Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीको सकारात्मक पहलपछि सेयर बजारमा हरियाली, अब के हुन्छ ? (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौँ । सरकार फेरिएपछि, अर्थमन्त्री फेरिए । अर्थमन्त्री फेरिएपछि मन्त्रालयको काम गर्ने तरिका फेरियो । सेयर बजारप्रति अर्थमन्त्रीको सामिप्यता बढ्यो, बजारप्रति अर्थमन्त्रीको सामिप्यता बढेपछि सेयर लगानीकर्ताहरुको मनोविज्ञान फेरियो । जसको असर पछिल्ला दिन सँधै रातो-रातो भएर लगानीकर्ताको सात्तो लैजाने नेप्से इन्डेक्सको रंङ फेरिएको छ । अर्थमन्त्रीमा वर्षमान पुनको इन्ट्रिसँगै सेयर लगानीकर्ताको पोर्टफोलियोको आकार र अनुहारको भाव फेरिएको छ । र फेरिँदैछन् बजारका अन्य थुप्रै आयामहरु ।

एउटा मान्छेको मायाले कति फरक पर्छ जिन्दगीमा भनेजस्तै एउटा अर्थमन्त्रीले दिएको ढाडसले निकै फरक पर्नेरहेछ सेयर बजारमा भन्ने सत्यलाई बढिरहेको नेप्से इन्डेक्सले छर्लंग बनाएको छ । अर्थमन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गर्दादेखि नै सेयर बजारप्रति अर्थमन्त्री वर्षमान पुनले दिँदै आएको अभिव्यक्तिले सेयर लगानीकर्ताहरु उत्साहित बनेका छन् । फलस्वरुप मंगलबार सेयर बजार मापक नेप्से इन्डेक्स ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा पुगेको छ ।

सेयर बजारप्रति अहिलेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिएको नकारात्मक टिप्पणीपछि समग्र माओवादी केन्द्र प्रति नै आक्रोशित बनेका सेयर लगानीकर्ताहरु बर्षमानको पहलकदमीमा भने खुसी देखिएका छन् । सेयर बजारप्रति बर्षमान पुनको निरन्तरको चासो र सुरुवाती कामले सेयर बजारमा माओवादी केन्द्र प्रतिको धारणा नै परिवर्तन हुन सक्ने जानकारहरु बताउँछन् । अर्थमन्त्री पुनले थालेको यस्तो सकारात्मक कदमले यसअघि प्रचण्डले दिएको सेयर बजार सट्टाबजार हो भन्ने नकारात्मक धारणालाई पनि बिर्साउन सक्ने आंकलन सेयर बजारका जानकारहरुले गरेका छन् । समग्रमा अर्थमन्त्री वर्षमान पुन सेयर लगानीकर्ताका प्रिय बनेका छन् ।

पदभार ग्रहण गर्दा नै सेयर बजारप्रति आफु सकारात्मक रहेको र बजारका समस्याहरुलाई समाधान गर्न प्रतिबद्ध रहेको बताएका अर्थमन्त्री पुनले त्यसको भोलिपल्ट सेयर बजारका लगानीकर्ताहरुलाई बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । त्यसको केहि दिनपछि नै अर्थमन्त्री पुनले नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरी सेयर बजारको सुधारका लागि आवश्यक कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । एकपछि अर्को गर्दै सेयर बजारका लगानीकर्ताको मनोवल बढाउनगरी अर्थमन्त्री पुनले दिएको अभिव्यक्ति र निर्देशनले बजार बढोत्तरीमा थप बल पुग्ने धेरैको अपेक्षा छ ।

सेयर बजार जोखिमको क्षेत्र हो, यहाँ पैसा कमाउन सोचेजस्तो र सुनेजस्तो सजिलो छैन । यो एउटा बाठोले अर्को बाठोलाई तँ भन्दा म बाठो भनेर प्रमाणित गर्ने क्षेत्र हो, त्यसैले बाठो पनि लड्ने यो मैदानमा बाठो ठहरिन सजिलो छैन । सेयर बजार सम्भावनाको क्षेत्र पक्कै हो, तर माछा भनेर भ्यागुतो भिडाईदिने भीडमा जोगिन सक्नुपर्छ । धैर्यता र अध्ययनमा ध्यान दिए, र आफैंले आफैंलाई ज्ञान दिए, फेसबुकका रोइलो नसुने, क्लब हाउसका कचकच तिर ध्यान नदिए, सेयर बजार सुन्दर होइन अत्यन्तै सुन्दर छ ।

त्यसैमाथि सेयर बजारकै सुुधारका लागि अनसन बसेर सबैको मन जितेका र अहिले सांसद बनेका हरि ढकालले पनि अर्थमन्त्रीलाई झकझाईरहेका छन् । पूँजी बजारबाटै उदाएका यो पहलकदमीलाई पनि सेयर लगानीकर्ताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । सेयर बजारका लगानीकर्ताका प्रिय सांसदले बजारको सुधार र विकासका लागि पहल गर्नू, अर्थमन्त्री पोजेटिभ हुनु, बैंकको ब्याजदर थप घट्ने सम्भावना देखिनु, धेरै घटिसकेको बजार अझै घट्ने संकेत नदेखिनु, बैंकिङ प्रणालीबाट प्रवाह हुने सेयर धितो कर्जा बढ्नु, अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नहुनु, पोर्टफोलियोबाट हराएका हात्तिहरु आफ्नो घर सम्झेर फर्किएझैँ फर्किनुजस्ता कारणले अबको बजार यात्रा माथि नै हो भन्ने कुरालाई संकेत गरिरहेको छ ।

सँगै, बजार हो । सेयर बजार घटेपछि बढ्छ र बढेपछि घट्छ भन्ने कुरा लगानीकर्ताले बिर्सनु हुँदैन । घट्नु र बढ्नु सेयर बजारको सुन्दर पक्ष हो । यसैबीच देशको अर्थतन्त्रको स्थिति उही हुँदा एक मन्त्री फेरिएकै कारण र फरिएका मन्त्रीले बजारका बारेमा गज्जब बोले भन्दैमा अब बजारको यात्रा बुल नै हो भन्नुचाहिँ ठिक नहुन सक्छ । आफुले एउटा टार्गेट सेट गर्ने अनि सो टार्गेट पूरा भएपछि सेयर बेच्न पनि जान्नुपर्छ । लोभलाई त्यागेर, धैर्यतालाई साथी बनाए मात्र सेयर बजार सुन्दर छ । होइन भने बजारले बुलमा पीडा दिन्छ । यो कुरामा विशेष ध्यान दिएर राम्रा कम्पनी छाने बजारमा अवको समय स्वर्णिम छ ।

अन्तिममा यसको अर्थ सेयर बजार अब बढेको बढ्यै गर्छ भन्ने होइन । तर, सजग भएर, संयम भएर, अध्ययनशील भएर सेयर बजारमा लागे तपाईंको भविष्य उज्ज्वल छ । नत्र त उही हाइड्रो भनेर कुलोमा लगानी गर्नेहरु, फाइनान्स भनेर सत्यानासमा पैसा खन्याउनेहरु, बैंक भनेर रित्तो टैङ्कमा धन लगाउनेहरु, बीमा भनेर बिग्रेको किमामा मन लगाउनेहरु डुब्ने नै हुन् । बाँकी त तपाईंको पैसा तपाईंको लगानी, तपाईंले किन्ने, तपाईंले बेच्ने, नाफा भए पनि तपाईंको, घाटा भए पनि तपाईंको, त्यसैले मर्जी पनि तपाईंकै । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK