×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिनको दुई रुपैयाँमा काम गर्थे प्रकाश मोक्तान, सानो प्रयासले काले बन्न सक्छन् करोडपति ! (भिडियो) 

LAXMI SUNRISE BANK
GLOBAL

दिनको दुई रुपैयाँमा काम गर्थे प्रकाश मोक्तान, सानो प्रयासले काले बन्न सक्छन् करोडपति ! (भिडियो) 

१२ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा काश ‘काले’ मोक्तानको कथा चर्चामा छ । बर्षौंअघि हराएको कालेले बा भेटेपछिको खुसीको दृश्यले धेरैलाई रुवाएको छ । कालेले आफ्नै आमा नचिनेको, चिनेपछि ढोगेर रोएको, मरिसक्यो भन्ने ठानिएको छोरो बर्षौंपछि गाउँमा आएपछि बाउको खुसी र आँशु, सँगै जिन्दगीका अनेक उकाली ओरालीहरुमा प्रकाश कालेले भोगेको कथा समेटिएको सो कथा यति मार्मिक छ कि मानौँ, यो फगत एउटा कथा होइन, कथा बोकेको इतिहास हो । एउटा फगत एउटा फिल्म होइन, बरु आफैँमा पत्रकारिताको उत्कृष्ट नमुना हो ।

चुम भ्यालीमा फुन्जोको कथा गर्ने बेलामा विद्या चपागाईँले भेटेका काले नेपालकै माटोमा सन् १९९० को दशकको मध्यतिरबाट हराएका थिए । ‘काले’ बाट ‘प्रकाश’ बनेका कालेको जीवन्त कथा ‘हराएका वर्षहरु’ शीर्षकमा विद्या चापागाइँले उतारेको कथा हेर्दा पटकपटक गला अवरुद्ध हुन्छ, कथा हेर्दा पटक पटक आँशुले गाला भेट्छ, मनले चिसोपन भेट्छ । प्रकाश कालेले बा आमा भेटेको कथामा दर्शकले आफ्‍नोपन भेट्छन्, आफ्नै नेपाली कथा भेट्छन्, आफ्नैजस्तो दुख भेट्छन्, कालेको बाआमा मिलनबिन्दुमा चरम सुखको शान्ति पनि भेट्छन् ।

अहिले हेर्ने कथामार्फत प्रकाशको कथा सार्वजनिक भएपछि उनका बारे ठुलो जमातमा चर्चा परिचर्चा सुरु भएको छ । उनको कथा युट्युबमा मात्र ट्रेन्डिङमा परेको छैन, बरु समाज चर्चामा पनि पात्र उही प्रकाश छन् । चोकचोकमा गल्लीगल्लीमा, चिया पसलहरुमा, अफिसका क्यान्टिनहरुमा, अन्य गफहरुमा चर्चा उही प्रकाश, उही प्रकाश कालेका साहु, प्रकाशकी आमा, र हेर्ने कथा टिमको छ । यतिसम्मकि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो कथाको ठुलो प्रशंसा गरेका छन् र प्रकाशलाई भेट्न चाहेका छन् । अभियानताहरुले प्रकाशमाथि अन्याय, श्रम शोषण र आर्थिक ज्यादती भएको भन्दै उनको पक्षमा वकालत गरिरहेका छन् । कतिपयले त उनको पक्षमा लड्ने र उनलाई सहयोग गर्ने अभियान सुरु गरिरहेका छन् । कतिपयले उनको भविष्यका लागि आर्थिक संकलन गर्ने अभियान सुरु गरेका छन् ।

गोर्खाको चुम भ्यालीदेखि हाम्रो भोजपुरको साम्पाङ छाप्लेगाउँसम्म प्रकाशको यात्रा हेरेर पटक पटक रोएका जनताले अहिले सोधिरहेका छन्, ’प्रकाशले कसरी न्याय पाउलान् ? के उनीमाथि गरिएको श्रमशोषणविरुद्ध बोलिदिने कोहि छैन त ?

हुन पनि प्रकाशले आफ्नो पछिल्लो अवस्था बारेमा हेर्ने कथासँग भनेका रहेछन्, ‘नागरिकता बनाउन खोजेको तर भएन । गाउँमा जति दुःख गरे पनि केही नहुने । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।’

हेर्ने कथाका अनुसार सन् १९९० देखि यता झन्डै ३४ वर्ष साहुको काम गरेका रहेछन् । त्यस बापत उनले साहुबाट जम्मै दुई पटक गरेर १ लाख ६५ हजार पाएछन् । चुम भ्यालीको छेकम्पारमा कष्टदायी र कठोर परिश्रम गरे बापत साहुबाट दिनको १ रुपियाँ ३२ पैसा पाएको देखिन्छ । यो भनेको त श्रम शोषणको पनि पराकाष्टा हो । मासिक एक हजारले मात्रै हिसाब गर्ने हो भने उनको पारिश्रमिक ४ लाख ८० हजार हुन्छ । साहुले बर्षौं अघि र अहिलेको एभरेज गरेर पैसा दिने हो भने पनि कम्तीमा पनि मासिक ५ हजार रुपैयाँको हिसाबले पैसा दिंदा पनि प्रकाशले २० लाख ४० हजार पाउनुपर्ने हो । आशा गरौं, साहुले सो रकम दिनेछन् । किनकि यो प्रकाशले पाउनुपर्ने पैसा हो ।

हेर्ने कथासँग प्रकाशले भनेका छन्, ‘खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । दशैंमा फेरि भोजपुर जाने सोचेको छु ।’ अर्थात, प्रकाश भोजपुर फर्किन चहान्छन् । नागरिकता बनाउन चहान्छन् । यो देशको नागरिकले नागरिकता पाउनुपर्छ, यसमा कुनै इफ बट हुनुहुँदैन । प्रकाश नेपाली हो, नेपालमै जन्मिएको हो, नेपालमै छ । त्यसैले पनि छिटो भन्दा छिटो उसले नागरिकता पाउनुपर्छ । जिन्दगीका अनेक उकाली ओरालीहरु चढ्दै, ओर्लंदै उसले पूरै जिन्दगी हिमालमा बिताएको छ । यो मेहेनतको सम्मान हुनुपर्छ । काठमाडौँमा विभिन्न पेशामा आवद्ध भोजपुरेहरु छन् । विदेशमा पनि छन् । अझ कुरा भोजपुरे भूगोलको मात्र होइन, नेपालीत्वको पनि हो । त्यसैले पनि प्रकाशको सम्मानजनक जीवनका लागि हामी नेपालीहरु जुट्नुपर्छ ।

अभियानताहरुले भनिरहेका छन् अव भोजपुरको साम्पाङ छाप्लेगाउँमा एउटा घर प्रकाशका लागि बनाईदिनुपर्छ ।गरीखाने अलिकति घरखेत जोडीदिनुपर्छ । उसको सिप नै बस्तुभाउमा भएकाले केही बाख्रा र बस्तुभाउ किनीदिनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई भेट्न चाहेका छन्, उनका थप कथा सुन्न चाहेका छन् । यसरी हेर्दा उनलाई सरकारले कुनै न कुनै रुपमा वा प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग गर्न खोजेको देखिन्छ । स्वयम् सरकारका लागि यो एउटा अवसर पनि हो । प्रकाश त एक उदाहरण मात्र हुन् । यसरी बर्षौंसम्म हराएका नेपालीहरुको संख्या ठुलो छ । अव उनीहरुको पक्षमा पनि सरकार बोल्नुपर्छ भन्ने पाठ बनोस् हेर्ने कथामा प्रस्तुत भएको हराएका बर्षहरु ।

साहुले दिनुपर्ने पैसा दियो भने, नेपालीहरुले देशविदेशबाट सहयोग गरे भने प्रकाश कालेको हातमा एक करोड रुपैयाँ पर्न गाह्रो छैन । तर कुराले च्युरा भिज्दैन । यसका लागि सबै नेपाली एक जुट हुनुपर्छ ।

हेर्ने कथा टिमलाई हराएका बर्षहरुका लागि साधुवाद छ । बिग सल्युट छ । पत्रकारिताको यो एउटा उत्कृष्ट नमुना त हुँदै हो, सारा संसारले नेपाली पत्रकारिताको संस्कारिक रुप पनि देखिरहेछ, जसले नेपाली पत्रकारिताको शीर ठाडो बनाउने काम गरेको छ । कसकी श्रीमती कोसँग पोइल गई भन्ने कुरामै अड्किएका युट्युबरहरु र फलानो नेताले फलानो कुरा बताउनुभयो भन्ने कुरामै अड्किएका सो कल्ड मेन स्ट्रिम मिडियाहरुले अव हेर्ने कथाबाट पत्रकारिताको सुसंस्कारिक रुप सिक्नुपर्छ ।

अंगुर अमिलो छ भन्ने शैलीमा कतिपयले पैसाका लागि हेर्ने कथाले कथा प्रस्तुत गरेको गलत व्याख्या गरिरहेका छन् । पत्रकारितामा विषय उठान महत्वपूर्ण कुरा हो । जसमा हेर्ने कथा सोर्है आना सफल भएको छ । बाँकी त सरकारलेसमेत ध्यानाकर्षण गरिसकेको, प्रधानमन्त्रीले समेत हेरिसकेको र सारा जनताले पनि मन पराईसकेको कथाले समाजलाई जे दिएको छ, त्यो प्रकाशले सम्भवत अव पाउने न्याय भन्दा पनि धेरै ठुलो छ ।

हेर्ने कथाले प्राप्त सहानुभूति तुलना गर्न नसकिने आम्दानी हो । यसमा नेपाली पत्रकारिता क्षेत्रले नै गर्व गरेको छ, गर्ने छ, र गरिरहनेछ । त्यसैले सकेको सहयोग गरौँ प्रकाशलाई, प्रोत्साहन गरौँ साझा कथा र विद्या चापागाईंको टीमलाई । किनकि हेर्ने कथा अव फगत एउटा युट्युब च्यानल रहेन, हामी नेपालीको आफ्नै कथा देखाउने आफ्नै सारथी बनेको छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी