×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बेचेको पैसा नदिने ब्रोकरलाई ‘कार्वाही नगर्ने सहमति’ ! निमित्त प्रमुख भन्छन्- ‘नगरी नहुनेबाहेक काम नगर्ने भन्ने छ’

PRIME CA

सेयर बेचेको पैसा नदिने ब्रोकरलाई ‘कार्वाही नगर्ने सहमति’ ! निमित्त प्रमुख भन्छन्- ‘नगरी नहुनेबाहेक काम नगर्ने भन्ने छ’

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट रमेश हमाल बाहिरिएपछि पूराना ब्रोकरहरुले बोर्डमा हालीमुहाली गर्न थालेका छन्। बोर्ड अध्यक्षमा हमाल रहुन्जेलसम्म नयाँ ब्रोकर आउन रोकेको भन्दै पूराना ब्रोकरहरु बोर्डमा ‘अघोषित बाईकट नै थिए । नयाँ ब्रोकर ल्याउने प्रक्रियामा बोर्ड रहँदा पूराना ब्रोकरहरुले हमालको सो काम रोक्न खोजेपछि र बिज्ञप्ति नै निकालेर पूराना ब्रोकरहरुले नयाँ ब्रोकर  ल्याउने प्रक्रियामा भ्रष्टाचार भएको आशय व्यक्त गरेपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष हमालले बोर्डभित्र पूराना ब्रोकर एसोसिएसनलाई अघोषित निषेध नै गरेका थिए । तर हमाल बाहिरिएपछि अहिले पूराना ब्रोकरहरुको बोर्डमा हालीमुहाली चल्न थालेको छ ।
पैसा नदिने ब्रोकरलाई कार्वाही नगर्ने सहमति !  
पछिल्लो समय ब्रोकरहरुले सेयर बेचेको पैसा भुक्तानी नगर्ने क्रम बढेपछि धितोपत्र बोर्डमा उजुरीका चाङ लागेका छन् ।  तर पूराना ब्रोकरले बोर्डका कार्यकारी प्रमुख डाक्टर नवराज अधिकारीलाई भेटेर पैसा नदिने ब्रोकरहरुलाई कार्वाही नगर्नेगरी गोप्य मौखिक सहमति गरिसकेको केहि ब्रोकर र स्वयम् बोर्डका कर्मचारीको दाबी छ । सो सहमति अनुसार उजुरीका जति चाङ परेपनि कार्वाही नगर्नेगरी अधिकारीले प्रक्रिया अगाडी बढाउन आफ्ना कर्मचारीलाई निर्देशन दिएका छन् ।
डा. अधिकारीले पनि घुमाउरो पारामा यस्तो सहमति भएको स्वीकारेका छन् । ‘नगरी नहुने काम बाहेक अन्य काम नगर्ने भन्ने छलफल भएको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अधिकारीले भने, ‘अध्यक्ष आएपछि फुल फेजमा काम हुन्छ । अहिले सबै बाँकी काम चलाउमात्र हो ।’
‘ब्रोकरलाई कार्वाही गर्ने विषय पनि नगरी नहुने काममा नपर्ने भन्ने बोर्डको निष्कर्ष हो त ?’ अर्थ सरोकारको प्रश्नमा उनले यस विषयमा थप जानकारी विनोद पौडेल नाम गरेका कर्मचारीले दिने भन्दै पन्छिए ।
यता बोर्डका कर्मचारी बिनोद पौडेलले अघिल्लो शुक्रबारसम्म डेढ सय बढी उजुरी आएको र सबै ब्रोकरहरुलाई यस विषयमा जानकारी गराएको बताएका छन् । ‘ब्रोकरहरुको पनि विज्ञप्ति आएको छ । उहाँहरुले प्राविधिक समस्याका कारण पैसा तिर्न नसकेको बताउनुभएको छ ।’ पौडेलले अर्थ सरोकारसँग भने- ‘हामीकहाँ अघिल्लो शुक्रबारसम्म डेढ सय बढी उजुरी पाएका छौँ । सबै ब्रोकरहरुलाई उजुरी आएको विषयमा जानकारी गराएका छौँ ।’
‘अनि ब्रोकरहरुलाई जानकारी गराउने तर कार्वाही नगर्ने भन्ने सहमति भएको कुरा के हो ?’ हाम्रो प्रश्नमा पौडेलले आफ्नो हाकिम डा. अधिकारी भएकाले सो कुरा उनीबाहेक अरुलाई थाहा नहुने बताए । ‘म त एउटा शाखाको सामान्य अधिकृत हुँ । ब्रोकर आएर बोर्डसँग गरेको सहमति मलाई थाहा हुँदैन । यो कुराचाहिँ डाक्टरसाप (डाक्टर नवराज अधिकारी)लाई नै सोध्नुपर्ला ।’ पौडेलले भने ।
‘उजुरी बढेको सत्य हो, सिष्टम नै बिग्रिएपछि प्रधानमन्त्रीलाई नै भेटेपनि समस्याको सामाधान हुँदैन’ धर्मराज सापकोटा, अध्यक्ष स्टक ब्रोकर एसोसिएसन
यता स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बोर्डमा उजुरी बढेको कुरा स्वीकारेका छन् । तर सिष्टममै समस्या आएकाले यसको समाधान ब्रोकरसँग नहुने दाबी उनको छ । ‘कतिपय क्लाइण्टहरु पैसा नदिए मिडियामा जान्छौँ भनेर ब्रोकरहरुलाई गाली गरिरहनुभएको छ । तर सिष्टममा नै समस्या देखिएपछि मिडियामा त के प्रधानमन्त्रीलाई नै भेटे पनि समस्याको समाधान हुँदैन ।’
उनले केहि दिन अघि देखिएका समस्या समाधान भईसकेको दाबी गरेका छन् । तर, लगानीकर्ताहरुले भने आफ्नो पैसा अझै नआएको दाबी गर्दै बोर्डमा उजुरी गरिरहेका छन् ।
बोर्डमा उजुरीको चाङ बढेपछि बोर्डका प्रवक्ता र सहप्रवक्तालेसमेत सेभ नगरेका बाहेक फोन उठाउन छोडेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: