×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारको घटोत्तरीलाई कसरी लिने ? हात्ती मानिएको हाथवेमा टोपी लागेको हो ? नागरिकको फण्डा के हो ? (भिडियो)

PRIME CA
GLOBAL IME BANK

आइतबारको घटोत्तरीलाई कसरी लिने ? हात्ती मानिएको हाथवेमा टोपी लागेको हो ? नागरिकको फण्डा के हो ? (भिडियो)

९ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < ७ मिनेट

काठमाडौँ । सेयर बजार यतिबेला मिनी बुलमा छ । अव तपाईंलाई लाग्ला, २ दिन घटिसक्यो, कसरी बुल भन्नु ? यदी तपाईंलाई पनि यस्तो लाग्छ भने कि तपाईं नयाँ लगानीकर्ता हुनुपर्छ, कि तपाईंमा अध्ययन पुगेन भन्ने देखिन्छ । किनकि सेयर बजारमा सर्किट लागेर बन्द भएको दिन पछाडीको यो तेश्रो घटोत्तरीको दिन हो, जवकि अरु दिन बजार बढी नै रहेको थियो । शुक्रबार पनि विभिन्न सेयर बजार विश्लेषकहरुले आइतबार वा केहि दिन थप बजार घटेपनि यसलाई अन्यथा लिनुनपर्ने बताएका थिए । हुन पनि आइतबार त्यस्तै भयो । बजारमा उतारचढाव खुब देखियो । कोहि किनेको किन्यै, कोहि बेचेको बेच्यै, कोहि सेक्टर परिवर्तन गर्दै, कोहि नाफा बुक गर्दै । यस्तो हुँदै गर्दा बजारमा कारोबार रकम ठुलो देखियो । अर्थात कारोबार रकम ६ अर्व बढी रहनुभनेको बजारलाई कारोबारले राम्रो साथ दिएको छ भन्ने हो । अन्तिममा बजार घटेर बन्द भए पनि बजारमा बायरको कमी भने देखिएको छैन । तिब्र उतारचढावका बीच बजार घटेर बन्द भए पनि बजार चलायमान देखिन्छ । र बजार अपेक्षित रुपमै घटेपनि बजार मिनी बुलकै लयमा छ भन्ने बुझ्न गाह्रो छैन ।

कारोबार रकमको बढोत्तरी हुँदैगर्दा बजार घटिरह्यो भने सामान्य रुपमा हेर्दा त्यो ठिक संकेत होइन । बजार घटिरहनु अनि कारोबार बढीरहनुको संकेत राम्रो मानिंदैन । तर यो सामान्य सिद्धान्तअनुसार आइतबारको बजार घटाईको संकेत पनि राम्रो छैन भन्नेचाहिं होइन । किनकि निरन्तर बजार घटेको अवस्थामा कारोबार रकम बढ्नु सुखद संकेत होइन, तर, आइतबारको बजारमा देखिएको उतारचढाव विश्लेषण गर्ने हो भने बजार घटेका बेला कारोबार बढ्नुको संकेतलाई सिधा रुपमा जोडेर हेर्न ठिक नहुन सक्छ । समग्रमा भन्दा बजार चलायमान नै छ । केहि ठुला लगानीकर्ता बजारमा प्रवेश गरेका छन्, केहि ठुला लगानीकर्ताले नाफा झिकिरहेका छन् । बजार प्रवेश गर्ने साना लगानीकर्ताको संख्या पनि उत्तिकै छ । अघिल्लो बुलमा ठुलो भुल गरेकाहरुले प्रफिट बुक गर्नु पनि स्वाभाविक हो । समग्रमा बजार बुलमै छ, बजारमा रौनकता घटेको छैन । बजार घटेर बन्द भए पनि धेरैको पोर्टफोलियो बढेको छ, ठण्डाराम कम्पनीहरु पोर्टफोलियोमा हुनेहरुले त बजारमा जति बुल आए पनि देख्ने रातो नै हो ।

बजारमा लगानीकर्ताहरु स्क्रिप्ट शिफ्ट वा सेक्टर सिफ्टको प्रयास गरिरहेको भान हुन्छ । ५० रुपैयाँमा आईपीओ आएर बजारमा हात्ती नामले परिचित कम्पनी ओरालो गतिमा हिड्न थालेको छ, जुन स्वाभाविक पनि हो । कम्पनीले दिन सक्ने खासै केहि नभएपछि र खेलाडीहरुले खेलेर, पैसा निकालेर हिड्न थालेपछि त्यस्ता कम्पनी थालिने गर्छन् । आजको बजारले पनि यस्तै संकेत गर्छ । यसको अर्थ फेरी त्यस्ता कम्पनी अव बढ्दैनन् भन्ने होइन । भोलिपल्टै पनि बढ्न सक्छन् । तर स्टप लसको हतियारलाई स्ट्याण्डबाई राखेर ट्रेड गर्नेहरुबाहेक अरु नयाँ र अध्ययन नगरेका लगानीकर्ताहरु यस्ता सेयरमा अघि नबढ्दा नै राम्रो भन्ने तथ्य यसअघिको गोर्खाज फाइनान्सको सेयर भाउले नै पुष्टी गरेको हो । थोरै क्यापिटल भएकोले खेलाडीहरुलाई यस्तो सेयरमा खेल्न सजिलो हुन्छ । यस्ता कतिपय कम्पनीहरुको ठुलो होल्ड आफैंले लिने, भाउ बढाउने, बजारमा हल्ला मच्चाउने, सेतो हात्ती, सेतो हिरा लगायतका नाम दिने, अनि नयाँ लगानीकर्ताहरु आकर्षित भएपछि आफु सेयर बेचेर हिड्नेहरु धेरै हुन्छन् सेयर बजारमा । बजारका असली खेलाडी पनि तिनैलाई भनिएको हो । कतिपय अवस्थामा यस्ता खेलाडीहरु राम्रो कम्पनीमा पनि लाग्छन्, तर प्रायः यस्ता खेलाडीहरु कमजोर र कम पूँजी भएका कम्पनीहरुमा लाग्छन् । केहि समयअघि कुथली बुखरी नामको कम्पनीमा पनि यसरी नै टोपी लागेको थियो । अघिल्लो बुलमा सिन्धु बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, लगायतका चर्चित टोपी काण्ड सम्झेका लगानीकर्ताहरुलाई यस्तो टोपी कसरी लाग्छ भन्ने अलि बढी थाहा हुन्छ । केहि पनि रिटर्न दिन नसक्ने कम्पनीहरु एउटा उचाईंमा पुगेपछि नमज्जासँग पछारिन्छन् र पछारिनुको विकल्प पनि छैन । ठुला खेलाडी बाहिरिनु अघि नै तपाईं बाहिरिन सक्नुभयो भने पैसा कमाउने फेरी यस्तै सेयरमा हो । तर ट्रेडको भूतले कंकाल कम्पनी छान्दा, त्यसले आम लगानीकर्ताको भलो गर्दैन । गाईकै व्यापार गर्नेले दुध खान पाउने हो, अहिले गाई थारो भए पनि एक दिन दुध दिने सम्भावना हुन्छ । तर गोरुबाट दुधको अपेक्षा गर्नु मुर्खता बाहेक केहि नहुन सक्छ । गोरुको भाउ गाईको भन्दा पनि बढी कहिलेकाहीं आउन सक्छ, तर गाई छान्ने कि गोरु, पहिला आफु क्लियर हुनुपर्छ । यसको अर्थ हामीले हात्ती नामले चिनिएका कम्पनी किन्नु वा नकिन्नु भन्न खोजेको होइन, र हामी त्यसो भन्दैनौं पनि । पैसा तपाईंको, घाटा भए घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको । त्यसैले रोजाई पनि तपाईंकै ।

कुनै बेला कमजोर कम्पनीलाई धितोपत्र बोर्डले आईपीओको स्वीकृति दियो भनेर जसले सबैभन्दा बढी विरोध गर्नेहरु अहिले यो कम्पनी त सेतो हिरा हो, सेतो हात्ती हो, सिमेन्ट होइन सुन हो, नामजस्तै सुन हो, भनेर सामाजिक संजालमा कराईरहेका छन् । तर सत्य के हो भने, कमजोर कम्पनीले एक न एक दिन कसै न कसैलाई डुबाउने नै हो । मजबुत कम्पनीले आज नकमाए पनि भोलि कमाउने नै हो । बाँकी इक्षा त तपाईंकै हो । किनकि टिएमएसमा किन्ने पनि तपाईं नै हो, बेच्ने पनि तपाईं नै हो ।

तर आइतबारको बजारले कता कता लगानीकर्ताहरुले नन फण्डामेन्टल कम्पनीको साथ छोड्दै गरेको हो कि भनेजस्तो देखिन्छ । एउटा उदाहरणका लागि नागरिक मिडियाको सेयर लिन सकिन्छ । यो कम्पनीको हालत कुन हदसम्म बिजोग छ भन्ने कुरा नागरिक मिडियामा काम गरेका वा तलव नपाएर सो मिडिया छोडेकाहरुलाई सोध्दा थाहा भईहाल्छ । यसै पनि पत्रिकाको क्रेज नमज्जासँग घटेको छ । पत्रिका नचलेर के भो, अनलाइन त बबाल चलेको छ भन्नुहोला । तर नागरिकको अनलाइन संस्करण तपाईंले कारोबार गरिरहेको कम्पनीको होइन, बरु अर्कै प्राइभेट कम्पनीको हो । नागरिक मिडियाको ब्यालेन्स सिटले पनि कम्पनी कमजोर छ भन्ने देखाउँछ । र यो कम्पनीमा आइतबार नेगेटिभ सर्किट लागेको छ । सार्है कमजोर कम्पनीहरुले भविष्यमा रिटर्न दिन सक्दैनन् भन्ने थाहा पाएर हो वा बजारमा खेलाडीहरुले खेल्न छोडेर हो, यो कम्पनीको भाउ सर्किट लागेर घटेको छ । यसको अर्थ अव ट्रेडरले मात्र बजार धान्न सक्दैनन् भन्ने स्पष्ट सन्देश दिएको छ बजारले । र कमजोर कम्पनीले एक न एक दिन कसै न कसैलाई डुबाउने नै हो भन्ने तथ्य पनि थप प्रमाणित भएको छ ।

निर्मम सत्य के हो भने, बजारमा अझै पनि खेलाडीहरुले कमजोर कम्पनी नै चलाउने गरेका छन् । नागरिक मिडियाको केसमा पनि कम्पनीले तीन महिनामा एक करोड ४१ लाख रुपैयाँ घाटामा रहेको वित्तीय विवरण सार्वजनिक गरेकै दिनदेखि सो सेयरमा पोजेटिभ सर्किट लाग्न थालेकोट हियो । कम्पनीको स्थिति ठिक अवस्थामा छैन भन्ने प्रमाणित तथ्य सार्वजनिक भएकै दिन कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट लाग्यो । सो दिन २३० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको सो कम्पनीको सेयर मूल्य आइतबारसम्म शतप्रतिशत बढेको छ । अव झन्डै डबल भयो, अझ त्रिप्पल बनाउने हो भनेर हल्ला चलाइएको छ । नयाँहरुले किन्दै गर्दा पूरानाहरुले भकाभक बेच्न खोजिरहेका छन् । त्यहि किनबेचको लडाईमा आज नागरिक किन्नेहरुले हारेका छन्, र बजारमा नेगेटिभ सर्किट लागेको छ । हाम्रो भनाई नागरिक नकिन्नु भनेको होइन र हामीले त्यसो भन्न मिल्दैन, नागरिक किन्नेको पोर्टफोलियो केहि दिनमै डबल भएको पनि सत्य हो । तर तपाईं बजारमा खेल्न सक्नुहुन्न भने तपाईंचाहिं सजग हुनुपर्छ है भनेकोचाहिं जरुर हो ।

माथि उल्लेख भएका केहि त प्रतिनिधि उदाहरणहरु मात्र हुन् । बजारमा पैसावालहरुले सेयर उठाउने, बजार हल्ला चलाउने, अनि नयाँ र सोझा लगानीकर्ताहरु पनि सोहि सेयर किन्न आएपछि बेचेर बाहिरिने उनीहरुको काम नै हो । उनीहरुको मुख्य धन्दा नै यहि हो । ट्रेडरले गर्ने पनि यहि हो । अनि यस्ता पैसावालको पछि लागेर कारोबार गर्नेहरु नै ट्रेडर हुन् । खेलाडीभन्दा अघि बढ्न सकियो भने नाफा भयो होइन भने स्टप लस जिन्दाबाद ।

अर्को निर्मम सत्य के पनि हो भने बजारमा नीति बनाउनेहरुसँग, पैसा हुनेहरुसँग, कित्ता हुनेहरुसँग र सूचना हुनेहरुसँग कसैको केहि लाग्दैन । नीति बनाउनेहरुले झुर कम्पनीलाई दामी बनाईदिन सक्छन्, दामी कम्पनीलाई हरामी बनाईदिन सक्छन् । पैसा हुनेहरुले जस्तो सुकै खत्तम मानिएको कम्पनीलाई पनि ट्रेडका हिसाबले उत्तम बनाईदिन सक्छन् । कित्ता हुनेहरुले होल्ड वा सेल गरेर बजारलाई थाम्न पनि सक्छन्, बजारमा पहिरो ल्याउन पनि सक्छन् । त्यसैले आफु कस्तो लगानीकर्ता हो भन्ने बुझेर मात्र सेयर किने र बेचे यसैमा सबैको भलो हुन्छ ।

लगानीकर्ताको स्वभाविक मनोविज्ञान हो, आफुले किनेको सेयरलाई नराम्रो भन्दा रिस उठ्छ नै । अझ त्यो भन्दा बढी रिस त आफुले बेचेको सेयरको भाउ माथि गयो र कसैले त्यहि कम्पनीलाई राम्रो भनिदिए रिस उठ्छ । तर सत्यचाहिं के मात्र हो भने, कमजोर कम्पनीले खेलाडीलाई धनी बनाउने हो, साना लगानीकर्तालाई फसाउने नै हो । मजबुत कम्पनीले रिटर्न राम्रो दिने पक्का हो, तर खेलाडीलाई यस्तो कम्पनीको खास वास्ता नै हुँदैन । दुधदहि खाए कहिले लाग्छ, कहिले लाग्छ, दारुपानीले अहिले लाग्छ भनेजस्तै हो कमजोर र खेलाईएका कम्पनीहरु । जति नै रमाइलो भए पनि दुध दहिले स्वास्थ्यलाई राम्रो गर्छ, दारुपानीले हानी गर्छ भनेजस्तै मजबुत कम्पनीले नै हो, तपाईंलाई बलियो बनाउने । जसरी गाडी जति रफ्तारमा कुदायो, दुर्घटना हुने सम्भावना त्यति नै बढी हुन्छ, सेयरमा पनि छिटो धनी हुन खोज्दा दुर्घटनाको जोखिम बढी हुन्छ । बजारमा यसअघिको बुलमा गोर्खाज फाइनान्स १५०० रुपैयाँ हालेर किनेकाहरुलाई सोध्नु कमजोर कम्पनी बर्षौं बर्ष न पाल्न सकिन्छ, न घाटामा बेच्न सकिन्छको स्थितिमा कस्तो तनाव हुन्छ भनेर । अझ बजारमा बुलको त यो सुरुवात हो । रियल बिग बुलमा त कस्ता कस्ता कम्पनीहरु कहाँ कहाँ पुग्छन् । तर फेरी त्यस्ता कम्पनीमा कोहि न कोहि फस्ने पनि त पक्का छ । यस विषयमा अव लगानीकर्ताले सोच्नुपर्ने बेला आयो है । हाम्रो कम्पनीलाई नराम्रो भन्ने ? भनेर हामीलाई गाली गरेर आफ्नो रातो पोर्टफोलियो हेर्दै रातो तीतो पानी पिउनुभन्दा, भनेको मानेर, बजार बुझेर लगानी गरे, चिया सँगै पिउँला, त्यो पो रमाइलो होला होइन र ? बाँकी त फेरी पनि पैसा पनि तपाईंको, घाटा नाफा दुवै तपाईंको । त्यसैले निर्णय पनि तपाईंकै । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: