×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भित्री कारोबारमा गुरु न्यौपानेलाई जेल सजाय, अरु को-को छन् लाइनमा ? (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार

PRIME CA

भित्री कारोबारमा गुरु न्यौपानेलाई जेल सजाय, अरु को-को छन् लाइनमा ? (भिडियो ब्रिफिङ)

काठमाडौँ । गुरु न्यौपाने । यो हाइड्रो क्षेत्रमा मात्र होइन, समग्र नेपाली सेयर बजारमा निकै चलेको नाम हो । अझ हाइड्रोमा कसैले मस्त पैसा कमायो भने त्यो गुरु न्यौपाने नै हो भन्दा पनि फरक पर्दैन । उनी बजारमा कमाउने शैलीमा जति परिचित छन्, त्यति नै विभिन्न कालखण्डमा, विभिन्न विषयमा विवादित पनि बन्दै आएका छन् । र उनै न्यौपानेले भित्री कारोबार गरेको भन्दै सम्पत्ति शुद्धिकरणमा परेको मुद्दामा उनी दोषी ठहर भएका छन् । रिडी पावर कम्पनीको अध्यक्ष हुँदा २०७७ चैत्र १९ गतेदेखि २०७९ मंसिर २६ गतेसम्म कम्पनीको सेयर किनबेच गरेको आरोप लागेका न्यौपानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले १ वर्ष कैद र करिब ४ करोड रुपैयाँ जरिवाना सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई एक वर्ष कैद र करिब ४ करोड रुपैयाँ जरिवाना सुनाएको हो । अदालतले न्यौपानेलाई १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, अदालतले न्यौपानेविरुद्ध कायम गरिएको बिगो रकम बराबरको सम्पत्ति जफत गर्नेसमेत फैसला गरेको छ । उनीविरुद्ध २ वर्ष कैद फैसला तोकिएको भए पनि ज्येष्ठ नागरिक भएका कारण ५० प्रतिशत कैद सजाय मिनाहा गरी एक वर्ष मात्रै कायम गर्न अदालतले आदेश दिएको छ ।

हुन त विशेष अदालतको यो फैसला नै अन्तिम नहुन सक्छ, कारण, उनी विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न सर्वोच्च जान पाउँछन् । र पनि, विशेष अदालतले गरेको फैसलाले यतिबेला सेयर बजार तातेको छ । धितोपत्र ऐन संसोधन भएर भित्री कारोबार प्रहरीले हेर्न पाउनेगरी कानुन बनेको विषयमा बहस गर्न नै बाँकी रहेका समयमा न्यौपानेविरुद्ध भएको यस्तो अदालती फैसलाले नेपाली सेयर बजार हल्लिएको छ । कारण, न्यौपाने त सजाय तोकिएका सुरुवाती पात्र मात्र भए, सेयर बजारमा भित्री कारोबार गरेर मोटाउने अनगिन्ती खेलाडीहरु छन् । जसको मुटुमा अदालतको यो फैसलाले ढ्यांग्रो ठोकेको हुनुपर्छ ।

अझ खास कुरा त के छ भने ‘इन्साइडर ट्रेडिङ’ गरेको अभियोग लागेका व्यक्तिलाई सम्पत्ति शुद्धिकरणले हालेको मुद्दामा अदालतबाट सजाय भएको यो इतिहासकै पहिलो घटना हो । 

अव बुझौँ यो घटना खास के हो भन्ने तथ्य !
२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म उक्त संस्थाको अध्यक्ष थिए । उनी अध्यक्ष भएकै बेला २०७८ जेठ ४ गते रिडी पावर कम्पनीले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको थियो । न्यौपानेले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले किनेका थिए । पछि उनले आफूसँगै भएकोसमेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलासा भएको थियो । उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेका थिए । तर, न्यौपानेले निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए ।

यसो त न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म रिडी हाइड्रोपावर कम्पनीको सेयर १४ पटक खरिद गरेका थिए भने १२ पटक बिक्री गरेका थिए । त्यसबेला न्यौपानेले आफूमात्रै नभएर आफ्नो श्रीमती, छोरा र बुहारीहरुको नाममा रहेको सेयर पनि खरिदबिक्री गरेको पाइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत आर्जन गरेको रकम जफत हुनुपर्ने माग गर्दै उनीविरुद्ध मुद्दा चलाएपछि विशेष अदालतले उक्त मुद्दामा न्यौपानेलाई दोषी करार गर्दै साजयसमेत सुनाएको हो ।

त्यसो भए के न्यौपाने अब जेल जान्छन् त ?
अहँ, न्यौपाने तत्कालै जेल जानु भने पर्दैन । विशेष अदालतले गरेको यो फैसला नै अन्तिम फैसला भने होइन, किनकी न्यौपाने पुनरावेदन जान बाँकी नै छ । विशेष अदालतले उनलाई दोषी ठहर गरे पनि उनी सर्वोच्च जान पाउँछन् । यसका लागि स्वयम् न्यौपाने पनि अदालतको पूर्ण पाठ कुरिरहेको बुझिएको छ । सर्वोच्चलेसमेत विशेष अदालतको फैसला सदर गर्यो भने उनले दोहोर्याइपाऊँ भनी पुनः मुद्दा लड्न पाउँछन् । विशेषमा हारेर, सर्वोच्चमा पनि हारेर पनि पुनः दोहोर्याई पाउँमा मुद्दा जितेका थुप्रै उदाहरणहरु छन् । तर, दोहोर्याई पाउँमा पनि उनले मुद्दा हारे भने न्यौपाने जेल जानुपर्छ । तर, सर्वोच्चले फैसला उल्ट्याइदियो भने कुरा सक्किहाल्यो

यो मुद्धाको अन्तिम फैसला कसको पक्षमा आउँछ, त्यो हेर्न बाँकी नै छ । तर विशेष अदालतको फैसलाले सूचना लुकाएर वा चुहाएर सेयर बजारमा कारोबार गर्दा एकदिन जरुर फसिन्छ है भन्ने तथ्यलाई उजागर गरिदिएको छ । सधैँ पावरमा आफु भइन्न । गलत गर्दा एक दिन फस्न सकिन्छ है भन्ने तथ्यलाई मनन गराएको छ । अहिले पनि सेयर बजार भित्री कारोबार गर्नेहरुकै हातमा छ भन्दा फरक पर्दैन । अझ यसरी कारवाही अगाडि बढाउनुपर्ने धेरैका फाइल त नियामक भएर पनि बोर्ड आफैँले लुकाएको तथ्य पनि बुझ्न गाह्रो छैन । यदी धितोपत्र बोर्डले गलत गर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गरेको भए आज अरु पनि थुप्रैका विरुद्ध मुद्दा चलिसक्थ्यो होला । तर बोर्ड त्यसो गर्न आँट गरिरहेको छैन । 

भित्री कारोबार एक जघन्य अपराध हो । भित्री सूचना चुहाएर, सोझासाझा लगानीकर्तालाई गुमराहमा राखेर, सार्वजनिक पदको दूरुपयोग गरेर मोटाउनेहरुको समय अव सकियो भन्ने संकेत देखिएका बेला ‘कानून–सानून सब मेरै हातमा छ’ भनेर फुर्ती लगाउनेहरुको पनि यतिबेला नीद हराम भएको छ । भलै, न्यौपानेले सर्वोच्चबाट सफाइ पाउलान् वा दोषी करार होलान्, त्यो हेर्न बाँकी नै छ । तर, अव पटक पटक गलत गर्नेहरुले छुट पाउनेछैनन् भन्ने सन्देश पक्कै गएको छ नेपाली सेयर बजारमा ।

र अर्को महत्वपूर्ण तथ्यबारे पनि छानविन हुन जरुरी छ । न्यौपानेलाई मुद्दा हाल्ने बोर्डमा यो केस कति महिनादेखि कसले, कुन नियतले फाइल लुकाएर राखेको थियो ? त्यसविरुद्ध पनि अव छानविन हुनुपर्छ । कसकसका फाइललाई कुन कुन बहानामा उन्मुक्ति दिइयो, त्यसको पनि सोधखोज हुनुपर्छ । कसकसले के के बहानामा कसकसलाई उन्मुक्ति दिए, त्यसको पनि छानविन हुनुपर्छ ।   किनकि यो सेयर बजार, नाफा घाटा र खरिदबिक्रीको बजार हो । खेलाडीले टोपी लगाइदिएर सोझासाझालाई सडकमा पुर्याउने बजार होइन । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: