×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा शानदार अर्धसतक ! अबको सम्भावित यात्रा यस्तो… (भिडियो ब्रिफिङ)

PRIME CA

सेयर बजारमा शानदार अर्धसतक ! अबको सम्भावित यात्रा यस्तो… (भिडियो ब्रिफिङ)

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । जव जव ब्याज घट्दै जान्छ, तव तव सेयर बजारमा रौनक देखिन्छ । यसका दुई कारण छन् । एक त मुद्दती निक्षेपमा पैसा राख्नुभन्दा सेयर बजारमा पैसा लगाउँदा राम्रो रिटर्न आउने भएपछि निक्षेपकर्ताहरु बैंकमा पैसा राख्न छोडेर सेयर बजारमा लगानी गर्ने गर्दछन् । बैंकले दिनेभन्दा सेयर बजारले दिने रिटर्न बढी हुने देख्ने बित्तिकै सेयर लगानीकर्ताले बैंकमा राखेको पैसा सेयर बजारमा आउँछ र बजारमा कारोबारको रौनकता देखिन्छ । अर्कोतर्फ बैंकले दिने ब्याज घटेपछि बैंकको आधार दर घट्छ, आधार दर घटेपछि बैंकमा कर्जाको ब्याज पनि घट्छ । कर्जा सस्तो भएपछि ऋण लिनेहरु बढ्छन् । ऋण लिएर सेयरमा पैसा लगाउँदा ब्याज तिरेर पनि फाइदा हुने देखेपछि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित हुन्छन् । यहि कारण पनि जवजव ब्याज घट्छ, तव तव सेयर लगानीकर्ताहरु बैंक धाउन थाल्छन् । र बैंकहरुले माघ महिनाका लागि भन्दै दिने ब्याज घटाउँदा, एकातर्फ बैंकमा पैसा राख्नेहरुले बैंकमा पैसा नराखी सेयरमा लगाउन थाल्दा बजारमा कारोबारको रौनकता बढेको छ भने अर्कोतर्फ बैंकले ब्याज घटाउँदा कर्जा पनि सस्तो हुन थालेपछि सेयर कर्जा लिनेहरु बढेका छन् र यसको असर बजारको कारोबारमा देखिएको छ ।

माघ १ गतेदेखि लागु हुनेगरी बैंकहरुले ब्याज घटाए । १ गते सार्वजनिक बिदा भएकोले माघ २ गते नेप्से खुल्यो । कारोबार खुलेको साताको पहिलो दिन नै नेप्से २ प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ५४.५४ अंक बढेर २१७५.१७ विन्दुमा पुगेको छ । कारोबार र नेप्से बढोत्तरी दुवैको रौनकता देखिएको बजारमा एक दर्जन हाराहारी स्टकको कारोबार सर्किट लेभलमा भएको छ । समग्रमा बढेको बजारले सेयर लगानीकर्ताहरु हौसिएका छन् ।

अव कुरा गरौँ आज देखिएको कारोबार रकम र यसको सम्भावित नतिजा, र प्रभावको । नेप्सेमा माघको कारोबारको पहिलो दिन ८ अर्व रुपैयाँ बढीको कारोबार भएको छ, जसले सेयर बजारमा थप रौनकता बढाएको छ । कारोबार रकमकै कुरा गर्दा झन्डै २ बर्षपछि नेप्सेमा ८ अर्वको कारोबार देखिएको हो । यस अघि २०७८ साल माघ २० गते साढे ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । त्यसपछि आज नै यति ठुलो भोलुम देखिएको हो नेपाली सेयर बजारमा । र सेयर बजारका जानकारहरुले पनि यो कारोबार रकमलाई अर्थपूर्ण रुपमा हेरेका छन् ।

प्राविधिक विश्लेषक सुबास चन्द्र ढुंगाना ८ अर्व माथिको कारोबारको निकै महत्व रहेको बताउँछन् । उनका अनुसार यसभन्दा अगाडी २०७८ माघ २० गते ८ अर्वको कारोबार भएका बेला बेला बजारले बियरिस यात्रा समातेर २८७६ बिन्दुमा आइपुगेको थियो । आज त्यसको ७१२ दिन (४४० कारोबार दिन) पछि फेरी ८ अर्ब माथिको कारोबार देख्न पाईएको छ । यो अगाडीको बियरिस ११०० पछी बजार बढ्दो क्रममा हुदा ८ अर्बको कारोबार रकम २०७७ मंसिर १४ मा आएको थियो, जुनबेला नेप्से १९६८ को बिन्दुमा थियो । बजारले यो अगाडीको उच्चतम बिन्दु ३२२७ पछि आजको कारोबार दिन सम्म आइपुग्दा ५४७ पटक कारोबार हुदा औसत कारोबार रकम जम्मा २.९२ अर्ब रुपैयाँ छ । उनका अनुसार नयाँ लगानीकर्ता र कारोबारीहरुले महसुस हुनेगरी बुलको आभाष दिन बजारले दोहोर अंकको कारोबार (१० अर्ब+) देखाउनुपर्ने हुन्छ । यद्यपी पूराना लगानीकर्ताका लागि भने राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछाडी बजारमा देखिएको सकारात्मक सर्किटले नै बजारमा बियरिसपछिको साइडवेज सकिएको भान गराएको थियो ।

अव आज बढेको बजारपछि लगानीकर्ताको मनमा विभिन्न प्रश्न उठ्न सक्छन् । पहिलो प्रश्न के यो बजारमा अव छिट्टै करेक्सन नआउला वा भोलि नै आउला ? कतै बजार बढेका बेला ठुला लगानीकर्ता बजारबाट बाहिरिएका त छैनन् ? के बढ्ने बेलामाचाहिं हाइड्रो र हाथवे मात्र बढ्ने हो ? के बैंक वा यस्तै फण्डामेन्टल कम्पनीको तत्काल पालो आउँदैन ? के मंगलबार देखिएजस्तो कारोबार रकम अरु दिन पनि निरन्तर आउला वा घट्ला ? अरु सम्भावित गुड न्युज वा ब्याड न्युज के हुन सक्लान् ? आज हामी लगानीकर्ताका यीनै प्रश्नबारे केहि बहस गर्दैछौँ ।

मंगलबार बढेको बजारमा करेक्सन आइहाल्नेछ त होइन ? भन्ने प्रश्न उठेको छ, जुन अस्वाभाविक पनि होइन । हो, भोलि नै करेक्सन आउन पनि सक्छ, किनकि बजार राम्रो बढेपछि सामान्यतया भोलिपल्ट करेक्सन आउँछ नै । भोलिपल्ट पनि बजार बढ्यो भने पनि पर्सीपल्ट करेक्सन आउँछ नै । यो बजारको स्वाभाविक चक्र हो । तर, ब्याज घटोत्तरीले देखाएको बजार प्रभावले बजार माथि नै जान सक्ने ठाउँ देखिएको छ ।

दोश्रो लगानीकर्ताको प्रश्न छ कतै बजार बढेका बेला ठुला लगानीकर्ता बजारबाट बाहिरिएका त छैनन् ? हो, यो बजार हो । यहाँ बढेका बेला बेच्ने र घटेका बेला किन्नेले नै जित्ने हो । आजकै कारोबारको समिक्षा गर्दा पनि केहि ठुला लगानीकर्ताले केहि सेयर मज्जासँग बेचेका छन् । तर, यसको अर्थ उनीहरु बजारबाट बाहिरिएका छन् भन्ने होइनन् । केहिले नाफा बुक गरेको सत्य हो, र यसरी बढेका बेला नाफा बुक गर्नु एक सटिक लगानीकर्ताको स्वाभाविक व्यवहार पनि हो । तर ठुलो मात्रामा पैसा भित्रिनु, कारोबार रकमले साथ दिएर बजार बढ्नुले,सेयर लगानीकर्ताहरु ठुलो पैसा लिएर बजार प्रवेश गरिरहेका छन् भन्ने बुझ्न गाह्रो छैन ।

लगानीकर्ताको अर्को प्रश्न छ, बजार त बढ्यो तर फेरी हाइड्रोमात्र बढ्यो ।खासमा लगानीकर्ताको यो प्रश्न नै कतिपय हदमा पूर्वाग्रही छ । बढेको हाइड्रोमात्र होइन, धेरै कम्पनी बढेको छ । अव ट्रेडरहरुले हाइड्रो खेलाईरहेको अवस्थामा हाइड्रो बढ्नु असामान्य हुँदै होइन । तर यसको अर्थ फेरी हाइड्रो मात्र बढ्छ, अरु बढ्दैन भन्नेचाहिं हुँदै होइन । बजारमा सबैको समय हुन्छ । त्यहि हाइड्रोको अघिल्लो बुल अगाडी बिजोग थियो, गत बुलमा तिनैले कमाए । कमाए भन्दा पनि बेच्न जान्नेले कमाए भनौँ । अहिले सो रौनकताभित्रको जड सकिएको छैन । र त हाइड्रो चलिरहेको नै छ । कुनै बेला हाइड्रो पनि सेयर हो र ?भन्नेहरु अघिल्लो बुल र कतिपय अवस्थामा अहिले पनि हाइड्रोबाहेक अरु पनि सेयर हो र ? भनिरहेका छन् । यो समय समयको बात हो । अहिले बैंक पनि सेयर हो र ? भन्नेहरुले कुनै बेला बैंक बाहेक पनि सेयर होर नभन्लान् भन्न सकिन्न । आफु ट्रेडर हो वा इन्भेष्टर भन्ने बुझेर लगानी गरे बजारले पक्का रिटर्न दिन्छ । जसो जसो पुरोहित बाजे उसैउसै स्वाहा भनेजसरी, जसो जसो अरुले हल्ला गर्छन् उसै उसै स्वाहा गर्ने हो भने बजारमा पैसा पनि स्वाहा नै हुने हो ।

बजारमा लगानीकर्ताको अर्को प्रश्न छ– कारोबार रकम यस्तैगरी बढ्ला ? यसको जवाफ हो– कारोबार रकम बढ्न पनि सक्छ, घट्न पनि सक्छ । तर कारोबार रकम र नेप्से दुवै बढ्यो भने हामी छिट्टै बुलको अर्को अध्यायमा प्रवेश गर्नेछौं भन्ने बुझ्नुपर्छ । कारोबार रकम बढ्यो, नेप्सेचाहिं घट्यो भनेचाहिं अलि ख्याल गर्नुपर्छ । कारोबार रकम पनि घट्यो र नेप्सेमा पनि केहि करेक्सन देखियो भने पनि खास आत्तिनुपर्ने कुरै छैन ।

धेरैको प्रश्न छ– अरु पनि गुड न्युज छन्, वा ब्याड न्युज छन् वा न्युजको प्रभाव सकियो । हो, केहि गुड न्युजहरु बाटोमा छन् । इन्साइडरहरुले त्यहि चुहिएका गुडन्युजहरुलाई केलाएर बजारमा सेयर खेलाईरहेका छन् भन्ने बुझ्न आजको कारोबारको विवरण नै काफी छ । बजारमा खासै ब्याड न्युजहरु त छैनन्, तर फेरी पनि सम्भावित सट्टा परिवर्तनको खेलले बजारलाई केहि असर गर्न सक्छ भन्ने तथ्यलाई भने नकार्न सकिन्न ।

बाँकी त, पैसा पनि तपाईंको लगानी पनि तपाईंको । घाटा भए घाटा पनि तपाईंको, नाफा भए, नाफा पनि तपाईंको । बढ्दाको उत्साह पनि तपाईंको, घट्दाको निरुत्साह पनि तपाईंको । त्यसैले कुरा सबैको सुने पनि निर्णय आफैंले लिउँ । बस् यति गर्न सके, सेयर बजार सुन्दर छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: