×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबको बजार आहा कि स्वाहा ? कारोबार रेकर्ड ब्रेक, दर्जनौँ कम्पनीमा टोपी, यति बुझे मालामाल ! (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अबको बजार आहा कि स्वाहा ? कारोबार रेकर्ड ब्रेक, दर्जनौँ कम्पनीमा टोपी, यति बुझे मालामाल ! (भिडियो ब्रिफिङ) 

Artha Sarokar

१७ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । साउनको महिना, यसै पनि हरियो । त्यसमाथि मौद्रिक नीतिको लचिलोपानाले लगानीकर्तामा थप आत्मविश्वास दिएको छ । एकातर्फ सस्तिएको बजार, अर्कोतर्फ स्थिर सरकारले दिएको कन्फिडेन्स, बजार हौसिएको छ, लगानीकर्ताहरु उत्साहित छन् । परिणाम, सेयर बजारको साँढे उफ्रिएको छ, बजारमा हालसम्मकै उच्च कारोबार भएको छ ।

बुधबार नेप्सेमा ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो हालसम्मकै उच्च कारोबार हो । यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका सेयर किनबेच भएको थियो । विष्णु पौडेल अर्थमन्त्री भएदेखि विना ठुलो करेक्सन बजारले लिएको लयले धैर्यवान लगानीकर्ताले मस्त कमाएका छन् । बजार १६०० आउँछ भनेर झ्याली पिट्ने भालु ग्याङका दुखी आत्माहरु कुन दुलोमा छन् थाहा छैन, तर बजारले निकै मिठो लय समातेको छ ।

सँगै बजारको नमिठो सत्य यो पनि हो, कि बजारमा राम्रा कम्पनी मात्र बढेका छैनन् । कर्नरिङ गरेर उचालिएका कम्पनीहरुमा लगानीकर्ता जोखिम मोलेर लगानी गरिरहेका छन् । र बिगतमा जस्तै यो बुलमा पनि गरिएको यस्तो भुलले धेरै सोझा लगानीकर्ताहरु फस्ने निश्चितप्राय छ । अघिल्लो बुलमा कुनै अमुक पत्रु कम्पनीमा गरिएको लगानी जसरी बालुवामा पानी भएको थियो, यसपटक पनि थुप्रै लगानीकर्ताहरु सडकमा आउने निश्चितप्रायः छ । त्यसैले लगानी गरेर पैसा कमाउन, बेलैमा त्यस्ता कम्पनीबाट निस्कने र राम्रा कम्पनीमा लगानी गर्नु नै सबैको भलो हुन्छ ।

बजारमा त्यस्ता दर्जनौं कम्पनीहरुमा सर्किट लागिरहेको छ, जुनमध्ये कुनै डुब्न ठिक्क परेर बसेका छन्, कुनै अलिअलि स्वास बाँकी राखेर घिटीघिटी अवस्थामा छन् । तर, खेलाडी यहीं छिरेका छन् भनेर त्यस्ता कम्पनीमा कारोबार गर्नेहरु छिट्टै कंगाल बन्ने निश्चित छ । कारण, खेलाडीहरुले उचालेर पछार्ने यस्तै कम्पनीमा हो भन्ने तथ्य विगतको बुलमा पनि देखिएकै हो । तर, पैसाको लोभले गिजोलिएको लगानीकर्ताको मनोविज्ञानमाथि खेल्दै उचालिएका यस्ता कम्पनीहरुमा निश्चित खेलाडीले मात्र कमाउँछन्, बाँकीले गुमाउँछन् भन्ने तथ्य बुझ्न जरुरी छ ।

बुल बजारमा लगानीकर्ताहरुले के गल्ती गर्छन् ? कसरी सावधानी अपनाउने ? 
१. पछिल्लो समय सेयर लगानीकर्ताहरु छिटो धनी बन्ने भन्दै डुब्न ठिक्क परेका कम्पनीहरुमा आकर्षित भईरहेका छन् । यस्ता कम्पनीमा बिगतमा घाटा व्यहोरिसकेकाहरु पनि यस्तो कम्पनीमै आकर्षित भईरहनु अर्को गम्भीर विषय हो । तर कुरो जो पैसाको छ । लोभले लगानीकर्तालाई लगाम नलगएको घोडाजस्ता कम्पनीमा आकर्षित गराईरहेको छ । यस्ता कम्पनीमा निश्चित लगानीकर्ताले कमाउँछन् । नयाँले लगभग डुबाउँछन् नै । त्यसैले त्यस्ता कम्पनीमा प्रवेश गरेको भए पनि नाफामा भएका बेलामा नै निस्किएर रणनीति परिवर्तन गर्दा राम्रो हुन्छ ।

२. बुल बजारमा लगानीकर्ताहरु यतिसम्म अनियन्त्रित भईरहेका छन् कि, छोटो नाफामा बेचेको सेयर बढेपछि पुनः किन्ने अनि घाटा खाने गरिरहेका छन् धेरै लगानीकर्ताहरु । यस्तो व्यवहार हुने लगानीकर्ताले प्रायः सेयर बजारमा आफ्नो पैसा डुबाउने गर्छन् । त्यसैले आत्तिने र मात्तिने काम दुवै लगानीकर्ताले गर्नु हुँदैन ।            

३. अझ कतिपय सेयर लगानीकर्ताको बानी त के हुन्छ भने, जुन कम्पनीमा सर्किट लाग्छ, त्यहि कम्पनी किन्ने । खासमा अलि तल झरेका बेला किन्ने र बढेपछि बेच्ने गर्नुपर्ने हो । तर एक दुई पटक सर्किट लागिसकेपछि सेयर किन्ने र पछि केहि घट्न थालेपछि झन् फेरी स्टप लस गरेर धेरै लगानीकर्ताले पैसा गुमाईरहेका छन् । यस विषयमा लगानीकर्ताहरु सचेत हुनुपर्छ । पोजेटिभ सर्किट लागेको लाग्यै गरेका कम्पनी किन्नु अलि बढी जोखिम हुन्छ ।      

४. धेरै लगानीकर्ताहरु बढिरहेको सेक्टर वा स्टकमा मात्र झुम्मिने गर्दछन् । यस्तो कम्पनीमा झुम्मिने बानीले लगानीकर्तालाई अन्तिममा दिने घाटा नै हो । त्यसैले बढिरहेको स्टकमा मात्र झुम्मिने होइन, सम्भावना भएका स्टकहरुमा पनि लाग्नुपर्छ । यसमै लगानीकर्ताको भलो छ ।    

५. लगानीकर्ताहरुमध्ये धेरैले अहिले आफु अध्ययन गरिरहेका छैनन् । बरु हो हल्लाको पछि लागिरहेका छन् । यसले लगानीकर्तालाई जोखिमतर्फ डोहोर्याईरहेको छ । खेलाडीहरुले म्याचिङ गरेर लगानीकर्तालाई झुक्यानमा पारिरहेका छन् । यसतर्फ पनि लगानीकर्ता सचेत हुनुपर्छ ।     

६. सेयर बजार केहि बढ्नुमात्र पर्छ, पोर्टफोलियोमा मुस्किलले १००० कित्ता सेयर भएकाहरु प्राविधिक विश्लेषक टोपलिन थाल्छन् । उनीहरु आफु त डुब्छन् नै, अरुलाई पनि डुबाउँछन् । आफुले किनेपछि अनेक धर्का तानेर यो कम्पनी त यति माथि पुग्छ भन्ने र आफुले बेचेपछि यो कम्पनी त यति तल झर्छ भनेर हुने नहुने धर्का देखाएर लगानीकर्ताको आँखामा छारो हाल्नेहरुले बजार धमिलो बनाईरहेका छन् । यसतर्फ लगानीकर्ता सचेत हुन जरुरी छ ।   

७. १२ बर्ष रामायण पढायो, सिता कसकी जोई भनेजस्तो बियरिसमा जति सेयर शिक्षा दिए पनि लगानीकर्ताहरु अहिले हल्लाकै भरमा किनबेचको निर्णय गरिरहेका छन् । कुन कम्पनी कति बलियो छ भन्दा पनि पल्लो घरको काकाले कुन सेयर किने, तल्ला घरका माइलाले कुन सेयरमा खेल्दैछन्, भन्ने खोजिनिधि गरेर सेयर किन्नेहरु ढिलो चाँडो फस्ने नै हुन् । यस्तो हल्लाबाट जोगिनुपर्छ ।

८. गाईको व्यापार गर्ने हो भने सकेसम्म दुध दिने गाईको गर्नुपर्छ । दुध नदिए पनि निरोगी गाईको गर्नुपर्छ । तर मर्ने बेला भएको गाईबस्तुको व्यापार गर्छु भन्नेले खाने दुध होइन, घाटा हो । सेयर बजारका कम्पनी पनि गाईजस्तै हुन् । दुध दिने गाई किने रिटर्न आउँछ । रिटर्न नदिने कम्पनी भए पनि घाटा नहुने कम्पनी भए पनि फरक पर्दैन । तर ढिलो चाँडो टाँट पल्टने कम्पनी किन्नु र मर्न ठिक परेको गाई किन्नु उस्तै हो । यसतर्फ लगानीकर्ता सचेत हुनुपर्छ ।

९. बुल बजारमा धेरैले अनुभव मात्र कमाउँछन्, थोरैले पैसा कमाउँछन् । नियामकले कारवाही गरेका केहि अमुक कम्पनीहरु जसरी बढिरहेका छन्, तिनले त्यो भन्दा तेजले लगानीकर्ताको खल्ती रित्याउँदैछन् । डुब्न लागेका कम्पनी जसरी उचालिएका छन्, तिनले लगानीकर्तालाई नमज्जासँग पछार्छन् । जति ठुलो लोभ हुन्छ, बजारले त्यति नै नमिठो सजाय दिन्छ । यस विषयमा लगानीकर्ता सचेत हुन आवश्यक छ ।

१०. र अन्तिममा लगानीकर्ताले फेरी पनि सोच्नुपर्छ, रातपछि जसरी दिन आयो, बियरिसपछि जसरी बुल आयो, बुलपछि बियरिस बजार पनि पक्का आउँछ । दिनमा रमाईरहँदा रात पनि पर्छ भन्ने बिर्सनुहुँदैन । बजार एक लेभल बढेपछि ठुलो करेक्सनको सम्भावना पनि नकार्नु हुँदैन । भलै, बुल बजारमा यस्तो कुरा कसैले सुन्न चाहांदैन, तर सत्य यो पनि हो, सेयर बजारमा ९० प्रतिशतले खाने घाटा नै हो, १० प्रतिशतले मात्र कमाउने हो ।

अव बजार बुलमा छ भन्ने तथ्य थप प्रष्ट पार्न आवश्यक नहुन सक्छ । तर बुल बजारमा सचेत नभए पछि अचेत हुनुपर्ने हुनसक्छ । त्यसैले ख्याल गरेर मात्र सेयर किनबेच गर्नुमै तपाईंको भलो हुन्छ । बुलमा कमाउने नै हो । तर बुलमा जिन्दगी नै रनभुल हुनेगरी पत्रु कम्पनीको पछी लाग्नु सरासर घाटालाई निम्त्याउनु हो, यस विषयमा ख्याल गर्न आवश्यक छ । बुलमा रमाइलो गर्नुस्, छानी छानी कम्पनी किनेर रमाउनुहोस्, तर, फेरी पनि चलाइएका कम्पनीहरुले पछार्न सक्छन् भन्ने तथ्यलाई नजरअन्दाज नगर्नुहोस् । राम्रा कम्पनी छानेर किन्नुहोस् । नाफा आएपछि लोभ नगर्नुहोस् । (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी