×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुलमा नगर्नुस् यी भूल, यति कुरा बुझे फुट्न सक्छ धनको मूल, शिव चन्द्र र देव गुरागाईंका टिप्स (भिडियो) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुलमा नगर्नुस् यी भूल, यति कुरा बुझे फुट्न सक्छ धनको मूल, शिव चन्द्र र देव गुरागाईंका टिप्स (भिडियो) 

Artha Sarokar

१५ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा रौनकता बढेको मात्र छैन, जताततै सेयर बजारकै चर्चा छ । हुन त बुलमा हुने यस्तै पनि हो । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएपछि चौतर्फी बजारको चर्चा मात्र बढेको छैन, हराएको मेरो सेयरको पासवर्ड खोज्ने र नभेटिए परिवर्तन गर्नेहरुको संख्या बढेको छ । बजारमा बुलिस लयको संकेत देखिएपछि सेयर बजारबारे जान्न खोज्नेहरु बढेका छन् । सेयर कारोबार गर्नेहरुलाई एकाबिहानैदेखि मध्यरातसम्म आज के किन्ने र भोलि के किन्ने भन्ने प्रश्न सोधिने क्रम बढेको छ । तर सेयर बजार जति सुन्दर छ, त्यति निर्मम पनि छ, तपाईं सहि वा गलत हुन सक्नुहुन्छ तर बजार गलत कहिल्यै हुन सक्दैन भन्ने तथ्य नबुझेकाहरुका लागि यो बजारले पीडा दिने ठाउँ पनि त्यति नै छ । त्यसैले यस्तो बेला जानकारहरुका कुरा सुनेर, बुझेर लगानी गरे पक्कै बजारले रिटर्न दिन सक्छ । बजार जतिजति माथिल्लो बिन्दुमा चढ्दै, त्यति नै तरकारी बजार, चिया पसलदेखि ठूलाठूला व्यापारिक गृहसम्म सर्वत्र सेयर बजारकै चर्चा हुन्छ । एक कान दुई कान हुँदै यसको आकर्षणमा पनि वृद्धि हुन्छ । तर बजारमा प्रवेश गरेर मात्र हुँदैन, कमाएर फर्किनेहरुलाई मात्र बजारले खुसी दिन्छ । त्यसैले नयाँ लगानीकर्ताले सेयर बजारमा प्रवेश गर्नपूर्व ध्यान दिनुपर्ने केही सामान्य तर महत्वपूर्ण कुराहरु बुझ्न जरुरी छ ।

यस्ता छन् सेयर गुरु शिव चन्द्रका केही टिप्स:

१. लगानी गर्नपूर्व आफुमा आत्मबल बढाउन एउटा लिस्ट बनाएर राजनीतिक आर्थिक तथा बजारसँग सम्बन्धित आन्तरिक सकारात्मक तथा नकारात्मक पक्षहरुको चार्ट बनाई दुई अवस्था बीच तुलना गर्नुहोस् । यसले तपाईंलाई लगानी गर्ने वा नगर्ने भन्ने निर्णय लिन अत्यन्त सहज हुन्छ ।

२. सबैभन्दा पहिले दोस्रो बजारको कारोबार प्रकृयामा अरुको भर नपरी आफैं प्रष्ट हुनुहोस् । थोरैथोरै रकमले दुईचार पटक प्रयोग अर्थात अनुभव गर्नुहोस् ।

३. सुरुमै ऋण लिएर कारोबार गर्ने बारे नसोची आफ्नो बचतको केही अंशलाई परिचालन गर्नुहोस् ।

४. तपाईंले कसैलाई कुन सेयर राम्रो भनेर प्रश्न गर्दा सबैले आफूसँग भएको सेयर नै राम्रो भन्ने गर्दछन् । तसर्थ कारोबारको लागि आफै नै सक्षम हुनुहोस् । कम्पनीको EPS, PE Ratio, Networth, Supply of shares, Dividend history, Daily top 10 trading stocks, म्युचुअल फण्डहरुले होल्ड गरेका कम्पनीहरु ईत्यादीको अध्यान गर्न कुनै महाभारत छैन । यस विषयलाई विशेष ख्याल गर्नुहोस् ।

५. विभिन्न मिडिया, सामाजिक संजालहरुको पूर्णरुपमा भर नपर्नुहोस् । विभिन्न माध्यमबाट प्राप्त सूचनाहरु भेरीफाई र फिल्टर गर्न आफुलाई सक्षम बनाउनुहोस् ।

६. आफुले लगानी गरिसकेपछि तुरुन्तै सोचे अनुरुप परिणाम नआउन पनि सक्छ । बजारको आन्तरिक तथा बाहृय कारण क्षणिक उथलपुथल आउन सक्छ त्यतिबेला मनोबैज्ञानिक रुपमा आफुलाई मजबुत बनाउँदै लगानी गर्दा ताकाको आफ्नो उदेश्य र जोशलाई बचाई राख्नुहोस् ।

७. प्राय: प्राविधिक बिश्लेष्लण (Technical Analysis) गरेर लगानी गर्नेहरुले कम्पनीको आधारभुत पक्षलाई खासै महत्व दिदैनन्। प्राविधिक बिश्लेष्लणबाट गरिने लगानी क्षणिक र छोटो अवधीको लागी गरिने हुँदा यसमा कम्पनीहरुको कारोबारमा प्राबिधिक पक्षलाई मात्र बिशेष प्राथमिकता दिईन्छ। नयाँ लगानिकर्ताले नबुझिकन प्राबिधिक बिश्लेषणको आधारमा लगानी गरी समयलाई क्लिक गर्न नसक्ने हो भने ‘आँखा झिमिक्क माल गायव’ भनेझैं नराम्रोसँग डुबिन्छ। तसर्थ लगानिको लागी प्राथमिकतामा कम्पनीहरुको आधारभुत पक्षलाई नै राख्नुहोस्।

८. बजारमा कसैले नकारात्मक अफवाह फैल्याउँदै छ भने बुझ्नुस्, उ सेयर बिक्री गरेर खरिदको अवसर कुरेर बसेको छ । त्यस्तै कुनै कारण बिना बजारको उचाई मात्र देखाउँदै छ भने बुझ्नुस्, उ बिक्री गर्ने मौकाको पर्खाईमा छ । यी दुवै कुरालाई विशेष ख्याल गर्नुहोस् ।

९. अल्पकालामा जग नभएका कम्पनीबाट पनि नसोचेको कमाई होला । तर कुनै समयमा जुवाबाट कमाएँ भन्दैमा जुवालाई नै करीयर बनाउने बारे नसोच्नुहोस् यसले तपाईंलाई कालन्तरमा ठुलो पीडा दिन्छ। बित्तिय रुपमा बलियो र निरन्तर रुपमा लाभांश दिने कम्पनी रोज्दा छोटो समयमा नसोचेको कमाई नदेला तर कालान्तरसम्म जिवन सहज हुनेछ ।

१०. सेयर बजारको एक पाटो जती सुन्दर हुन्छ अर्को पाटो त्यती नै निर्मम, कुरुप र निर्दयि हुन्छ । यसले साना, ठुला, नयाँ, पुराना सबैलाई एउटै ब्यवहार गर्दछ। बजारले “यो चाहिं गरिव छ, यो समस्यामा छ, यसको ऋण छ यसलाई बचाईदिउँ” भनेर भन्दैन भन्ने कुरामा लगानी गर्नु पुर्व नै प्रष्ट हुनु जरुरी छ।

अब सेयर बजारका अनुभवी लगानीकर्ता देव गुरागाईंको टिप्स पनि हेरौँ:

१. घटेको बजारमा क्रमश: थोरै थोरै मात्रामा कम्तीमा ५-१० कम्पनीहरुको सेयर रुटिन बनाएर खरिद गर्दै जाने, जति जति बजार घट्छ उति उति तिनै सेयर थप्दै जानुहोस्। नआत्तिनुहोस् । बढेको बजारमा विशेष ख्याल गर्नुहोस् । बजार सधैं घटिमात्र रहँदैन र सधै बढी मात्र पनि रहँदैन भन्ने कुरा मनन गर्नुहोस् ।

२. बजार बढेको बेला पहिले किनेको सेयरमा १०/१५% नाफा आएमा बेच्ने पनि गर्नु पर्दछ । किनकि किन्न मात्र जानेर हुँदैन सेयर बेच्न पनि जान्नु पर्छ । सम्भावना आयो भने सोही सेयर पुनः कारोबार गर्न सकिन्छ ।

३. सेयर आफैले किन/ बेच गरिसके पछि एक किसिमको आत्मानुभूति वा अनुभव महसुस हुन्छ । सेयर किनेर भन्दा पनि सही समयमा बेच्न नजानेर धेरै मानिसहरु बजारमा फस्ने गर्दछन् । स्वअध्ययन, आफैले बुझेर जानेर सेयर किन/बेच गरेमा त्यो बढी फाईदाजनक हुन्छ । त्यसैले, आत्माविश्वास नबढुन्जेल, जोखिम सहने क्षमता नभइन्जेल सकभर ऋण काढेर सेयर किनबेच नगर्नुहोस् ।

४. सेयरबजारमा १००% पोख्त त कोही पनि हुँदैन, सिक्दै सिक्दै अघि बढ्दै जानु पर्दछ । तर भीडको पछि होइन अगाडि लाग्न जान्नु पर्छ । यो कुरालाई विशेष ख्याल गर्नुहोस् ।

५. चलाख लगानीकर्तालाई धेरै कुरा आफैलाई थाहा हुँदै जान्छ, धैर्यता गर्ने क्षमताको वृद्धि हुँदै जान्छ, जोखिम लिन सक्ने क्षमताको वृद्धि हुँदै जान्छ, विश्लेषण गर्ने क्षमता बृद्धि हुँदै जान्छ, कुनै कम्पनीको नाम सुन्न साथ त्यो कम्पनी के कस्तो हो भनेर तुरुन्त आँकलन गर्न सकिन्छ, आर्थिक अवस्थाको बारेमा र त्यसको प्रभावको बारे आँकलन गर्न सकिने भईन्छ । यति भइसके पछि सेयर कारोबार गर्न कसैको सहयोग नचाहिन सक्छ । अनि आफूले धान्ने सम्मको ऋण लिएर बजार घटेको अवस्था लगानी गर्न सकिन्छ । यो विषयलाई विशेष ख्याल गर्नुहोस् ।

६. धेरै कारणले सेयरको मूल्य तल माथि भइरहेको हुन्छ । तर कम्पनीको मुख्य सूचकहरु (Key financial Indicators) को ख्याल भने सधै गर्नै पर्छ । कुनै अवस्थामा सेयर बजार ट्रेन्डलाई लगानीकर्ताको मानोविज्ञानले पछ्याएको पनि पाइन्छ त्यो पनि बुझ्न जरुरी हुन्छ । अर्थतन्त्र विशेषत तरलताको अवस्थाले बजारलाई धेरै प्रभावित गरिराख्य हुन्छ त्यो बुझ्नुपर्छ ।

​​​​​​​जसरी कालो रातपछि सुनौलो दिन जरुर आउँछ त्यसैगरी विहानी, दिउँसो, साँझ हुँदै पुन: रात पर्छ भन्ने कुरा बिर्सनु हुँदैन । विहान के गर्ने, दिउँसो के गर्ने, रातमा के गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । सेयर बजारमा पनि त्यस्तै हो । यति बेला बियरिसरुपी रात सकिएर बुलको विहानी सुरु भएको छ । विहान जोस देखाएर दिउँसो सुत्दा त्यसले स्वास्थ्यमा असर गरेजस्तै विहान के ठिक मात्रामा गर्ने र दिउँसोको तयारी गर्नुपर्छ । दिउँसो हुँदैगर्दा अव साँझ नै पर्दैन, रात त झनै आउँदैन भनेर सोच्नु झन् भुल हुनेछ । त्यसैले अहिले विहानको कर्म गरौँ । दिउँसो सुत्ने होइन, झन् जागरुक बनौं । सांझमा सचेत बनौं । रातमा सुतौं । तर प्राय सेयर बजारमा लगानीकर्ताहरु विहान बढी उग्र बन्छन्, पैसा सकिएपछि दिउँसो तनावमा बस्छन् । साँझ परेपछि ऋण गरेरै पनि सक्रिय हुन्छन् र रातमा तनाव लिन्छन् । यस्तो व्यवहार गर्ने लगानीकर्ताले बजारमा खाने घाटा नै हो । त्यसैले तपाईं पनि सचेत बन्नुहोस् । बजार घट्छ, बढ्छ, यो स्वाभाविक प्रक्रिया हो । तनाव घटाउने र पोर्टफोलियो बढाउनेगरी लगानी गरियो भने मात्र सेयर बजार सुन्दर छ । यो कुरालाई विशेष ख्याल गर्नुहोस् । बाँकी त, हामीले भन्दै आएका छौँ, कुरा सबैको सुन्नुहोस्, तर लगानी आफुले बुझेर मात्र गर्नुहोस् । किनकि पैसा तपाईंको, लगानी तपाईंको । नाफा हुँदा नाफा पनि तपाईंको, घाटा भए, घाटा पनि तपाईंको । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी