काठमाडौँ । चैत्र महिना ३० गतेसम्मको मात्र छ, तर त्रिभुवन विश्वविद्यालयले हुँदै नभएको चैत्र ३१ गते परिक्षा राखेर तालिका सार्वजनिक गरेको छ । यो कुनै जोक होइन, टियुको बिजोग हो। तर नेपाल हो नि, यस्तो रमाइलो बेलाबेला देख्न पाईराखिएको छ । सोमरसले झ्याप भएर रातीराती बेसुर पारामा परिक्षा तालिका तयार गरियो वा श्रीमतीको लाठि खाएर बर्बराएका बेला क्यालेन्डर हेर्दा नै तिरीमिरी झ्याई भएपछि झ्याप्प क्यालेन्डर फाइनल भयो, त्यो टियुका अधिकारीहरु नै जानुन्, तर, ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि त्रिभुवन विश्वविद्यालयका अधिकारीहरु कतिसम्म जिम्मेवारहीन, र लट्ठक छ भन्ने प्रष्ट भएको छ ।
त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ, जवकी चैत्र महिनामा ३१ गते नै छैन । अव हुँदै नभएको दिनमा परिक्षा दिन कसरी जानु ? टियुले आफ्नो निर्णय त सच्यायो, तर टियुको पारा सच्चिने छाँटकाँट देखिएको छैन ।
यसो त त्रिभुवन विश्वविद्यालयको मनपरी र विद्यार्थीको भविष्यमाथिको खेलाची यो पहिलो होइन, दर्जनौंपटकपछीको हो । परिक्षा समयमा नगर्ने, बल्ल बल्ल भएको परिक्षाको नतिजा पनि देशमा दुई सरकार परिवर्तन हुँदा पनि निकालिनसक्ने, न ठिक मितिमा चल्ने, न थितिमा चल्ने, विद्यार्थीको भविष्यमाथि निरन्तर खेलबाड गरिरहने, देश बनाउने ठुला कुरा गर्ने, तर एउटा गतिलो वेव साइट बनाउन नसक्ने, १० बर्षका पूराना प्रश्नपत्रबाट एक एक वटा प्रश्न तानेर ११औं परिक्षाको प्रश्नपत्र तयार गर्ने, त्यो पनि ढंगको नगर्ने त्रिभुवन विश्वविद्यालय कहिले पनि नसुध्रिएकै कारण प्लस टुपछि विद्यार्थी नेपालमा पढ्न नै चाहादैनन् । अझ प्रष्ट रुपमा भन्दा विद्यार्थीहरुलाई घुमाउरो पाराले टियुकै पाराले भनिरहेको छ– ‘अहँ यो पढ्ने ठाउँ नै होइन, यहाँ नपढ,विदेश जाऊ ।’ र त विश्वविद्यालयको यस्तो हविगतका कारण विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयमा पढ्नुभन्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै विदेशिन ठिक मानिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालय त्यस्तो नमुना विश्वविद्यालय हो, जहाँ बार्षिक परिक्षा समयमा हुनु भनेको प्याज नखाने बाहुन भेटेजस्तै हो । मंशिरमा विवाह गरेका जोडीले घोर्ले छोरो पाएर नतिजा निकालिसक्दा पनि मंशिरमा भएको परिक्षाको नतिजा टियुले प्रकाशन गर्दैन । पेपर जाँच्नेहरु पेपर बुझेर कमाउधन्दामा लाग्छन्, समयको महत्वको कसलाई मतलव । नेपाली टाइम भनेजस्तै टियुको रिजल्ट यहि कारण बदनाम छ बजारमा । अझ बल्ल बल्ल उत्तरपुस्तिका जाँच्न बसेका सरहरुको ध्यान फेसबुक र टिकटकमा हुन्छ । ध्यान मात्र भए त हुने, फेसबुकमा उत्तरपुस्तिकाको लाइभसमेत गर्छन् टियुका सर नामका जिम्मेवारहीन टाउकेहरु ।
इतिहास साक्षी छ, हामी सबैले राम्रो बनाउनुपर्ने हाम्रो टियु, बदनामीको अर्को नाम भईसकेको छ । तर जति बदनाम भएपनि टियुको जिम्मेवारी पाएकाहरुले लाज भन्ने चीज नै पचाएर खाईसकेको जस्तै व्यवहार गर्छन् ।
अहँ, एउटा विषयको परिक्षामा अर्कै विषयको प्रश्न सोध्दा पनि टियुका अधिकारीहरुलाई लाज लाग्दैन । अघिल्लो पटकको परिक्षाको प्रश्नपत्र यसपटक पनि हुबहु आउँदा पनि टियुका अधिकारीहरुलाई बरु अल्छी लाग्छ, लाज लाग्दैन । यो आरोप होइन, तथ्य हो । टियुको बिजोग रमाइलोको निर्मम सत्य हो ।
यस्तै केहि प्रतिनिधि उदाहरणहरु हेरौँ
केहि समय अघि त्रिभुवन विश्वविद्यालयले ४० नम्बर पूर्णाङ्क भएको विषयमा ४२ नम्बर दिएर जग हँसायो । त्रिविले एक विद्यार्थीलाई कूल ४० नम्बर पूर्णाङ्क भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको थियो । बीएस्सी चौथो वर्षको विषयमा यस्तो त्रुटि भएको हो । यो विषयमा उत्तीर्णाङ्क १६ छ । यसले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको भविष्यमाथि कतिसम्म खेलवाड र लापर्वाही गरिन्छ भन्ने कुराको उदाहरण पेश गरिदियो, तर टियुका अधिकारीहरुलाई अलिकति पनि लाज लागेन ।
यस्तै बिजोग रमाइलो देखियो केहि समय अगाडी पोखरामा । काठमाडौंको कुनै कलेजको आन्तरिक परीक्षामा दिइएको प्रश्नपत्रसँग हुबहु मिलेपछि त्रिविले परीक्षा रद्द गर्नुपरेको थियो । पृथ्वीनारायण क्याम्पसमा छैटौं सेमेस्टर पढ्दै गरेका विद्यार्थीहरुले त्रिविले विद्यार्थीको बौद्धिकमाथि चरम शोषण गर्ने काम भएको भन्दै विरोध गरे । तर टियुको यो हदसम्मको मनपरी बाहिरिंदा पनि अहँ, टियुका अधिकारीहरुलाई लाज भन्ने कुरा अलिकति पनि लागेन ।
कहिले ब्याचलर्सको नतिजा नआउँदै माष्टर्सको भर्ना खोल्ने, कहिले नक्कली परीक्षार्थीले परिक्षा दिंदैछन् भन्ने थाहा पाउँदा पनि, अझ उजुरी पर्दा पनि चुप लागेर बस्ने, परिक्षा नै नदिएको विषयमा पास गरिदिने, परिक्षा दिएको विषयमा एब्सेन्ट देखाईदिने, ३ बर्षको कोर्स पूरा गर्न पूरापूर ५ बर्ष लाग्ने, माष्टर्स कहिले सकिन्छ त ठेगान नै नहुनेजस्ता टियुको रबैयाकै कारण अहिले टियुमा एकाध छोडेर अधिकांश विदेशको भिसा नआउन्जेलसम्ममात्र पढिरहेका छन् । टियुकै ग्राउण्डमा टियुका विद्यार्थी होइनन्, इपीएस भाषा परिक्षाका विद्यार्थीहरु घाम तापेर पढिरहेको देखिन्छ । तर, अहँ, यति हुँदा पनि टियुका अधिकारीहरुलाई लाज नामको चीज लाग्दैन ।
अहिले रास्वपा नेतृ शिक्षामन्त्री छिन् । लाज पचेका नकचराहरुलाई टुडीखेलमा राखेर, उठेर, घुमाएर एक एक किक हान्नुपर्छ भन्ने रवि लामिछाने नेतृवको पार्टीकि शिक्षामन्त्री सुमना श्रेष्ठले अव सभापतिकै सिको गर्नुपर्ने बेला पो आएको हो कि ? यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने टियुका लाच पचेका नकचराहरुलाई त्यहि टियुको ग्राउण्डमा राखेर, उठेर, घुमाएर एक एक किक हान्दा बरु तिनको बुद्धिमा सूर्य उदाउँथ्यो कि ?
होइन भने, कति सहने विद्यार्थीले ? अनि किन पढ्ने एउटा विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा ? अनि एउटा विद्यार्थी किन नजाओस् विदेश ? त्यसैले अव टियुका लाच पचेका नकचराहरुलाई बर्खास्तीको डण्डा चलाउनुपर्छ । हामीले जे गरे पनि हुन्छ भन्ने भ्रम पाल्ने सर नामका टाउकेहरुलाई टियुबाट बिदा गर्नुपर्छ । समयमा परिक्षा संचालन गर्न नसक्नेहरुको जागिर खोसिनुपर्छ । परिक्षाफल समयमा ननिकाल्नेहरुलाई राष्ट्रिय निकम्मा घोषित गरिनुपर्छ । उत्तरपुस्तिका जाँच गर्दा मनपरी गर्नेहरुलाई ठेगान लगाईनुपर्छ । हाम्रो त्रिभुवन विश्वविद्यालयलाई संसारकै राम्रो विश्वविद्यालय बनाउन यहाँभित्रका डुङ डुङ गन्हाएका फोहोरहरुलाई तह लगाउनुपर्छ । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्