×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केटाकेटीले ‘गेम’ खेलेजसरी लुटियो नबिल बैंक, बोरामा हालेर लगेको पैसा भेटिएन, बैंक सुरक्षामा प्रश्न ! (भिडियो) 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

केटाकेटीले ‘गेम’ खेलेजसरी लुटियो नबिल बैंक, बोरामा हालेर लगेको पैसा भेटिएन, बैंक सुरक्षामा प्रश्न ! (भिडियो) 

४ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंक लिमिटेडको पर्सा, वीरगञ्जस्थित बाइपास शाखा भएको भवनमा बेलुकी कोही बस्दैनथ्यो । न सुरक्षा गार्ड, न सो भवनमा अरु कसैको बसाइ । र त लुटेरा समूहले केही समय यता देखि सो बैंक लुट्न रेकी गरिरहेको थियो । सुरक्षा गार्ड पनि नभएको, र बैंकले सजिलै काट्न सकिने टिनको दराजमा पैसा राखेको छ भन्ने सुराकी पाएका लुटेराहरु बैंक लुट्ने योजनाका साथ नजिकै रहेको होटलमा आएर बसेका थिए । र उनीहरुको पूर्ववत् योजना अनुसार बैशाख १६ गते राती उनीहरु बैंक लुट्न बैंकभित्र प्रवेश गरे । 

लुटेरा समूहमध्ये केहीले बाहिर रेकी गरे, कोही भित्र गए । बैंकको ताला तोडेर बैंक भित्र छिरेका उनीहरुले, सुन र फलाम गाल्ने केमिकल प्रयोग गरेर बैंकको दराज फुटाए, १०० र बीसका नोट बोरामा पोको पारे । बाहिर निस्कने बेला बैंकको गेटमा अर्को ताला लगाइदिए र पैसाको एक एक पोको बोकेर झन्डै १ करोड ३४ लाख ६५ हजार रुपैयाँ रुपैयाँ लुटेर भागे । केटाकेटीले सामान्य गेम खेलेको जसरी बैंक लुटियो, तर बैंक लुटिएको ९ घण्टासम्म कसैले सुइकोसमेत पाएन । भोलिपल्ट बैंकको ताला खोल्ने क्रममा नखुलेपछि घटनाको रहस्य खुल्यो । त्यसपछि बल्ल बैंकले प्रहरी गुहार्यो । तर प्रहरी घटनास्थल पुग्दा लुटेराहरु लुटिएको रकम भाग लगाएर आआफ्नो बाटो लागिसकेका थिए ।

त्यसपछि प्रहरीले सिसिटिभी फुटेज हेर्यो । चोरले केही न केहि ठाउँ छोडेको हुन्छ भनेजस्तै फुटेज पछ्याउँदै जाँदा प्रहरीले उनीहरु बसेको होटल पत्ता लगायो । चोरको पनि कहिलेकाहीं त बुद्धि नपुग्ने रहेछ । पक्रिन लेखिएको रहेछ सायद, केहि चोरहरुले त आफ्नो साँचो नम्बर नै होटलमा छोडेका रहेछन् । त्यसपछि त प्रहरीले सो नम्बर ट्रयाक गर्यो, र दुई जनालाई पक्राउ सोही दिन नै गरिहाल्यो, जसमध्ये एक जना घटनाका मुख्य डिजाइनरसमेत थिए ।  

घटनामा संलग्न भारतीय नागरिक भने पैसा पोको पारेर आफ्नो बाटो लागिसकेका थिए । त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी उनीहरुको खोजी गर्यो । घटना घटेको केही समयभित्र नै मोतिहारी प्रहरीले घटनामा संलग्नहरुलाई १८ लाख नेपाली रुपैयाँसहित पक्राउ गर्यो ।

पक्राउ परेका भारतीय नागरिकहरुले त्यहाँको प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरुले लुटिएको रकमबाट केही थान मोबाइल र मोटरसाइकलसमेत खरिद गरेका थिए । तर पक्राउ परेका नेपालीहरुबाट भने अझैपनि पैसा बरामद भएको छैन । बैंकबाट पैसा लुटिएको यतिका समय हुँदा पनि उनीहरु न पैसा कहाँ छ भनेर खुलाएका छन्, न पैसा भेटिएको छ । घटनामा संलग्न एक भारतीय र एक नेपाली जो अहिलेसम्म फरार छन्, पक्राउ परेकाहरुले पैसा उनीहरुसँग छ भनिरहेका छन् ।

भारतीय प्रहरीले घटनामा संग्लनहरुलाई पक्राउ गरी त्यहाँकै कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाएको छ । नेपालमा पक्राउ परेकाहरुबाट पैसा बरामद भएको छैन । २ जना अझै फरार छन् र प्रहरीले तोकिएको म्यादभित्र यो घटनामा संग्लग्नविरुद्ध मुद्धा दायर गर्ने तयारी गरिरहेको छ । तर मुख्य कुरा पैसा, अझै बरामद भएको छैन ।   

धेरैको शंका अझै पनि छ, कतै बैंककै कर्मचारीहरुको मिलेमतोमा त यो लुट भएको होइन ? सामाजिक सञ्जालमा पनि धेरैले यो प्रश्न उठाएका छन् । बैंकका कर्मचारीले बैंक लुटिएको खबर पाउँदासमेत ग्राहकलाई झुट बोलिरहनु, सुरक्षाको प्रबन्ध नमिलाइएको देखिनुजस्ता कारणले पनि सर्वसाधारणले यस्तो शंका गर्ने ठाउँ पाएका हुन् । तर, प्रहरीले भने यस घटनामा बैंकका कर्मचारीको संग्लनता अहिलेसम्म नदेखिएको भनेको छ । बरु समातिएका लुटेराहरु पेसेवर चोर र लुटेराहरु भएको र यसअघि पनि आपराधिक पृष्ठभूमिका रहेका प्रहरीको भनाई छ । 

बैंक लुटियो, गलत भयो । तर यसपछाडि बैंकको कमजोरीलाई पनि नकार्न सकिन्न । एक त लुटिएको रकम नभेटिए पनि बीमाबाट भरपाई भइहाल्छ भन्ने मनोविज्ञानले काम गर्दा बैंकले आवश्यक सुरक्षानीति लिएको देखिएन । अर्कोतर्फ कोभिड पछाडि खर्च कटौतीका नाममा बैंकले सुरक्षा गार्ड नराख्दा बैंकको सुरक्षा स्थिति थप कमजोर बनेको थियो ।

देशमा मन्दी यो हदसम्म लाग्न थालिसक्यो कि अव मान्छेहरु बैंकमा मात्र पैसा छ र त्यही बैंक लुट्नुको विकल्प छैन भन्ने आपराधिक मानसिकता बोक्न थालिसकेका छन् । परिणाम ठाउँ–ठाउँमा बैंक लुटको प्रयास भएका छन् । थाहा छैन, मन्दीले दिएको यो अपराधउद्दत समय कहिलेसम्म र कतिसम्म पर जाने हो, तर बैंक लुट जस्तो संवेदनशील घटना घटेका छन्, भलै बैंकहरु स्वयम् यस्ता घटनामा हुनुपर्नेजति गम्भीर देखिएका छैनन् । नबिल बैंक लुटपाट भएको केही समयपछि नेपाल बैंकमा समेत लुटको प्रयास भएको छ । यसअघि पनि मधेशमा सिटिजन्स बैंक यसरी नै लुटिएको थियो । बैंक लुटिनु जति गम्भीर विषय हो, लुटिएको सबै रकम बरामद नहुनुले अन्य लुटेराहरुलाई पनि बैंक लुट्न प्रोत्साहन गरिरहेको छ । आशा गरौँ, यसपालि नबिल बैंकबाट लुटिएको रकम फिर्ता हुनेछ । बैंकले पनि यो लुट प्रकरणबाट चेत्नेछ र आफ्ना कमजोरीहरु स्वीकार गर्नेछ । (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: