×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कनेक्ट आईपीएस ह्याक गरी १० लाख चोरी, एनआईसी एशिया बैंकबाट चोरले यसरी लग्यो पैसा… (भिडियोसहित)

PRIME CA

कनेक्ट आईपीएस ह्याक गरी १० लाख चोरी, एनआईसी एशिया बैंकबाट चोरले यसरी लग्यो पैसा… (भिडियोसहित)

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । तपाईंहरुमध्ये अधिकांशले मोबाइल बैंकिङ प्रयोग गर्नुहुन्छ । फोन पे, इसेवा, खल्तीजस्ता वालेटहरु पनि प्रयोग गर्नुहुन्छ । अझ कतै न कतै अफिसियल कामका लागि कनेक्ट आईपीएस प्रयोग पक्कै गर्नुहुन्छ । सुरक्षित नभएको खण्डमा यस्ता प्रविधिमा जोखिम पनि हुन्छ भनेर बुझेरै तपाईं सकेसम्म सचेत हुनुहुन्छ । तर कहिलेकाहीं बैंकको लापर्वाहीका कारण पनि तपाईंको पैसा चोरिन सक्छ । र आज हामी कनेक्ट आईपीएस ह्याक गरेर सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिव नन्दन मेहताको खाताबाट १० लाख १० हजार रुपैयाँ कनेक्ट आईपीएस ह्याक गरेर फिल्मी शैलीमा चोरी भएको त्यसमा बैंकले गरेको लापर्वाहीका बारेमा खास खुलासा गर्दैछौँ ।

घटना के हो ?
गत माघ ९ गते दिउँसो १२ः०७ बजे आफ्नो नम्बरमा कनेक्ट आईपीएसबाट म्यासेज आयो । आफ्नो एकाउन्ट कसैले ह्याक गर्न खोजेको हो कि भनेर उनले तुरुन्त बैंक र कनेक्ट आईपीएसमा फोन गरे । बैंक र कनेक्ट आईपीएसले पासवर्ड चेन्ज गर्नुस्, अरु सबै ठिक छ भनिदिए । र उनले पनि त्यसै गरे । तर, माघ १० गते बिहान ९ः३० बजे रुसनी देवी मेहता (आमा)को नाममा लुम्बिनी विकास बैंकमा रहेको खाताबाट ५/५ हजारका दरले २२ पटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर भएको म्यासेज आयो । उक्त रकम अफसोर सफ्ट टेक प्राइभेट लिमिटेडको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा ट्रान्सफर भएको पाइयो । कनेक्ट आईपीएस ह्याक गरी रकम ट्रान्सफर भएको थाहा पाएपछि शिव नन्दन आफ्नो आमालाई लिएर लुम्बिनी विकास बैंकको इनरुवा शाखामा पुगे र निवेदन दिए ।

त्यसपछि १०ः१५ मा उनको मोबाइलमा सानिमा बैंकमा रहेको उनको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर भएको म्यासेज आयो । आमाको खाताबाट रकम चोरी भयो भन्दै बैंकमा निवेदन दिन पुगेका शिव नन्दन आफ्नै खाताबाट ९ लाख चोरी भएको देखेर अचम्ममा परे । त्यसपछि उनी तत्कालै उनको बैंक सानिमा बैंकमा पुगे । बैंकमा पुगेर थाहा भयो, उनको खाताबाट ९ लाख रुपैयाँ एनआईसी एशिया बैंकको बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर भएको रहेछ । त्यसपछि उनले उक्त ट्रान्जेक्सन आफूले नगरेको दाबी गर्दै रकम रोक्का गर्न आग्रह गरे । तर, बैंकले रकम रोक्का गर्न नमिल्ने भन्दै एनआईसी एशिया बैंकमा जान आग्रह गर्यो ।

त्यसपछि उनी हतारहतार एनआईसी एशिया बैंकको शाखा कार्यालयमा पुगे । तर, एनआईसी एशिया बैंकले पनि उनको आग्रह सुनेन । बरु, उल्टै प्रहरीमा उजुरी दिन भन्यो । बैंकले खाता रोक्का गर्न नमानेपछि उनले कनेक्ट आईपीएसमा पनि खबर गरे । त्यतिबेलासम्म मेहताको खाताबाट ट्रान्सफर भएको रकम एनआईसी एशिया बैंकबाट चेकमार्फत भुक्तानी भइसकेको थियो । अर्थात एनआईसी एशिया बैंकले ग्राहकको अनुरोधमा रकम रोक्का नगरिदिंदा उनको पैसा चोरले बैंकबाट निकाल्न सफल भयो । बैंकमा आएर, सो चोरले चेकमार्फत पैसा साटीरह्यो, यता मेहता खाता रोक्का गरिदिनुस् न भनेर अनुरोध गरिरहे । तर बैंकले ग्राहकको अनुरोध नमान्दा आँखै अगाडी चोरले पैसा लग्यो । जुन बैंकको सिसिटिभीमा प्रष्ट देख्न सकिन्छ ।

हाल पीडित मेहताले कनेक्ट आईपीएस ह्याक गरेर भएको रकम चोरीका विषयमा प्रहरीमा पनि जाहेरी दिएका छन् । हाल प्रहरीले कनेक्ट आईपीएस ह्याक गरेर रकम चोरी गर्नेहरुको विवरण बैंकमार्फत निकालेर उनीहरुविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । तर बैंकले समयमा नै उनलाई सहयोग गरिदिएको भए कुरा फरक हुन सक्थ्यो । अहिले मेहताको चित्तदुखाई पनि यसमै हो ।

मेहताले सकेसम्म छिटो बैंक पुग्दा त चोरले यसरी पैसा चोरिसक्छ भने, सोझासाझाको हालत के होला ? के कन्टेन्ट आईपीएसले यस्ता ग्राहकको पीडा बुझ्नुपर्दैन ?

प्रविधि विज्ञहरुका अनुसार कुनै पनि बेला कुनै पनि मालवेरका कारण तपाईंको इमेल ह्याक हुन सक्छ । अनि इमेलमा पनि कनेक्ट आईपीएसको कोड आउने हुनाले चोरले सहजै पैसा चोर्न सक्छ । हुन त कोड मोबाइलमा पनि आउँछ, तर मोबाइलमा कोड आयो भनेर बैंक पुग्दासम्म बैंकको सबै पैसा चोरी भईसक्छ भने यस्तो सेवा के काम ? यस विषयमा सम्बन्धित बैंक, नियामक नेपाल राष्ट्र बैंक, र स्वयम् कनेक्ट आईपीएस पनि सचेत हुन जरुरी छ । यसो त कनेक्ट आईपीएस आफैँमा पूर्ण रुपमा सुरक्षित प्रविधि होइन । यसमा पनि थुप्रै टेक्निकल बगहरु छन्, जसलाई प्रयोग गरेर ह्याकरले पैसा चोर्छ । र यो प्रकरणमा पनि मेहताको लापर्वाहीले होइन, ह्याकरको सक्रियताले उनको कनेक्ट आईपीएस ह्याक भएको छ । यसरी इमेलको पहुँच लिन फिजिङ गर्ने काममा नेपालमा ठुलै गिरोह सक्रिय छ । यसतर्फ कनेक्ट आईपीएस र स्वयम् बैंकले ख्याल नर्दा ग्राहकको पैसा चोरिएको छ ।

पछिल्ला समय ह्याकरले पैसा चोरेका थुप्रै उदाहरणहरु बाहिर आउँदा पनि कनेक्ट आईपीएस भने सिरियस देखिंदैन । ग्राहकले बैंक नै पुगेर मेरो पैसा चोरी भयो, रोकिदिनुहोस् भन्दा पनि बैंकले वास्ता नगर्नु, र आँखै अगाडी चोरले पैसा झिकेर लैजानुले नेपाली बैंकिङमा अझै पनि कर्मचारीलाई तालिम पुगेको छैन भन्ने प्रष्ट हुन्छ ।

प्रविधिले बैंकिङ सजिलो जरुर बनाएको छ । अझ इ–बैंकिङ, मोबाइल बैंकिङ, विभिन्न वालेट र र कनेक्ट आईपीएसजस्ता प्रविधिले नेपालको बैंकिङलाई धेरै ठुलो उचाईंमा पुर्याएको छ । तर यीनै प्रविधि प्रयोग गर्न नजान्दा वा कतिपय अवस्थामा क्लाइन्ट र कतिपय अवस्थामा सम्बन्धित सेवा दिने संस्थाको लापर्वाहीका कारण प्रविधि प्रयोगमा जोखिम बढेको छ । यस विषयमा सम्बन्धित निकायहरुले समयमा नै सोचुन् । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: