×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा बाउन्स ब्याक, बेच्नेहरु तनाबमा, अब के हुन्छ ? (भिडियो ब्रिफिङ)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजारमा बाउन्स ब्याक, बेच्नेहरु तनाबमा, अब के हुन्छ ? (भिडियो ब्रिफिङ)

रिसव गौतम

२४ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार आतिने र मातिनेका लागि हुँदै होइन । फलानोले फलानो थोक भन्यो भनेर आफ्नो सम्पतिमाथि नै अविश्वास गरेर घाटामा बेच्नेहरुलाई बाघे झापु हान्नेगरी बुधबारको नेप्से परिसूचकले सानदार बाउन्स ब्याक लिएको छ । विश्वास कसले के भन्यो भन्नेमा होइन, आफ्नो स्टकमा हुनुपर्छ, आफुले चिनेको कम्पनी गज्जबको भए जसले जे भने पनि खास अर्थ छैन भन्ने तथ्य बुझेकाहरु ठिक हुन्, आतिनेहरुले खाने बजारमा घाटा नै हो भन्ने सन्देश दिएर बुधबारको बजार बन्द भएको छ । १०८.३५ अंकको सानदार बढोत्तरी, र १७ अर्व ९५ करोडको कारोबारसँगै हरियो रंग पोतेर बन्द भएको बजारले यसपाली धैर्यताको अर्को पाठ पनि सिकाएको छ ।

फलानो नेताले के भन्यो भनेर आत्तिएका लगानीकर्ताहरुले मंगलबार झ्यामझ्याम सेयर बेचेका थिए । आज तिनैले महँगोमा किने । आज फेरी तिनै हिजो हाम्रो स्टक खोसे भनेर रोइलो गरिरहेका छन् । फाइनान्स सकियो, अव त नेगेटिभ सर्किटका सर्किट हो भन्ने अजासु कथित विश्लेषकहरुलाई माथ खुवाएर फाइनान्स उपसमूहमासमेत सानदार बढोत्तरी देखिएको छ । यसको मतलव फेरी यो ठिक वा अरु बेठिक वा अरु ठिक यो बेठिक केहि भन्न खोजिएको होइन । भन्न यति खोजिएको हो, बाँकी सब भ्रम हो, बजारको लय सत्य हो । यसको अर्थ फेरी कमजोर कम्पनीमै दिन आएका हुन् भन्ने हो त ? होइन, जरुर होइन । सेयर बजारमा ढिलो चाँडो मजबुत कम्पनीकै जित हुन्छ । ३२ घन्टे कारोबारीले भन्दा अलि परसम्म सोच्नेकै बिजय हुन्छ । बस्, हामीले भन्न खोजेको यहि हो, बजार आत्तिनेका लागि होइन भन्ने तथ्य, पुनः प्रमाणित गरिदिएको छ । बाँकी त किनबेचको बिबेक लगानीकर्ताकै हो ।

अव कुरा गरौँ, के सेयर बजारको रौनकता यसरी नै कायम रहला ? के बजार केहि दिन घटेपनि यसरी नै सधैं बाउन्सब्याक होला ? के बजार अव घट्ने भन्ने हुँदै हुँदैन त ? अहँ, सेयर बजारमा यस्तो अतिवाद घातक हुन्छ, जसरी मंगलबारको अत्यास घातक थियो ।

आज हामी सेयर बजारका अध्येयता रिशब गौतमले राससका लागि तयार गरेको विश्लेषणमा आधारित तथ्य प्रस्तुत गर्दैछौँ । जसले बजारको अवको दिशा के हुन सक्छ भन्ने तथ्य बुझाउन मद्धत गर्छ भन्ने हाम्रो अपेक्षा छ ।

सेयर बजारमा क्रमशः क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले शेयर बजारमा लगानीको आकर्षण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको शेयर बजारमा पनि ठूलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता सङ्कटको कारण बढेको ब्याजदर र शेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिका कारण विगतमा बजार घटेको हो । एक हजार आठ सय अङ्कबाट पनि तल झरिसकेको नेप्से परिसूचकाङ्क अहिले भने हालै आएको आव २०८१÷८२ को मौद्रिक नीतिले बजार दुई हजार आठ सय अङ्कको छेउछाउ आइसकेको छ । अब क्रमशः शेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि शेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरुमा पुनःविचार गर्दै गैरआवासीय नेपालीलाई पनि शेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको क्याप हटाएको छ । शेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा बजार बढिरहेको देखिन्छ । केही हप्तायता बजार निरन्तर बढिरहँदा शेयर बजार पुँजीकरण पनि बढेको छ । खासगरी शेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएको कारण त्यो नभएको देखिन्छ तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरु बढिरहेका देखिन्छन् । नेपालको शेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तवमा शेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आमसर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र शेयर बजारले नै दर्साउछ । त्यसकारण पनि शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठूल–ठूला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको सङ्कलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आमराजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ । अहिले नेपालमा शेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरुको सङ्ख्या २०८० चैतसम्ममा ६२ लाख नाघिसकेका छन् । त्यसमा महिलाको सङ्ख्या नै २६ लाख नजिक पुगेको तथ्याङ्क छ । यद्यपि आर्थिक मन्दी, तरलता सङ्कटलगायत कारण शेयर बजार सुस्ताउँदा अहिले शेयर बजारका सक्रिय लगानीकर्ता २०–२२ लाख रहेका छन् ।

जेहोस् पछिल्लो वर्षहरुमा नेपालमा शेयर बजारप्रति बढेको आकर्षण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ । पछिल्लो समय सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैङ्कको चर्को ब्याजदरविरुद्ध व्यसायीहरुले गरेको आन्दोलनले ठूलो दबाब परेको हो । बैङ्कहरुको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैङ्कको ब्याजदर घट्दा विगतदेखि नै शेयर बजार बढ्ने गरेको दखिन्छ । त्यसकारण आगामी दिनहरुमा बजार झनै बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेटलगत्तै आएको मौद्रिक नीतिले पनि शेयर बजारलाई उत्साह दिएको छ । शेयर बजारलाई कता डो¥याउने भन्ने कुरामा मौद्रिक नीतिको धेरै भूमिका हुनेगर्छ । यद्यपि मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ । विगतका वर्षहरुमा मौद्रिक नीतिमा शेयर बजार र घरजग्गाप्रति कसिलो बनाइएकामा यसपटक धेरै नै खुल्ला गर्ने गरी प्रोत्साहनकारी रुपमा मौद्रिक नीति आयो । मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाहरुका लागि पनि केही खुकुलो गरी आयो । फलस्वरुप शेयर बजारमा हरियाली छाएको देखिन्छ । गत वर्षहरुमा राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४–१२ को नीतिले पनि शेयर बजारको गतिशीलतालाई कमजोर बनाएको हो । अहिले ती व्यवस्था हटाइएको छ । फलस्वरुप शेयर कारोबारको ‘भोलुम’ र नेस्से परिसूचक निरन्तर बढिरहेका छन् । विगतमा तीन हजार तीन सय अङ्कको नेप्से परिसूचकाङ्क पुगिरहँदा बजारमा एकै दिन रु २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो । अहिले त्यो रेकर्डसमेत ‘बे्रक’ भएर नेप्सेमा झन्डै २४ अर्बको करोबार भएको छ । यसरी बजारमा एउटा खालको आत्मविश्वास देखिएको छ । यसले समग्रमा आशा जगाएको छ । वित्तीय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्याङ्कीय हिसावले सबल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले नै अर्थतन्त्र तथ्याङ्कीय रुपमा सबल बन्दै गएकाले बजारमा त्यसको सकारात्मक प्रभाव क्रमशः पर्दै जाने बताउनु भएको छ ।

ब्याजदर घटिरहेको छ । त्यसकारण शेयर बजार उकालो लागिरहने देखिन्छ । शेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आमसर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताहरुले विगतमा शेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरुले समेत आफ्ना बुझाइ सच्च्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्शाइरहेका छन् । सरकारले पनि शेयर बजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरुरी छ । शेयर बजारले आमसर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलिअलि भएको पैसाले आइपिओ भर्ने, शेयर किन्ने गर्दा मान्छेले पैसाको महत्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् । अहिले शेयर बजारमा धेरै मान्छेहरु आकर्षित भएका, लागेकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहिणीको उपमा दिएका महिलाहरुको सङ्ख्या नै शेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिक क्षेत्रमा महिलाहरु कति सशक्त रुपमा आइरहेका छन् भन्ने पनि दर्शाउँछ । अर्को शेयर बजारबाट सरकारले रु १५ अर्बसम्म कर विगतमा पाएको हो । त्यसकारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सरकारको आर्थिक समृद्धिको नारा गफमा सीमित हुन्छ ।

गौतमले गरेको यो विश्लेषण बजार सारांश बुझेर, कम्पनी चिनेर, सुझबुझका लागि लगानी गरे सेयर बजार सुन्दर छ । उही नेताका कुरा सुनेर, अभिनेतालाई सोधेर, काका, मामा, दाई, भिनाजुका कुरामा डुबेर मात्र लगानी गर्नेहरु त बजारमा पनि डुब्ने नै हो । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी