×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्षौँसम्म फिर्ता हुने छैन बचतकर्ताको सहकारीमा डुबेको पैसा, अझै धेरै भाग्ने सुरमा, के हो समाधान ? (भिडियोसहित)

PRIME CA

बर्षौँसम्म फिर्ता हुने छैन बचतकर्ताको सहकारीमा डुबेको पैसा, अझै धेरै भाग्ने सुरमा, के हो समाधान ? (भिडियोसहित)

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । मकै पोल्ने ती बुढीआमा, जसले आगोको भुङ्ग्रोमा मकै मात्र पोलिनन्, आफ्नो पसिना पनि पोखिन् । खाई नखाई गरेर सहकारीमा बचत राखिन् । तर त्यहि पैसा ठगेर सहकारीका संचालक भागे । सीआईबीमा मुद्धा पर्यो, अरु बचतकर्ताहरु आन्दोलनमा गए, प्रहरीले ठगहरुलाई पूर्जी काट्यो, उनीहरु अझै फरार छन् । प्रहरीले समाते पनि ती ठगहरुले पैसा दिने छैनन् । किनकि, उनीहरुले पैसा मासी नै सके । आगोमा सल्किएको मकैभन्दा बढी पिल्सिएको जिन्दगी बोकेर सहकारीका ठगहरुलाई सम्झेर आँशुका धारा बगाईरहेकी ती बुढी आमाको पैसा सायद अव फिर्ता हुँदैन । फिर्ता भईनै हाल्यो भने पनि त्यतिबेलासम्म सायद उनको प्रमाण रहने छैन ।

मजदुरी गरेर कमाएको पैसा, जग्गा बेचेर आएको धन, विदेशबाट पठाएको पसिनाको कमाई, जिन्दगीभरको जागिरबाट उभ्रिएको रकम, सबका सब सहकारीले सोतर बनाएर ठग्यो । दिन्न भन्दैनन्, तर दिने छाँटकाँट छैन । तपाईंको पैसा फिर्ता आउँछ भन्न छोड्दैनन, तर आउने कुनै संकेत छैन । अझ यति हुँदा पनि लाज पचाएर ती सहकारीको कुर्सीमा बसेका संचालक नामका ठगहरु भन्न छोड्दैनन्, सबैतिर यस्तै समस्या छ के गर्नु ?

सुन्दा तीतो लाग्न सक्छ,तर यथार्थ यहि हो, भागेका धेरै सहकारीका पैसा लगभग अव फिर्ता नै हुँदैन । फिर्ता नदिएर हुन्छ ? भन्नुहोला, यो नेपाल हो, यहाँ सहकारी ठगले पैसा फिर्ता दिंदैनन, तपाईं पीडीतको कुरा सुन्ने फुर्सद सरकारलाई छैन । फेरी तपाईं भन्नुहोला, त्यो सहकारीको सम्पत्ति होला नि त, त्यो बेचेर तिर्नुपर्दैन ? तर यथार्थ के हो भने, सहकारीका सम्पत्ति पनि बैंकको लिलामीमा चढीरहेका छन् । पैसा लिएर संचालक फरार छन् । फरार भएकाहरुले पैसा मासी पनि सके । त्यसैले तपाईंहरुमध्ये धेरैको पैसा फिर्ता आउँदैन ।

अव हामीले यति भनेपछि तल कमेन्टमा आउँछन् भाग्न ठिक्क परेका तर केहि सहकारीमात्र डुबेका हुन्, धेरै त राम्रै चलेका छन् नि भन्नेहरु । तर अहँ, स्थिति त्यस्तो छँदै छैन । केहि सहकारीमा मात्र समस्या छन्, हाम्रो त गज्जब छ भनेर केहि महिना अघि हाम्रै कार्यक्रमको तल कमेन्ट गर्नेहरु अहिले फरार सूचीमा छन् । र स्थिति यस्तो भईसक्यो, कि अहिले बचेकुचेका सहकारी पनि भाग्ने तरखरमा छन् । यसको स्पष्ट कारण छ– सहकारीमा पैसा राख्नुहुँदैन भन्ने भाष्य निर्माण भएको छ । हुन पनि स्थिति पनि त्यस्तै त्यस्तै देखिएको छ । परिणाम, बचतकर्ताले पैसा फिर्ता मागेका माग्यै छन्, सहकारीले दिन सकेको अवस्था छैन । यस्तो मन्दीमा सहकारीबाट ऋण लिएकाहरुले तिर्ने स्थिति छैन । त्यसपछि त ती सहकारीहरु नभागेर के गर्नु ? र त बजारमा ५० लाख राखेकाहरुले सहकारीबाट एक महिनामा ५० हजार निकाल्न पनि पाईरहेका छैनन् । त्यसैले पनि अरु थुप्रै सहकारी अझ भाग्नेछन् । आज पनि भागीरहेका छन् ।

हिजोसम्म हामी पनि भन्थ्यौं केहि सहकारी राम्रा पनि छन् है, र थिए पनि । तर पछिल्लो अवस्थामा सहकारीको जुन बिकराल स्थिति देखिएको छ, सो स्थिति देखिसकेपछि अहँ, सहकारीमा पैसा राख्दा हुन्छ, केहि सहकारी राम्रा पनि छन् है भन्ने सक्ने आत्मविश्वास नै रहेन, हामीलाई पनि । र धेरैलाई यस्तै भएको हुन सक्छ । र त पैसा राख्नेहरुले धमाधम निकालिरहेका छन् सहकारीबाट । ऋण खानेले पैसा तिर्ने स्थिति नै छैन । अनि त, सहकारी क्षेत्रनै क्य्रास हुने सम्भावना बढेको छ ।

यो त समस्या भयो, अव समाधान के हुन सक्छ ? यस्तो बेलामा बचत तथा ऋण सहकारीहरुको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नयाँ कार्यसमिति चयन गरेको छ, यसले बचतकर्ताको पक्षमा के काम गर्छ ? विश्वास संकट देखिएको र साख गिर्दो अवस्थामा रहेको मात्र होइन घिघिटी रहेको सहकारी क्षेत्रलाई कसरी बचाउन सक्छ नेफ्सकुनले ? के के छन् योजना ?सुशासनहीन देखिएको सहकारी क्षेत्रका विरुद्ध बचतकर्ताहरु सडकमा आउने दिनको अन्त्य कहिले हुन्छ ? अवको क्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग गरिएको यो विशेष कुराकानी हेर्नुहोस् ।

अहिले बचतकर्तालाई नेताको भाषण होइन, आफ्नो बचत फिर्ता चाहिएको छ । मेरो पैसा त फिर्ता होस् मेरा सात पुस्ताले सहकारीको अनुहार पनि हेर्दैनन् भन्नेहरुलाई राहत चाहिएको छ । सहकारीले डुबाएकाहरुलाई पीडामा मल्हम चाहिएको छ । कुराले च्युरा भिज्दैन, भनेजस्तै काम चाहिएको छ । बचत फिर्ताको जुक्ति चाहिएको छ, फटाहा सहकारीबाट मुक्ति चाहिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: