×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यौन दुर्व्यवहारका अभियुक्त प्रधानलाई निर्वाचन आयोगमा नियुक्ति सिफारिस

GLOBAL IME BANK

यौन दुर्व्यवहारका अभियुक्त प्रधानलाई निर्वाचन आयोगमा नियुक्ति सिफारिस

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संवैधानिक परिषद्ले यौन दुर्व्यवहारका अभियुक्त कृष्णमान प्रधानलाई निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस गरेको खुलेको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले काठमाडौं महानगरपालिका-११ बबरमहलका प्रधानलाई निर्वाचन आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संविधानको धारा २४५ को उपधारा ६ बमोजिम निर्वाचन आयोगको आयुक्त हुन आवश्यक पर्ने योग्यतामा ‘उच्च नैतिक चरित्र भएको’ व्यक्ति हुनुपर्ने उल्लेख छ । तर संवैधानिक परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा नैतिक पतन हुने गरी फौजदारी अभियोगमा अदालतमा मुद्दा दर्ता भएर अदालती प्रक्रियाबाट मिलापत्रको फैसला गराएका प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए । सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ ।

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुअघि व्यक्तिको वैयक्तिक विवरणलाई राम्रोसँग अध्ययन समेत नगरी संवैधानिक पद र गरिमाको अवमूल्यन हुने गरी यौन दुर्व्यवहारको मुद्दा लागेका व्यक्तिलाई सिफारिस गरेको भन्दै आलोचना भएको छ । संवैधानिक परिषद्को सिफारिसपछि अब प्रधानको नियुक्तिका विषयमा संसदीय सुनुवाइ हुने व्यवस्था छ । संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति हुने पदहरुमा नियुक्त हुनुअघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था गरेको छ ।

संघीय संसद्का सदस्यहरु सम्मिलित संसदीय सुनुवाइ समितिमा छलफल हुँदा दुई तिहाइ बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने व्यवस्था छ । यौन दुर्व्यवहारको मुद्दा चलेका प्रधानलाई अब संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले निर्वाचन आयोगको सदस्यमा नियुक्त गर्नेछन् । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक नियुक्तिको विवाद अहिलेसम्म टुंगिएको छैन । त्यसबेला संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अध्यादेश ल्याएर नियुक्ति गरिएकोमा सो सम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

विगतको नियुक्तिसम्बन्धी विवाद कायमै रहेका बेला प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन, विपक्षी दल नेपाली कांग्रेस र अन्य संवैधानिक निकायका प्रमुखहरूलाई समेत साक्षी बनाएर यौन दुर्व्यवहार मुद्दाका अभियुक्तलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गराएका छन् ।

हाल काठमाडौँको बबरमहलका स्थायीबासी प्रधान नुवाकोटका हुन् । उनी २०२४ साल भदौ ११ मा नुवाकोटको चन्दनीमा जन्मेका हुन् । उनी नेपाल कानून समाजमा २०४८ सालदेखि निरन्तर कार्यकारी निर्देशक छन् । उनी ग्रामीण विकास प्रतिष्ठानको अध्यक्षमा समेत २०५० सालदेखि निरन्तर छन् । (केशवप्रसाद बोहरा/नेपाल न्यूज बैंक)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: