काठमाडौँ । अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बाहनामा रकम असुल्दै आएका थिए ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन् । उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति रु सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ । मासिक रु एक लाख ५५ हजार तलब पाइने भन्दै तीनैजनाले पीडितबाट रु ६३ लाख ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।
रकम लिएपछि सम्पर्कविहीन भएको भनी परेको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा तीनैजनालाई यही माघ २३ गते साँझ ललितपुरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
अनुसन्धानका क्रममा रामेश्वर सिंह बजाज ओभरसिसमा २०७४ सालदेखि कर्मचारीको रुपमा एक वर्ष काम गरी वैदेशिक रोजगारीसम्बन्धी काम सिकेर भेरी ओभरसिज किनेर सञ्चालन गरेकामा दुई सय जनाबाट रु तीन करोड ठगी गरेर एक वर्ष ६ महिना जेल सजाय भोगेको पाइएको छ । उनले भेरी ओभरसिजमा विदेश जान पेस गरेकामा सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाणप्रत्रमा आफ्नो ज्वाइँ नातापर्ने रामसेवक सिंहको फोटो टाँसी विराट कन्सलटेन्सी विर्तामोड, गडीमाई कन्सलटेन्सी काठमाडौँ र कमलामाई कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान र क्रोएसिया पठाउने भनी प्रतिव्यक्ति रु सात लाखसम्म रकम उठाएको पाइएको प्रहरीले जनाएको छ ।
सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकाश बैंकमा खाता खोली कारोबार रामसेवक सिंहबाट गर्ने गरेको पाइएको छ । सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषामै रहेका र उनीहरुलाई आफ्नो नागरिकता दुरुपयोग भई धेरै व्यक्ति ठगिएको बारेमा जानकारी नभएको प्रहरी उपरीक्षक केसीले बताएका छन् । पीडितहरुले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिएकामा यस कार्यालयबाट निजहरुलाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्नो ज्वाइँ नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुल्न आएको छ ।
रामेश्वर सिंहलाई २०७४ सालमा ठगी मुद्दामा एक वर्ष ६ महिना कैद भएको, २०७८ सालमा ठगी मुद्दामा फरार रहेको, २०७९ सालमा सिन्धुलीमा लागुऔषध मुद्दा चली २४ दिन कैद र रु दुई हजार जरिवाना भोगेको पाइएको छ । उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको रु ६० लाख बराबरको २५ थान चेक र नौ सिमकार्ड फेला परेको छ । तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्