काठमाडौँ । एनआईसी एशिया बैंकको मुगु शाखा वरपर एक व्यक्ति मापसे गरेर डुल्दै थिए । बेलुकीको ९ हाराहारी बजेको थियो, एनआईसी एशिया बैंकका सुरक्षा गार्ड ड्युटी सकेर सुत्ने तरखरमा थिए । त्यति नै बेला जाँडले टिल्ल परेर ती व्यक्ति बैंकको ढोकामा पुगे । एकछिन कराए, मुर्मुरिए, अनि बैंकको ढोका हान्न थाले । यताउति हेरे, र सुरक्षा गार्ड बस्ने कोठा पुग्ने ढोका फोडिदिए । तर भित्र पसेका उनले पैसा चोरेनन्, कुनै थप सामानमा क्षति पुर्याएनन्, बरु सुरक्षा गार्डको जुत्ता टिपे, सुरक्षा गार्डको खुकुरी लिए र बैंकबाट बाहिरिए ।
भोलिपल्ट बैंकमा तोडफोड भएको हल्ला चल्यो । कार्यालय समय सुरु भएपछि सिसिटिभी हेर्दा सो जँड्याहाको हर्कत फुटेजमा देखियो । प्रहरीमा खबर भयो, प्रहरीले केरकार गर्यो । बुझ्दै जाँदा त ती व्यक्ति तिनै जँड्याहा रहेछन्, जसले सो ठाउँमा प्रहरीलाई पनि हैरान पारेका रहेछन् ।
कहिले कसैको जुत्ता चोर्ने, कहिले मासु पसलमा गएर मासु चोर्ने, दिनहुँ जाँड खाएर हल्ला गर्ने, अनि प्रहरीले नियन्त्रणमा लिँदा झन् मज्जा मान्ने । एक पटक होइन, दुई पटक होइन, पटक पटक यस्तै गर्ने । आज भोलिबाट जाँड खान्न भनेर बाचा कसम खाएर प्रहरीबाट फुत्किने, भोलिपल्ट टिल्ल परेर तिनै पुलिसहरुलाई सलाम साप भन्ने । यस्ता व्यक्तिले बैंकको ढोका तोडफोड गरिदिएपछि तात्यो बैंकिङ क्षेत्र आइतबार ।
हुन जँड्याहालाई कुनै बारको बाल हुन्न । आइतबार यसै पहिलो बार भइगो । सोमबार शिवजीको नाममा यसो प्रसाद खाँदा, जाँडको तलतलको बहाना भइगो । मंगलबार, यसै मङ्गल गर्नुपरिहाल्यो । बुधबार र बिहिबार तनावमा तनाव शान्त गर्ने बहाना चाहियो । शुक्रबार यसै पनि गुड फ्राईडे, शनिबार त बिदाको दिन रमाइलो गर्नुपरीहाल्यो । त्यसमाथि शनिबार त न्यु एयर थियो । जाँड खानेलाई ‘न्यु एयर’जतिको ‘बेष्ट’ बहाना के हुन्थ्यो होला र । र त ती दाजुले दन्काईदिए लोकल, अनि फोडिदिए बैंकको ढोका ।
आइतबार एक कान दुई कान मैदान हुँदै यो खबर देशभर फैलियो । कतिपयले त बैंक लुटियो रे भन्नेसम्मको हल्ला गरे । कतिले बैंक लुट्ने प्रयास भयो भनेर हल्ला गरे । तर, ती सबै हल्ला, मात्र हल्ला थिए । भएकोचाहिँ मात्र एउटा जँड्याहाले जमिन हल्लिएको भान गरेजसरी, बैंकमा आफ्नो हर्कत देखाएको थियो, र खुकुरी र जुत्ता चोरेर भागेको थियो ।
ती जँड्याहाबाट प्रहरी नै आजित भइसकेका छन् । र शनिबार उनले गरेको यस्तै हर्कतले झन् प्रहरीलाई थप तनाव भएको छ । बैंक लुटिएको हल्लाले बजार पिट्दा, रुनु न हाँस्नु भएको छ प्रहरीलाई पनि । ती जँड्याहालाई त प्रहरीको खोर, र सितन बिनाको लोकल खाने भट्टी उस्तै भइसकेको छ ।
जताततै नयाँ वर्षको रमाइलो थियो, वर्ष २०८० लाई बिदाई र वर्ष २०८१ लाई स्वागत गर्दै खुसियाली मनाउँदै थिए नागरिक । नयाँ वर्ष अर्थात बैशाख १ गते शनिबार परेकाले बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने नै भए । तर, त्यहीबेला एकाएक एनआईसी एशिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको खबर सार्वजनिक हुँदा धेरैलाई के के न भयो भनेजस्तो लाग्यो, जुन स्वाभाविक पनि थियो । मुगुमा बैंकको शाखा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको खबरले राष्ट्रिय मिडियाहरुमा पनि ठाउँ पायो, जुन कुरा पनि स्वाभाविक थियो । यसै पनि चोर र लुटेराहरुको निशानामा परिरहने त्यही एनआईसी एशिया बैंकमा तोडफोड भएको घटना भुसको आगोसरी फैलियो, मानौँ बैंकको सर्वश्व लुटिएको छ ।
बैंकमा तोडफोड भएको सत्य हो, बैंकबाट चोरी भएको पनि सत्य हो । तर, शनिबार साँझ मुगुस्थित बैंकको शाखा कार्यालयमा भएको तोडफोड र चोरीको यथार्थ भने फरक थियो । एउटा जँड्याहा बैंक छिर्छ, सुरक्षा गार्डको जुत्ता चोर्छ, खुकुरी लिन्छ र भाग्छ । भएको यति थियो, तर राजेश हमालको हे ! ले हल थर्काएजसरी जड्याहाको हर्कतले देश हल्लायो । बेलाबेला अनेक, विभिन्न भइरहने एनआईसी एशियामै यस्तो हर्कत भएपछि बजार पिटिने नै भयो ।
मुगुमा ठट्टा चलेको छ, यो एनआईसी एशिया बैंकलाई त जँड्याहाले पनि नछोड्ने भयो । कतिपयले खिसी गर्दै भनेका छन्, एउटा जँड्याहाले ढोका फोरुन्जेल पनि थाहा नपाउने बैंकमा जनताको पैसा सुरक्षित होला ? कतिले एनआईसी एशिया बैंकलाई व्यंग्य गर्दै भनिरहेका छन् । सबैभन्दा दशा मलाई लागेको होला जस्तो लाग्थ्यो, एनआईसी एशिया बैंकले त मलाई पनि जितिसकेछ । कहिले बैंक डुब्ने हल्ला, त्यही हल्लाको अरबौं रुपैयाँ बाहिरिएको तनाव, ब्याजदर बढाउँदा पनि निक्षेपकर्ताले नपत्याएको यथार्थ, अनि जताततै आफ्नै बैंकको नेगेटिभ न्युज । मुगुको न्युज सुनेपछि धेरैले भनिरहेका छन् । यदि बैंक मान्छे हुन्थ्यो भने, त्यही जँड्याहाजसरी बेताल हिँड्थ्यो होला ।
अनि सो घटनासँगै केही गम्भीर कुरा पनि उठेका छन् । जसलाई सिरियस भएर सोच्न, मनन गर्न र नियामक र बैंकले बुझ्न जरुरी छ ।
बैंकको सुरक्षा २४सै घण्टा हुनुपर्ने हो । तर सुरक्षा गार्डको ड्युटी किन ८ बजेसम्म मात्र तोकियो ? बैंकको ढोका फोडिदा पनि किन कसैले थाहा पाएन ? बैंकको सुरक्षा गार्डसँग भएको खुकुरी संवेदनशील हतियार हो । ती जँड्याहाले त्यसको दुरुपयोग गरेको भए ठुलो भवितव्य हुन सक्थ्यो । बैंकका गार्डले हतियारजस्तो संवेदनशील कुरामा किन यतिधेरै असंवेदनशील भए ? बैंकको ढोका फोडेर एक व्यक्ति भित्र पस्न सक्ने यो कस्तो सुरक्षा हो ? आज पो जँड्याहा छिरेर केही भएन, भोलि लुटेर छिरेर जुत्ता र खुकुरी लगेजसरी पैसा र अन्य समान चोरिदियो भने त्यसको जिम्मा कसले लिने ? आफ्नै ढोका बलियो बनाउन नसक्ने बैंकले जनताको थैलीको इज्जत राख्ला ? सामान्य सुनिए पनि यी तथ्य गम्भीर छन् ।
प्रहरीको भनाई सुन्दा जँड्याहा पटके चोर हुन् । यदि त्यस्तो हो भने, बैंकजस्तो संवेदनशील क्षेत्रमा उनका सम्भावित हर्कतहरुलाई निगरानी गर्नु के प्रहरीको जिम्मेवारी होइन र ?
चोरी अपराध भन्दा पनि मानिसको मानसिकताको उपज हो भन्ने विश्लेषण भइरहँदा मुगुका जनप्रतिनिधिले एउटा वेवारिसे मान्छेका दुखसुख बुझ्न आवश्यक छैन र ? विश्वभर चर्चा भएको मानसिक अवस्था, अर्थात चोरीरहन मन लाग्ने अवस्था, अझ प्राविधिक भाषामा भन्दा ‘क्लिप्टोमेनिया’बारे अव बहस गर्नुपर्ने बेला भएन र ? आवश्यक नै नभएको कुराहरु चोर्नु, दिनरात रक्सी खानु, समस्या भन्दा पनि अवस्था हुन सक्छ । एउटा सामान्य मान्छेले गर्ने हर्कतबाट ‘बिग क्राइम ड्रिमर’हरुले फाइदा लुट्न सक्छन् भन्ने विषयको हेक्का राख्न अव ढिलो गर्नु हुँदैन ।
धन्न केही अप्रिय घटना भएन । बरु ती दाजुलाई एक जोर राम्रो जुत्ता किनेर, उसका सुखदुःख बुझेर सुधार केन्द्रमा हालिदिए राम्रै हुने थियो । डिपोजिट जसले दिन्छ, सिएसआरको पैसा उसैले भनेको ठाउँमा खन्याउने अनि पछि नियामकले प्रश्न गरेपछि टाउको कन्याउने बैंकले बरु एउटा मान्छेको उद्धार गरिदिए धर्मै हुन्थ्यो नि, होइन र ? (भिडियो)