×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङको चिरफार (भाग-२): आईपीओबारे लेखा समितिको चासो, क-कसको मिलेमतो ? (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL

रिलायन्स स्पिनिङको चिरफार (भाग-२): आईपीओबारे लेखा समितिको चासो, क-कसको मिलेमतो ? (भिडियो ब्रिफिङ)

२६ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौँ । सडकदेखि संसदीय समितिसम्म, नेपाल धितोपत्र बोर्डदेखि, ब्रोकर हाउससम्म, नेप्सेदेखि लगानीकर्ताका भेटघाटसम्म । मर्चेन्ट क्यापिटलदेखि सेयर बजारसँग सरोकार राख्ने जुनसुकै भेट, र जम्काभेटमा अहिले चर्चा छ त केवल रिलायन्स स्पिनिङ मिल्सको आउन लागेको ऐतिहासिक महँगो आईपीओको । चर्चा नहोस् पनि किन, कमजोर कम्पनी, त्यसमाथि पनि सम्भावित दायित्वको भार बोकेर, लगानीकर्तामाझ आउन लागेको कम्पनीको आईपीओको मूल्य यसै त उग्र बढी छ, त्यसमाथि सो कम्पनीको आइपिओ निष्कासनमा जताततै सेटिङको गन्ध छ । एउटा कमजोर कम्पनी, जसको नाफा असनको एउटा पसलले गर्ने जति पनि छैन । इपीएसको कुरै छोडौँ, ५४.३४ रुपैयाँबाट २.०८ मा झरेको छ । करोडौं रुपैयाँ विद्युत प्राधिकरणको सम्भावित बक्यौता छ, बक्यौता तिर्नुपर्ने भएको खण्डमा कम्पनी पूरापूर घाटामा जान्छ, बक्यौता तिर्नुनपर्ने भए पनि यही गतिमा कम्पनी अगाडि बढे जनताको पैसा उठाउनेबित्तिकै घाटामा जान्छ । अनि प्रचलित कानुनी व्यवस्था अनुसार तत्काल रोकिनुपर्ने आइपीओ रोक्नुपर्यो भनेर लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड, आइक्यान, नेपाल प्रहरी लगायतका निकायमा रुवाबासी गरिरहेका छन् । तर अभिभावक बन्नुपर्ने धितोपत्र बोर्डले नै रिलायन्सको कैफियतमा आँखा चिम्लिँदा लगानीकर्ताको पैसा बालुवामा पानी बन्ने निश्चित छ । र त चर्चा र प्रश्न चौतर्फी छ, आखिर यस्तो झुर कम्पनीले जनताबाट प्रतिकित्ता ८२१ रुपैयाँ उठाउने अनुमति कसरी र कसको स्वार्थमा पायो ?

लगानीकर्ताले चर्को आवाजमा भनिरहेका रहेका छन्, आईपीओबारे बुझ्ने सर्वसाधारण निकै कम छन् । अझ बुझेर मात्र लगानी गर्नेहरु झन् कम छन् । त्यसैले तत्काल रोक्नुपर्छ यस्ता कम्पनीका आईपीओ र बचाउनुपर्छ सोझा लगानीकर्ताहरुलाई । तर, आम सर्वसाधारणका कुरा कसले सुन्ने ? रक्षक नै भक्षक भएजसरी नियामक नेपाल धितोपत्र बोर्डले नै आँखा चिम्लिएपछि कसले रोक्ने सेटिङ् ? कसले रोक्ने मनपरी ?

यो देशमा कानुन कसैको पकेटमा राखेर हिड्ने हैसियत हुन्नथियो भने रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया तत्काल रोकिनुपर्थ्यो । कारण, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १३ को उपनियम ४ ले विवरण पत्रमा उल्लेख भएको विवरण भन्दा धेरै फरक परेमा सेयर निश्कासन रोक्न सक्ने स्पष्ट व्यवस्था गरेको छ । नेपाल धितोपत्र बोर्ड लगानीकर्ताका पक्षमा अलिकति पनि सँगै हुन्थ्यो भने यो कम्पनीको आईपीओ तत्काल रोकिनुपर्थ्यो । रिलायन्सले विवरणपत्रमा दिएको वित्तीय विवरण र अहिले प्रकाशन गरेको वित्तिय विवरणमा आकास पातालको ऋणात्मक फरक परेको छ । एउटा विवरण देखाएर आइपीओको स्वीकृति लिने अनि पछि स्वात्तै इपीएस घटेको देखाएर आफ्नो असली अनुहार देखाउने । अहिले नै यस्तो छ भने जनताको पैसा उठाईसकेपछि झन् के होला ? यसअघिका घटनाले प्रष्ट पार्छ, जनतासँग पैसा उठाईसकेपछि अझ कम्पनीको थप असली रुप बाहिर आउनेछ, र कम्पनी घाटामा गएको, र रहेको प्रष्ट हुनेछ ।

यसो त यस विषयमा माननीयहरुले पनि कुरा नउठाएका होइनन् । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको विषय अर्थ समितिको बैठकमा पनि उठेको छ । बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले धितोपत्र बोर्डमार्फत सबै कम्पनीको आईपीओ रोकिएका बेला रिलायन्स स्पिनिङ मिल्सले मात्रै आईपीओ निष्कासनको अनुमति कसरी पायो भन्दै प्रश्न उठाएका छन् । सांसद खड्काले कम्पनीको वित्तीय अवस्थाले पनि कम्पनीले जारी गर्न लागेको आईपीओको मूल्यको औचित्य पुष्टि नहुने प्रष्ट बोलेका छन् । हुन पनि यो कम्पनीको वित्तीय विवरण हेर्दा कम्पनीको मूल्य ८२१ रुपैयाँ हुनुपर्ने कुनै कारण देखिंदैन । र पनि केहि मुठीभरका संस्थागत लगानीकर्ताहरुको सेटिङमा जनताबाट महँगो मूल्यमा सेयर भिडाउने काम हुँदैछ ।

यति कमजोर कम्पनीलाई ९१२ रुपैयाँ हाल्न संस्थागत लगानीकर्ताहरु कसरी तयार भए र धितोपत्र बोर्ड यस्तो मनपरीको साक्षी कसरी भयो भन्ने प्रश्न चौतर्फी उठेको मात्र छैन, यसमा नेपाल धितोपत्र बोर्डका हाकिमको गोजी राम्रैसँग भरिएको हुनुपर्छ र सबै काम मिलेमतोमै भएको छ भन्ने आवाज सेयर लगानीकर्ताहरुको छ । र त उनीहरुले वित्तीय विवरण सदर गर्ने सिएविरुद्ध सिएहरुको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था, कमजोर कम्पनीले वित्तीय विवरण छेडखानी गरेको भन्दै नियामक नेपाल धितोपत्र बोर्ड उजुरी दर्ज गरेका छन् । तर, सबै काम मिलेमतोमै भएपछि कसले कसलाई छेक्ने ? कसले कसलाई रोक्ने ? यस्तो लाग्छ, यो देशमा लुट चलिरहेको छ । जनताको खल्ती खाली हुँदा मुट्ठीभरका मान्छेको मुटु धपधप बलिरहेको छ ।

यो कम्पनीको आइपीओमा ९१२ रुपैयाँ बोलकबोल गरेका १८ वटा संस्थागत लगानीकर्ताले सेयर पाएका थिए । तर, यी १८ वटा संस्थागत लगानीकर्तामध्ये अधिकांश म्युचुअल फन्डहरुलाई जम्मा ३ वटा क्यापिटलले व्यवस्थापन गर्दै आइरहेका खुलासा भएको छ । अनि एउटै संस्थाले सञ्चालन गरेका म्युचुअल फन्डहरुले नै सेयर सकारेपछि कम्पनीको बारेमा अध्ययन भएर भाउ दिईएको भन्दा पनि सबै काम मिलेमतोमै भएको थप शंका गर्ने ठाउँ छ । सायद उनीहरुलाई लाग्दो हो, बोर्ड त हाम्रो गोजीमा छ, हाम्रो खोजी कसले गर्छ र ? तर सबै लगानीकर्ता भेडा छैनन् । र त केहि जागरुक लगानीकर्ताहरु यस विरुद्ध विभिन्न निकायमा खुलमखुला भएको यो भ्रष्टाचार र जनता लुट्नेगरी भएको सिण्डिकेट अन्त्य गर्नुपर्छ भन्दै आवाज उठाईरहेका छन् ।

तर मुठीभरका मान्छे मिलेर जनतालाई कंगाल बनाउने योजना बनाउँदा पनि धितोपत्र बोर्ड बरु उतैतिर मिलेको छ, जनताका पक्षमा सिन्को भाँच्ने काम गरेको छैन । कम्पनी, अन्डरराइटर, मर्चेन्ट बैंकर र धितोपत्र बोर्ड मिलेर खुलेआम बदमासी गरेको देखिने प्रसस्त आधार हुँदा पनि यस विषयमा न मै हुँ लगानीकर्ताको नेता भन्नेहरु बोलेका छन्, न यस्ता कम्पनीहरुलाई जनता लुट्न दिनबाट रोक्नुपर्छ भनेर कसैले बदमासीको पोल खोलेका छन् । बोलुन् पनि कसरी, आफुलाई लगानीकर्ताका नेता हुँ भन्नेहरुको नेतागिरीको उद्देश्य के हो भन्ने कुरा जनताले बुझेकै छन् ।

अव कुरा गरौँ, कम्पनीले लुकाएको तर ओपन सेक्रेटजस्तै रहेको कम्पनीको बक्यौता रकमको । नेपाल विद्युत प्राधिकरणको तर्क छ, रिलायन्स स्पिनिङ मिल्सले प्राधिकरणलाई करोडौँ बक्यौता तिर्न बाँकी छ । कम्पनीको दाबी छ, अहँ हामीले यो रकम तिर्नुपर्दैन । र यो केस, अहिले अदालतमा विचाराधीन छ । कथमकथाचित यो रकम कम्पनीले तिर्नुपर्यो भने कम्पनी घाटामा मात्र होइन, चरम घाटामा जाने निश्चित छ । अर्कोतर्फ अदालतमा विचाराधीन भएको विषयमा वित्तीय विवरणमा सो रकम प्रोभिजनिङ गर्नुपर्ने हो, तर गरिएको छैन । यसले पनि कम्पनीको वित्तीय विवरण कतै झुटको पुलिन्दा त होइन ? भन्ने प्रश्न स्वाभाविक रुपमा उठाएको छ । तर कम्पनी, सकेसम्म पैसा तिर्दैनौं, तिर्नैपरे पनि हाम्रा लागि त्यो ठुलो कुरा होइन भन्ने दम्भ पालेर बसेको छ । 

कुरा बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने पीर हो । केहि संस्थागत लगानीकर्तासँग मिलेर माथिल्लो मूल्य दिन लगाउँदा जनता लुट्ने लाइसेन्स पाइन्छ भन्ने नजिर स्थापित होला कि भन्ने पीर हो, आम लगानीकर्तालाई । अनि पीर हो, जसले जे गर्न पनि मिल्ने हो भने, डण्डा चलाउनुपर्ने धितोपत्र बोर्ड नै फण्डा गर्नेहरुको मिलेमतोको फन्दामा रहरले फस्ने हो भने, आम सर्वसाधारणका पक्षमा को बोल्ने ?   

कुरा प्रष्ट छ, एउटा कमजोर कम्पनीको मूल्य ८२१ रुपैयाँ तोक्ने कथित सिष्टम नै भ्रष्ट छ । तर पाप धुरीबाट कराउँछ भनेजस्तै एकदिन यस्ता भ्रष्टका पाप पनि कराउनेछन् । बर्षौं पूरानो गिरीबन्धु, र बाँसबारी प्रकरण त ब्युँझिए पनि तात्त्तातो यस्ता प्रकरण छिट्टै नब्युँझिएलान् भन्न सकिन्न । यो देशमा अख्तियार अझै ज्युँदैछ, सेयर बजारमा पनि कुनै दिन बालेनजस्ता नेता आए भने सेटिङ गर्नेहरुको हरिबिजोग हेर्न लायकको हुन्छ भन्ने कुरामा कुनै शंका छैन ।

अव बुझौँ, के रिलायन्स स्पिनिङ कम्पनीको भाउ सूचीकृत भएपछि बढ्दै बढ्दैन त ?

किन नबढ्नु ? यस्तै पत्रु कम्पनीका दिन आएका छन् सेयर बजारमा । यसै पनि सेयरको कित्ता कम छ, कर्नरिङ गर्न ढुकेर बसेकाहरु भोको बाघले सिकार खोजेजसरी पैसा सोहोर्न बसेका छन् । ७२ घन्टे ट्रेडरहरु तिनकै पछि छन् । तर सेयर बजारबारे धेरै नबुझेका र टुप्पो टुप्पोमा फस्ने बानी परेका अध्ययन विनाका दुखी आत्माहरुदेखि सोझा लगानीकर्ताहरु यो सेयरमा जरुर फस्नेछन् । मुठीभरका मान्छेले मनग्य कमाई गर्दा धेरैको घरबार चुडिनेछ । जसरी कुनै बेला यस्तै धागो उत्पादन गर्ने कम्पनी ज्योति स्पिनिनिङ मिल्स पूरापूर डुब्यो, लगानीकर्ताको करोडौँ डुब्यो, सोझा  सर्वसाधारणको त झन् घरबारै डुब्यो, यो कम्पनी पनि त्यसैगरी नडुब्ला भन्न सकिन्न ।

अव तपाईं भन्नुहोला, अहिलेचाहिं सेयर भरौं, तिनै खेलाडीहरुले भाउ बढाउनेबित्तिकै म सेयर बेचिहाल्छु नि । ओहो ! बजार त्यति सजिलो हुन्थ्यो भने त किन मान्छेका घरबारी सकिन्थे होला र ? किन सेयर बजारबाट बिरक्तिएर मान्छेहरुले पासो लगाउँथे होला र ? तपाईं आम सर्वसाधारण भन्दा बाठा, अझ हजारौं गुणा बाठा ती खेलाडीहरु छन्, जसलाई तपाईंलाई बाख्रालाई घाँस देखाएर, गर्धन कसरी छिनाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । त्यसैले ख्याल गरौँ । अहिले सोचविचार गरौँ, डुबेपछि रोइकराई गर्नुको कुनै पनि तुक छैन । किनकि बुक बिल्डिङका लुपहोलहरु टेकेर सेयरको मूल्य बढाएको रिलायन्सको आईपीओ कुनै दिन स्क्याम प्रमाणित नहोला भन्न सकिने अवस्था छैन ।  

अव यति भनिसकेपछि पनि तपाईं रिलायन्स स्पिनिङ मिल्सको आईपीओ त भर्ने हो भन्नुहुन्छ भने तपाईंलाई रामराम वाला गुड लकबाहेक के नै भन्न सकियो र ! पैसा तपाईंको, इक्षा तपाईंको, घाटा भए घाटा पनि तपाईंको, नाफा गर्न सके नाफा पनि तपाईंको । तर कुरा, दुई चार हजार नाफा घाटाको भन्दा पनि विधिको हो, कानुनको हो । मिलेमतोमा जे पनि गर्न मिल्छ र ? भन्ने प्रश्नको हो । त्यसलाई साथ दिने कि नदिने भन्ने विवेकको हो । बाँकी त आगे तपाईंकै मर्जी । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी