×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हल्लाले सेयर बजारमा उग्र चलखेल, नबुझे डुबिएला है ! (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यी हल्लाले सेयर बजारमा उग्र चलखेल, नबुझे डुबिएला है ! (भिडियो ब्रिफिङ) 

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । घट्नु र बढ्नु सेयर बजारको विशेषता हो । धेरै बढेपछि थोरै घट्नु स्वाभाविक मात्र होइन, बजारको आवश्यकता पनि हो । २१ अर्ब बढीको कारोबारले स्पष्ट बुल देखाइरहेको सेयर बजारमा ससाना करेक्सन सामान्य मात्र होइनन्, अति सामान्य हुन् । बढ्दो बजारमा कहिलेकाहीं हुने बिग करेक्सन पनि अवसर बन्न सक्छन् । भलै, गलत हल्लाका कारण बजार घट्नु ठिक होइन । गलत हल्लाका कारण बजार बढ्नु पनि राम्रो होइन । बजार बलियो हुँदै अघि बढ्नु सबैका लागि फाइदाजनक मात्र होइन, स्वयम् बजारका लागि पनि राम्रो हो । तर, बजारमा चल्ने गलत हल्लाले कहिलेकाहीं लगानीकर्ताको पैसा गुम्छ, पाइसकेको अवसर गुम्छ । र यसपालि पनि बजारमा केही त्यस्ता गलत हल्ला चलेका छन्, जसले बजारमा धेरै लगानीकर्ताको अवसर गुमेको छ ।

हल्ला नम्बर १ः राष्ट्र बैंकले सेयर कर्जाको सिमा नहटाउने भयो भन्ने गलत हल्ला ।  
अहिले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई हटाएको सेयर कर्जाको सिमा तत्काल नहट्ने भनेर झ्याली पिटिएको छ, जुन सोह्रै आना गलत हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरे अनुसार नै संस्थागत लगानीकर्ताका लागि सेयर कर्जा सिमा पूर्ण रुपमा हटाइसकेको छ । प्रक्रियामा केही समय लाग्नु स्वाभाविक कुरालाई अस्वाभाविक रुपमा बंग्याएर चलेको हल्लाले बजार प्रभावित भएको छ । कतिपयले सेयर धितो कर्जाको सीमा नहटेको खण्डमा बजार तल झर्छ भनेर चलेको हल्ला पत्याउँदा सेयर भकाभक बेच्न थालेको देखियो । तर नेपाल राष्ट्र बैंकले यसरी आफूले ल्याएको नीतिबाट पछि हट्ने कुनै पनि निर्णय गरेको छैन, र गर्दैन पनि । तर राष्ट्र बैंकले सीमा नहटाउने भन्दै चलेको हल्लाले बजार प्रभावित भएको देखिएको छ ।

हल्ला नम्बर २ः बजारमा ठूला खेलाडीले झ्यामझ्याम सेयर बेच्दैछन् 
कतिपयले अव ठूलो करेक्सन आउँछ र त्यही कारण ठूला खेलाडीले झ्यामझ्याम सेयर बेच्दैछन् भनेर हल्ला चलाइरहेका छन् । खासमा सेयर बेचेर तिरोतारो सक्नुपर्ने भएपछि सेयर बेचेर बसेका केही ठुलै लगानीकर्ताले यस्तो हल्ला चलाएको देखिन्छ । तर एकाध लगानीकर्ताले त्यसो गरे भन्दैमा सबै ठूला लगानीकर्ताले त्यसो गर्दैनन् । सेयर बजार यतिसम्म पारदर्शी छ कि, यहाँ कुन ब्रोकरबाट कति किनियो वा बेचियो भन्ने प्रष्ट देखिन्छ । बजार कारोबारले पनि ठूला लगानीकर्ताहरु बजारबाट निस्किएका छन् भन्ने देखाउँदैन । ठूला खेलाडीहरु पसेका सेयरका विवरण हेर्ने हो भने पनि ती सेयरबाट लगानीकर्ता बाहिरिएको देखिंदैन ।

हल्ला नम्बर ३ः ठुलो करेक्सन आउँदैछ 
सेयर बेचेपछि बजार बढेको देखिनसहनेले बजारमा यस्तो हल्ला चलाउँछन् नै, र यसपटक पनि चलाए । बजारमा करेक्सन आउनु अस्वाभाविक होइन । २२०० हाराहारीबाट बढेको बढ्यै गरेको बजारमा ससाना वा केही ठुलै करेक्सन आएपनि बजारमा आत्तिनुपर्ने केही हुँदैन । बिगत हेर्ने हो भने पनि, अहिले बजारमा आत्तिईहाल्नुपर्ने स्थिति केही छैन । तर ठुलो करेक्सन आउंदैछ भनेर केही ठुलैले हल्ला चलाईदिएपछि त्यसको धेरथोर प्रभाव बजारमा परेको छ । परिणाम, सेयर बजारबाट केही लगानीकर्ता लहैलहैमा बाहिरिएका छन् । उनीहरु अव आज जतिमा कुनै सेयर बेचे, त्यो भन्दा महँगोमा फेरी बजार छिर्नेछन् । हरेकपटकजस्तो बुल बजारमा यस्तो लुकामारी चलिरहन्छ र यसपालि पनि चल्नेछ।   

यसो त बजार घटाउनमात्र होइन, आफ्नो स्टक बढाउन पनि अनेक हल्ला चलाइएको छ बजारमा । अस्वाभाविक टार्गेट सेटको हल्ला, मर्जरको हल्ला वा यस्तै अनेक हल्ला । पछिल्लो समय कुमारी बैंक र ग्लोबल आईएमई बैंकको मर्जरको हल्ला चलाएर केहिले कुमारी बैंकको भाउ बढाए । अझ कतिपयले त एमओयु नै भईसक्यो, आजै हुनेवाला छ जस्ता हल्ला फैलाए । तर यसको फ्याक्ट चेक गर्दा एमओयु हुनु त परको कुरा, कुरा पनि चलेको रहेनछ । तर कुमारी बैंक लामो समय पालेर बसेकाहरुले सेयर बेच्नकै लागि यस्तो हल्ला चलाएका रहेछन् ।

गायक राजु लामाले एक गीतमा हल्लै हल्लाको संसार भनेका छन् । अझ हाम्रो देश त हल्लाले नै चल्ने देश हो भन्दा फरक पर्दैन । त्यसमाथि सेयर बजारमा त हल्ला चल्नु र हल्ला गाल्नु दुवै सार्है सामान्य विषयजस्तै भईसकेका छन् । यसको परिणाम, हल्लाले बजार हल्लाएको छ । हल्लाको पछि लाग्दा लगानीकर्ताको अवसर हल्लिएको छ । यस्ता हल्लाबाट जोगिन जरुरी छ ।

अव सेयर लगानीकर्ताले के गर्ने त ? के कुरामा सचेत हुने ? 
१. सुरुमा नै ख्याल गर्नुपर्ने विषय के हो भने, सेयर बजारमा ९० प्रतिशतले खाने घाटा नै हो । एक पटक सम्झनुहोस् त १०० जनामा १० जना मात्र पास हुने परिक्षा कति गाह्रो हुन्छ । बजार पनि त्यस्तै गाह्रो चीज हो । बजार बढिरहँदा ‘अव त बजार सिधै ५००० हो, अहिले नकिने कहिले किन्ने ?, अझै बढ्छ, फलानो कम्पनीहरु किन्नुहोस्’ भन्नेहरु धेरै भेटिन्छन् । अझ बजार  घटेका बेला सबै बेच्नु है बजार पूरै १६०० हो भन्ने हरु पनि थिए । यस्ताका पछि लाग्दा बजारमा खाइने घाटा नै हो । यस विषयमा लगानीकर्ता सचेत हुनुपर्छ ।

२. १ रुपैयाँ पनि नेटवर्थ नभएका कम्पनी २००० पुगिसकेको बजारमा नयाँ लगानीकर्ताले होसियार हुनुपर्छ । अझ सिधा भन्दा नयाँ लगानीकर्ता त्यस्ता सेयरमा प्रवेश गर्ने नै होइन । लगानीकर्ताले आफूले किन्ने कम्पनीको सेयरबारे बुझ्नुपर्छ । खासमा बुल बजारमा कम्पनीले दिने प्रतिफल भन्दा पनि क्यापिटल गेनकै लागि लगानी गर्ने हो । तर कारोबार गर्दा पनि राम्रै कम्पनीमा गरे त्यसले बजार झर्दा पनि पीडा दिंदैन । यस विषयमा पनि लगानीकर्ता जानकार हुनुपर्छ ।   

३. कतिपयलाई त आफूले किनेको कम्पनीको पूरा नाम पनि थाहा हुँदैन सेयर बजारमा । पल्ला घरको दाजुले ठोक भन्यो, ठोकीहाल्यो । किन भन्यो, किनिहाल्यो । हैट बेचौं भन्यो, बेचिहाल्यो । कतिपयले त आफुलाई किन्न मन लागे बेच है, यो कम्पनी त सकिनेवाला छ भनिदिन्छ, कुरै नबुझी बेचिहाल्यो । कतिपयलाई आफूले पाल्दा पाल्दा हत्तु भएर बेच्नुपरेको हुन्छ, यो त हिरा हो हिरा भनिदिन्छ अनि लहैलहैमा किनिहाल्यो । यस्तो गर्नेले खाने घाटा नै हो । घाटा नखान लगानीकर्ताले यो बानी सुधार्नुपर्छ ।

४. कम्पनीहरु बन्द पनि हुन्छन् भन्ने तथ्य बुझ्नुपर्छ । झुर कम्पनीहरु सिद्धिन पनि सक्छन् भन्ने तथ्य बुझ्नुपर्छ । त्यसैले कम्पनीको बिजनेश कतिको प्रगतिउन्मुख छ, कतिको राम्रो छ भन्ने विषय ख्याल गर्नुपर्छ । फेरी जीवनभर कमाएको पैसा लगाएको कम्पनी नै टर्च लाइट बालेर खोज्नुपर्यो भने बिजोग रमाइलो हुनेवाला छ । यस विषयमा पनि लगानीकर्ताले ख्याल गर्नुपर्यो ।        

५. सामान्यतया बुल बजारमा धेरै लगानीकर्ताहरु टुप्पो टुप्पोमा पर्छन् । यसपालि पनि परिरहेका छन् । एक बर्षको बजारमूल्य के कति छ भन्ने पनि ख्याल गर्नुपर्छ लगानीकर्ताले । नत्र आफूले लगानी गरेको पैसा स्वाहा हुन बेर लाग्दैन ।    

६. बजारमा लगानीकर्ताहरु डुब्न यति हतार गर्छन् कि बुझ्नु ओर्नु केही छैन, भए भरको पैसा एकै सेयरमा एकै ठाउँमा हाल्छन् । यो सिधा डुब्ने मेलो हो ।  भएभरको पैसा एकैपटक हालेर किन्नु हुँदैन। आफूसँग भएको पैसाबाट थोरै थोरै सेयर किन्न सकिन्छ। यो कुरामा पनि लगानीकर्ताहरुले ख्याल गर्नुपर्छ । 

७. बजारमा ७२ घन्टे लगानीकर्ताहरु हाबी छन् । नयाँ लगानीकर्ताहरु यस्तो व्यवहारबाट जोगिनुपर्छ ।   आफूले सेयर किनेको भोलिपल्टै सूचक रातो हुँदा मन आत्तिन सक्छ, तीन दिनसम्म बजार घट्ने हो भने डिम्याट खातामा सेयर आएकै दिन पुनः बेच्न हतारिने प्रवृत्ति लगानीकर्तामा हाबी छ।  यस्तो व्यवहार पनि लगानीकर्ताले सुधार्नुपर्छ । जो आत्तियो, र मातियो, उ सेयर बजारमा पक्का सिद्धियो ।

बाँकी त पैसा पनि तपाईंको कारोबार पनि तपाईंको । घाटा भए घाटा पनि तपाईंको, नाफा भए, नाफा पनि तपाईंको । त्यसैले आगे तपाईंकै मर्जी । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी