बजारलाई कस्तो असर गर्छ भन्ने तथ्य बुझेर मात्र सेयर बजारमा लगानी गरे बजार मात्र सुन्दर छैन, आफ्नो पोर्टफोलियो पनि सुन्दर छ ।

गुड न्युजका कुरा
आज पनि केहि गुड न्युजका कुरा गरौँ । बजारमा नयाँ ऋणका लागि आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको छ । हुन त बुल बजार सुरुवात हुनुभन्दा केहि समय अगाडी केहि ठुला लगानीकर्ताहरुले विभिन्न साथीभाईका नाममा ऋण बनाएर बजार प्रवेश गरेको देखिएको थियो । सोहि ऋणको पैसा इन्ट्री हुँदै गर्दा बजारभित्र केहि पाक्दैछ भन्ने अनुमान पनि गरिएको थियो । नभन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई राम्रो हुनेगरी समिक्षा गरिदिएपछि पोजेटिभ सर्किटसहितको यात्रामा सेयर बजार हिँडेको थियो । त्यसपछि स्वाभाविक एक दिनको करेक्सनपछि बजारले थप लय लिएको थियो । बुधबारको बजार हेर्दा बजार झन् बलियो हुँदै गएको छ । यता नेप्सेमा धेरैपछि ऐतिहासिक कारोबार देखिँदा बैंकहरुमा ऋणका लागि आवेदन दिनेहरुको लर्को ठुलै छ । ठुला लगानीकर्ताहरुले अहिले सेयर धितो कर्जाका नाममा १५ करोड रुपैयाँसम्म ऋण पाउँछन् । यहि १५ करोड रुपैयाँ पनि कसकसका नाममा लिने भनेर साथीभाईहरु गफिएका मात्र छैनन्, बैंकहरुमासमेत आवेदन दिईरहेका छन् । बजारमा ५–७ करोड सेयर कर्जा माग्नेहरुको संख्या झन् बढेको छ । यसो त यसअघि पनि नै सेयर धितो कर्जाको माग ह्वात्तै बढेको थियो । सो बढोत्तरीलाई थप पछ्याउँदै बैंकहरुमा सेयर धितोकर्जाको माग बढिनै रहेको छ ।

यो सेयर बजारका लागि निकै गुड न्युज हो । ऋणकै सहि, सेयर बजारमा ठुलो रकम भित्रिरहेको छ । बजारमा कारोबार रकम बढेपछि बजारले एउटा लय लिन्छ । एउटा साथीले सेयर कर्जा लिएपछि उसका वरपरका मान्छे झन् तातिन्छन् सेयर बजारमा । बजारको बढोत्तरीले बजारमा नयाँ लगानीकर्ताहरु पनि भित्रिन्छन् । यसपाली पनि यस्तै भएको छ र थप ऋणमार्फत सेयर बजारमा पैसा आएको छ । यसैको प्रतिफल बजारमा कारोबारले दिन प्रतिदिन रेकर्ड कायम गरिरहेको छ । पैसा हुनेले सेयर बजारमा धमाधम लगानी गरिरहेका छन् । ट्रेडरहरु ऋण अप्रुभ गराउन व्यस्त छन् । बियरिसमा लगानी गर्नेहरु नाफा हेरेर मख्ख छन्, बुलमा कमाइन्छ भन्ने थाहा पाउनेहरु बजारमा लाग्ने उपायहरु खोज्न र पैसा बटुल्न व्यस्त छन् ।

समग्रमा बजारमा पैसा ओहिरिएको छ, अझै अरोहिरीदैछ । बुल बजारमा करेक्सन अकाट्य छ, तर दौडिएको साँढे छिट्टै पछारिने संकेत छैन । त्यसैले पनि सेयर बजार निरन्तर बढिरहेको छ । अझ सेयर धितो कर्जाका सिमा बढाउने चर्चा सुरु भएको छ । हुन पनि ठुला सेयर खेलाडीका आफन्त त्यहि राष्ट्र बैंकमा छन्, अर्थमन्त्रीका कार्यकर्ता धेरैजना सेयर बजारमा छन् । कमाउने बुलमै हो भन्ने बुझेकाहरु राष्ट्र बैंक र अर्थ मन्त्रालयमार्फत सेयर धितो कर्जाको सिमा बढाउन दबाब दिईरहेका छन् । यसले बजारलाई थप चलायमान बनाउने देखिन्छ ।

बजार बढोत्तरीको मुख्य कारण ब्याज हो । ब्याज घटेको मात्र छैन, घटेको ब्याजमा पनि बेसरेटमा प्रिमियम जोडेर ऋण दिने बैंकहरु प्रिमियम कम गरेर अझ कममा कर्जा दिन बैंकहरु तयार भएका छन् । ठुला खेलाडीहरुलाई बैंकहरुले बेसरेटमै पनि ऋण दिन तयार देखिएका छन् । एकातर्फ ब्याज घट्नु, अर्कोतर्फ बैंकले कर्जा लगानी गर्न सक्ने स्थिति हुनु, लगानीकर्ता पनि ऋण लिन दौडिनु र बैंकले पनि सेयर धितो कर्जा दिन नअनकनआउनुले सेयर बजारलाई थप साथ दिएको प्रष्ट छ । ब्याज त माघमा अझै घट्छ भन्ने चर्चाले सेयर बजारमा थप रौनकता बढेको छ। ब्याज नघटे पनि बढ्दैन भन्ने आत्मविश्वासले लगानीकर्ताहरु उत्साहित बनेका छन् ।

हुन त बुल बजारले साना तिना घटना पचाईदिईहाल्छ । बुल बजारमा नकारात्मक कुरा सुन्न कोहि पनि चाहादैनन् । तर कहिलेकाहि नकारात्मक कुरा सुनेर बुझेर लगानीबारे निर्णय नगर्दा लगानीकर्ताहरु फसेका छन् । अघिल्लो बुलमा पनि बजारमा सेयर बेच्ने बेला भयो है भन्ने संकेत गर्दा, त्यस्तो संकेत गर्नेहरुलाई छानी छानी फेसबुकमा फेक एकाउन्ट चलाएर सेयर खेलाडीहरुले गाली गर्न लगाए, श्रद्धान्जली दिन लगाए । बीचमा साना नै फसे, ठुलासँग त अनुभव थियो, उम्किहाले नि । यसको अर्थ अवको सम्भावित नेगेटिभ न्युजले बजारलाई सिध्याउँछ भन्न खोजेको हुँदै होइन । किनकि हामी भर्खर मिनी बुलमा छौं, बिग बुल आउन नै बाँकी छ । तर सरकारको सम्भावित तयारीले केहि सेयरमा लगानीकर्ताहरुलाई घाटा हुन सक्छ कि भन्ने अनुमान गर्न गाह्रो छैन ।

प्रसङ्ग हो, सरकारले बैंक तथा वित्तीय संस्थाबाट उठाउन खोजेको थप करको । हुन त यसअघि पनि बैंक तथा बीमा कम्पनीहरुले अरवौं कर तिर्दा पनि सेयर बजारले सो ब्याड न्युज पचाईदियो । यसपाली सरकारले तयारी गरेजस्तैगरी थप अरवौं रुपैयाँ कर उठाउन खोजे वा उठाए पनि सो न्युजलाई पनि बजारले पचाईदियोस्, लगानीकर्तालाई बचाईदियोस् । तर सरकारको तयारी भने मर्जरमा गएकाहरुबाट अरवौं रुपैयाँ करका नाममा उठाउने तयारी छ ।

सरकारको बुझाई छ, मर्जर तथा एक्विजिसनमा गाभिने संस्थाका सेयरधनीले मात्र पाउनुपर्ने सहुलियत गाभ्ने संस्थाकाले पनि लिए । र गाभेका संस्थाहरुले पनि यस्तो सहुलियत लिंदा अरवौंको कर छली भएको छ । सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा प्रोत्साहन भन्दै मर्जर भएको खण्डमा सेयरधनीलाई लाभांश दिँदा लाग्ने लाभांस करमा छुट दिएको थियो । तर, पछिल्लो समय सरकार दिइएको लाभांसमा दुबै पक्षकाले कर छुट लिनु भनेको कर छली हुनु हो, त्यस्तो सहुलियत गाभिनेलाई मात्र दिएको हो, गाभ्नेले त कर तिर्नुपर्छ भन्ने व्याख्या गर्न खोजिरहेको छ । यस विषयमा आन्तरिक राजश्व विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र काट्ने तयारी गरेको छ । विभागको तर्क छ, सहुलियत पाएको गाभिने संस्थाले हो, गाभ्नेले होइन । गाभ्नेले पनि कर नतिरेको पाइयो, अव तिर्नुपर्यो । विभागको व्याख्या छ, आयकर ऐन २०५८ अनुसार गाभ्ने संस्थाका सेयरधनीले नभई गाभिने संस्थाकाले मात्र लाभांशमा कर छुट पाउने हो, तर गाभ्ने संस्थाका सेयरधनीले पनि कर छुट लिँदै आएका छन् ।

आयकर ऐन २०५८ को दफा ८८ को उपदफा २ को ‘क’ र सोही ऐनको दफ ४७ को उपदफा ५ लाई टेकेर विभागले बैंकहरुलाई कर तिर्न ताकेता गर्ने तयारीमा छ । भलै यसो नगर्न ठुला बैंकका साहुहरुले लविङ सुरु गरिसकेका छन् । तर यसअघि पनि लविङमा असफल भएका उनीहरुले यो कर पनि तिर्नुपर्छ भन्ने पीर गरिरहेका छन् । सरकार कुनै हालतमा कर असुल्न खोजिरहेको छ, बैंकका ठुला साहुहरु ओहो अव गाह्रो पर्ने भयो भन्ने तर्क गरिरहेका छन् । यदी सरकारले यस्तो कर उठायो भने सबैभन्दा मर्का ग्लोबल आईएमई बैंक, नबिल बैंकजस्ता बैंकलाई पर्नेछ । उनीहरुमात्र होइन मर्जरमा सहभागी थुप्रै बैंकले ठुलो मात्रामा कर तिर्नुपर्नेछ । कुनै एक बैंकले अर्को सानो सानो बैंकलाई प्राप्ति गर्दा करछुटको सुविधा गाभिने संस्थाले मात्र पाउनुपर्नेमा दुवै संस्थाले लिएको आन्तरिक राजश्व विभागको तर्क छ । यस विषयमा विभागमा ठुलो छलफल चलिरहेको छ र सायद छिट्टै विभागले यस विषयमा आवश्यक प्रक्रिया अगाडी बढाउनेछ । यो विषयमा बैंकहरु फेरी अदालत गए फेरी हार्ने देखिन्छ, सरकार कुनै हालतमा कर उठाउन लागि परेको देखिन्छ । बैंकहरुले ठुलो मात्रामा कर तिर्नुपर्यो भने त्यसले सेयर बजारलाई केहि दिन अलि अफ्ट्यारो पार्ला वा यसअघिजस्टिया भुतकरको जस्तै सेयर बजारले सो ब्याड न्युज पचाउला हेर्न बाँकी नै छ । तर केहि समय बजार करेक्सनमै गए पनि अहिलेको बजार रोकिने वाला छैन र माथि नै जान्छ भन्ने तर्क जानकारहरुको छ ।

जाँदाजाँदै बुल बजारमा एकदम ख्यालगर्नुपर्ने केहि कुराहरु लगानीकर्ताले जरुर बुझ्नुपर्छ । बुल बजारमा सबै सेक्टरमा बुल नआउन सक्छ । सबै सेयरमा बुल नआउन सक्छ । किन्न र बेच्न जान्नेहरुलाई स्वर्ग हो बजार, तर नबुझी हाम फाल्नेलाई बजारमा उत्तिकै रिस्क छ । बाँकी त तपाईंको पैसा, तपाईंको मर्जी । र जरुर यो पनि भन्छौँ, सेयर बजारका हरेक विश्लेषणहरुका आआफ्नै सर्त हुन्छन्, यो हाम्रो विश्लेषण पनि, कुनै सेयर खरिदबिक्रीको सुझाव होइन । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: