×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिक्री नपाउँदा विवाह तोड्ने बेहुलाको नालीबेली, पढाई अनुसारको ‘रेट’को कथा (भिडियोसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिक्री नपाउँदा विवाह तोड्ने बेहुलाको नालीबेली, पढाई अनुसारको ‘रेट’को कथा (भिडियोसहित)

Artha Sarokar

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

‘दाइजोमा सुनको सिक्री नपाएपछि विवाहको मण्डपबाट भाग्ने बेहुला पक्राउ’

झट्ट सुन्दा कुनै फिल्मको काहानीजस्तो लागे पनि यो कुनै फिल्मको काहानी होइन दर्शकवृन्द । यो नेपालको बारा जिल्लामा घटेको यथार्थ घटना हो । दाइजोमा बेहुली पक्षले सुनको सिक्री नदिएपछि मण्डपबाटै फरार भएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४, सिनेमा चोकका उमेश साह पक्राउ परेका हुन् । १२ लाख नगद, मोटरसाइकल बापत ३ लाख २५ हजार नगद, ल्यापटप, सुनको औंठी र हनुमानको माला पाए पनि सुनको सिक्री नपाएपछि उनी मण्डपबाटै फरार भएका थिए । बेहुली लिन भन्दै तामझामका साथ ससुराली पुगेका साह, बिना बेउली भागेपछि अन्ततः हतकडीसहित मामाघरमा पुगेका छन् । पक्राउ परेका साह विरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर समेत हुन् ।

मेरा बाले म बुझाए, मेरो जवानी बुझाए, आफ्नो काख बुझाए,
उसले दाइजोमा नगद माग्यो, बाले ऋण गरेर १२ लाख बुझाए,

उ थर्काउँदै भनिरह्यो, अब बाइक चाहियो, मेरा बाले सब खपिदिए,
मोटरसाइकल पर्नेरहेछ ३ लाख २५ हजार, मेरा बाले ऋणै गरेर थपिदिए,

उसले भन्यो काम गर्न चाहिने कुरा विवाह अगाडि सब चाहिन्छ,
गतिलो प्रोसेसर भएको एक थान गज्जबको महंगो ल्याबटप चाहिन्छ,

औँठी चाहिन्छ, कपडा चाहिन्छ, नम्बरी सुनको बाला चाहिन्छ,
पुग्दैन त्यो बालाले पनि, अर्को सुनको हनुमान माला चाहिन्छ ।

दासजसरी किनेबेच किन ? खरिद बिक्रीको उद्देश्य थाहा थिएन,
म रोहिरहेँ, रोहिरहेँ, रुनु बाहेक कुनै उपाय थिएन,

सोचेँ आफ्नै जीवन दिँदा पनि आफ्नै मूल्य तोक्नुपर्ने ?
आफ्नै काख रित्याउँदा पनि बाले थप ऋण बोक्नुपर्ने ?
चलन नामको कुचलन चलाएर कति दिन चल्नुपर्ने छोरीले ?
सर्वश्व आँगन छोड्दा पनि, फेरि आफैँ जल्नुपर्ने छोरीले ?
भैगो भनेर छोडेकै कारण आज उसले मलाई छिडिदियो,
थप सिक्री दिन नसक्दा भईसक्न लागेको विवाह तोडिदियो ।

तर, दाइजोको यो दलदल आखिर कहिलेसम्म सहनुपर्ने ?
छोरी बिक्रीको खलबल, कहिलेसम्म सहनुपर्ने ?
यो अपराध यो गंन्जागोल अब रोकिनुपर्छ,
छोरीको जवानीको मोलतोल अब रोकिनुपर्छ,
अब,
आफैँले धिक्कारेर कसैले आफ्नै पुर्पुरो ठोक्नु नपरोस,
अहँ दुश्मनले पनि यस्तो कठोर पीडा भोग्नु नपरोस् ।

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ । यो सरकारको एउटा त्यस्तो अभियान हो, जसको उद्धेश्य छोरा र छोरीबीचको सामाजिक विभेद अन्त्य गर्नु हो, छोरी भएकै कारण दिइने यातना र भोग्नुपर्ने पीडा निर्मुल गर्नु हो, खासगरी मधेशतिर व्याप्त रहेको दाइजो प्रथा समाप्त गर्नु हो । तर, हिजोदेखि आजसम्म यो अभियानका नाममा के–के भयो ? के–के गरियो ? कति करोड खर्च भयो ? के उपलब्धि हासिल भयो ? कसैसँग त्यसको लेखाजोखा छैन । होस् पनि कसरी ? दिउँसो दाइजो लिनु र दिनु कानुनी अपराध हो भनेर पढाउने, सिकाउने गुरु साँझ घर पुगेपछि ‘तेरो माइतीले के दिए ?’ भन्दै आफ्नै श्रीमती भर्कुछन् ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरसमेत रहेका उमेश शाह विवाहको तयारीमा थिए । हेर्नमा राम्री, काम पनि गर्ने, अझ त्यसैमाथि दाईजो पनि भनेको जति पाउने भएपपछि साहको विवाहको कुरा पर्साको वीरगञ्जकी ती युवतिकहाँ पुग्यो । महानगरमा काम गर्ने र आईटी सम्बन्धी जानकारी भएको भन्ने थाहा पाएपछि ती युवतीका बाबुले पनि सहजै विवाहको प्रस्ताव स्वीकार गरे । त्यसपछि सुरु भयो साह र बेहुली पक्षबीच दाइजोका आडमा छोरीको सौदाबाजी । साहले विवाह गर्नुअघि नै ती युवतीका बाबुसँग १२ लाख नगद र मोटरसाइकलबापत तीन लाख २५ हजार गरी कुल १५ लाख २५ हजार, एक–एक थान ल्यापटप, सुनको औँठी र हनुमानको मालाको डिमाण्ड राखे । छोरीको विवाह हुने भनेपछि बाबुले ऋणधन गरेर विवाह अघि नै साहले मागेअनुसारको सबै चिज दिए ।

यहाँसम्म सबै ठिकठाक थियो । विवाहको दिन पनि बेहुलीका बाबुले जन्तिको स्वागत र खानपिनमा कुनै कसर बाँकी राखेनन् । भएका जायजेथा बेचेर, अझ त्यतिले पनि नपुगेपछि साहु–महाजनबाट ऋण काढेर उनले भएजति सबै पैसा जन्तिको सत्कार र मेजमानीमा खर्च गरे । तर, विवाहमा ‘पैरक्षण’ विधि भइरहेको थियो, दुलही पक्षले दुलाहालाई सुनको एक थान मात्र ढोलना नामक गहना दिए । त्यसपछि त के थियो र ? बेहुला पक्षले सुनको सिक्री नदिएको भन्दै बखेडा सुरु गरे । सिन्दुर मात्रै हाल्न बाँकी रहेको बखतमा बेहुला मण्डपबाट जुरुक्क उठे र बाटो लागे ।

छोरीको विवाह गर्न एउटा बाबुले भएको जायजेथा सबै बेचिसक्यो, ओठ–तालु सुक्नेगरी ऋण खोज्दै हिँड्यो । अझ कतिपय दाजुभाईका बाध्यता त यस्तासम्म हुन्छन् कि विदेशतिर हानिनुको उनीहरुसँग एउटैमात्रै उद्धेश्य हुन्छ, ‘दिदि वा बहिनीको विवाह गराईदिनु ।’ अनि आफ्नै दिदिबहिनीको विवाह गर्न विदेश हानिएको त्यही दाजुभाईले आफ्नो बिहेमा कसरी दाइजो नमागोस् ? अनि सुरु हुन्छ, छोरीको मोलतोल, जवानीको हिसाबकिताब र ज्वाइँको मूल्य तोक्ने काम । डाक्टर पढेको ज्वाइँ परे २ करोड, अझ एमडी नै गरेको भए ३ करोड, पाइलट पढेको भए अढाई करोड, इन्जिनियर गरेको भए १ करोड, सिए गरेको भए ८० लाख, सरकारी उपल्लो तहको अधिकृत भए ५० लाख, सरकारी अरु जागिर भए जागिर अनुसारको रेट, जागिर केही नभए १०–१५ लाख त कन्फर्म ।

यो त नगद मात्रै भयो, जिन्सीमा कार, मोटरसाइकल, जग्गा, घडी, आईफोन अरु त के–के हो के–के ? घरमा जे छैन, त्यो मागिहाल्ने, रहर जे को लाग्यो त्यो पूरा गरिहाल्ने । भन्नलाई ‘नारी लक्ष्मीकी रुप हुन् भन्ने’ तर लक्ष्मीका रुपमा नारीसँगै घरमा सम्पत्तिको भारी भित्र्याउने । जन्मेदेखि विवाह गर्दासम्मको सबै खर्च विवाहमै असुली गर्ने । अझ यत्रो सम्पत्ति दाइजोका नाममा असुल्दा पनि विवाहपछि ‘तेरो माइतीले के दियो ? के ल्याइस् ?’ भन्दै परिवारले दिने यातना झन् बेहिसाब छन् । अझ छोरी नै छोरी हुने परिवारको दुःखको त कुरा गरेरै साध्य छैन दर्शकवृन्द ।

दाइजोका नाममा विगतमा के–के भयो ?
केही समयअघि रौतहतमा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्य मिलेर छोरीसहित आमाको पनि निर्मम हत्या गरेको घटना बाहिरिएको थियो । रौतहतको मौलापुर नगरपालिका–४ मा बिहेमा कबोल गरेअनुसार मोटरसाइकल, पलङ, भैँसी र सुनको सिक्री नदिएको भन्दै धिरेन्द्र साह र उनको परिवारका सदस्य मिलेर कबिता साह र उनकी २ वर्षीया छोरीको हत्या गरेका थिए । रौतहटकै राजपुर नगरपालिका–७ अकोलवामा पनि दाइजोमा मोटरसाइकल नदिएको भन्दै २५ वर्षीया सन्जु देवीको हत्या भएको थियो । दाइजोको निहुँमा भएको घटना यतिमात्र होइन दर्शकवृन्द, ललिपुरमै पनि दाइजोका नाममा पटकपटक गरी केटीको परिवारबाट ३० लाख बराबरका सामान पाउँदा पनि दाइजो कम भएको भन्दै आफ्नै श्रीमती पुनकुमारी गुप्ताको हत्या गरेको अभियोगमा पेशाले इन्जिनियरसमेत रहेका ३१ वर्षीय सुमितकुमार गुप्ता पक्राउ परेका थिए । दाइजो नदिएको र कम दिएको भन्दै भएका यस्ता घटनाको फेहरिस्त लामै छ । दाइजोका नाममा यस्ता घटनामा संलग्न केही प्रहरी खोरमा छन् भने केही फरार छन् । यति हुँदा पनि न दाइजोृ लिने क्रम रोकियो न दाइजो दिने क्रम रोकियो । बरु जति समाज मोर्डन हुँदै गयो, त्यति नै ज्वाइँको रेट महँगिदै गयो । लिनेले लिन छोडेनन्, दिनेले दिन्न भन्न सकेनन् । र चलिरह्यो सम्पत्तिको आडमा छोरी सुम्पिने परम्परा । दाइजोका नाममा यो हदसम्मको दरिद्रता देखाउने यस्ता दरिद्रहरुलाई देख्दा लाग्छ, दाइजो यिनिहरुको नशा होइन, यिनिहरुको नशा–नशामा दाइजो दौडिरहेको छ ।

दाइजोबारे नेपालको कानूनमा के व्यवस्था छ ?
सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चलअचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न नेपालको कानुनले बर्जित गरेको छ । यस्तो कार्यलाई नेपालको कानूनले दण्डनीय भनेको छ । दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान मुलुकी अपराध (संहिता), २०७४ को दफा १७४ को उपदफा २ (१) मा उल्लेख छ । तर, के दाइजो लिने÷दिने कार्यलाई यो कानूका दफा, उपदफामा कुँदिएका न्यायिक अक्षरहरुले रोक्न सकेको छ त ? प्रश्न गम्भीर मात्र होइन, अत्यन्तै गम्भीर छ ।

दाइजो प्रथा अन्त्य गर्न भन्दै खोलिएका समूह, संस्था, संगठन गुमनाम छन्, करोडौँ खनाएर थालिएका अभियान थलिएका छन् । त्यही गाउँमा दाइजोकै निहुँमा कयौँ छोरीहरुले अकालमै ज्यान गुमाउँदा पनि बेखबर बन्ने सरकार, त्यही गाउँमा एउटा परिवारले दाइजो नलिई विवाह गरे स्वर्ग नै जित्यौँ जसरी सात गाउँ थर्किने गरी सम्मानको बाजा बजाउँछ । ए सरकार, अब पनि जाग्ने बेला भएन र ? हुन त सत्ताको सापसिढीमा मस्त सरकारलाई यस्ता कुराले के छोओस् ? तर पनि भन्छौँ, चिच्याई–चिच्याई भन्छौँ, ‘जाग सरकार जाग, नागरिकलाई सरकार हुनुको अनुभुति गराउ’ । शिक्षित हुँदै गएको समाज दाइजोका नाममा झन्झन् राक्षस बन्दै गएको यो परिस्थितिमा दाइजोकै कारण कसैकी छोरी, कसैकी दिदि, कसैकी बहिनी, कसैकी आमाले अकालमा ज्यान गुमाउनु नपरोस्, दाइजोकै कारण एउटा बाबु जिन्दगीभरी पिल्सिरहनु नपरोस्, दाइजोकै कारण कसैको कोख र कसैको ओत गुम्नुनपरोस्, कामना गरौँ दाइजोकै कारण मेरो देश पटकपकटक बदनाम हुनु नपरोस् । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी