×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा राजनीति छिर्ने डर, बोर्डको अध्यक्षका लागि अर्बको डिल ! (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा राजनीति छिर्ने डर, बोर्डको अध्यक्षका लागि अर्बको डिल ! (भिडियो ब्रिफिङ) 

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । जबजब सेयर बजारले गति लिन्छ, र त्यसको जस कसैले पाउँछ, तव सो जसमाथि पनि राजनीति हुन थाल्छ । यसको पछिल्लो उदाहरण हो- सेयर बजारका लगानीकर्ताले अहिलेका अर्थमन्त्री बिष्णु पौडेललाई गरेको विश्वास । जव जव बिष्णु पौडेल अर्थमन्त्री हुन्छन्, तवतव सेयर बजारले नयाँ गति लिने गरेको देखिएको छ । संयोग नै सहि, लगानीकर्ताले यो संयोगलाई रुचाइरहेका छन् । र भनिरहेका छन्, विष्णु पौडेलकि जय ।

सायद सेयर लगानीकर्ताको जय बिष्णुको नारा नपचेर होला, अहिले कतिपय लगानीकर्तालाई सेयर बजार बढेको फिटिक्कै चित्त बुझेको छैन । सायद उनीहरुलाई लाग्दो हो, ’यो बजार मेरै पालामा बढेर त्यसको जस मैले मात्र पाउनुपर्थ्यो ।’ त्यसको पछिल्लो उदाहरण हुन् नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले पूँजीबजार प्रति गरेको टिप्पणी । उनको पालामा मौद्रिक नीति लचिलो थिएन, उनको गभर्नरसँग ट्युनिङ नमिल्नुमा उनकै पनि कमजोरी थियो । तर अहिले मौद्रिक नीति खुकुलो आएर बजार बढेपछि उनी पूँजीबजारप्रति निगरानी बढाउनुपर्ने बताईरहेका छन् । स्मरण रहोस्, उनी अर्थमन्त्री हुँदा पनि बजारमा निगरानी आवश्यक थियो । जुन उनले कहिल्यै गरेनन् । बजारलाई थोरै साहस चाहिएको थियो, जुन उनले दिएनन् । 

तर, अहिले उनी बजारलाई निगरानी गर्नुपर्ने बताईरहेका छन् । हो, पछिल्लो समय केही झण्डीमार कम्पनीहरु अस्वाभाविक बढिरहेका छन्, कर्नरिङ गरेर ती कम्पनीको भाउ उचालिएको छ । यसमा तिखो अनुसन्धान र छानविन आवश्यक छ । तर, बजारमा अहिले जति बदमासी भईरहेको छ, त्यस्तै बदमासी प्रकाशशरण महतको पालामा पनि भएको थियो नि, थिएन र ? त्यतिबेला पनि उनले बोल्नु पर्थ्यो वा काम गर्नुपर्थ्यो नि, होइन र ? अनि अहिले, आफ्नो कमजोरी लुकाउन खोजेजसरी अर्थमन्त्री विष्णु पौडेलमाथि दोष थोपर्न खोजेजस्तो गर्ने वा सेयर बजारका लगानीकर्ताको आत्मविश्वास घटाउने काम गरेजस्तो गर्नु ठिक हो र ? 

बोल्नुको नियत ठिक थियो भने त गज्जब नै भयो, सरकार काँग्रेसकै छ, उनले दिएको सुझाव अर्थमन्त्रीले सत्तारुढ गठबन्धनकै नेता भएकाले पनि अर्थमन्त्रीले पक्कै मान्लान्, तर अंगुर अमिलो छ भन्ने शैलीमा बोल्न खोजिएको हो भने, महतको बोलीको अर्थ छैन । भलै, महतले गलत बोलेका छैनन्, बस्, नियत के हो भन्ने कुरा महत्वपूर्ण हो ।   

अव चर्चा गरौँ, पूर्व अर्थमन्त्री बर्षमान पुनको । अर्थमन्त्री भएकै दिन र भोलिपल्ट उनले सेयर बजारबारे टिप्पणी गर्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । आफु अर्थमन्त्री हुँदा सेयर बजारका समस्याहरु समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे पुनले । तर आफु अर्थमन्त्री हुँदा उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिलाई बरु रोके, अरु काम केही गरेनन् । उनले बोर्ड अध्यक्षको नियुक्ति रोकेनन् मात्र, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिलाई यतिसम्म गिजोल्न खोजे कि, सरकारी तलव खाएर बसेका डा. नवराज अधिकारी र कृष्ण कार्कीलाई नियुक्ति प्रक्रियामै नजानु भन्ने आशय प्रकट गरेको विषय बाहिर आयो । तर उनै पुन अहिले भन्दैछन् धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको हो ।  

यदी उनको भनाई सहि हो भने त्यति नै बेला यो कुरा किन बाहिर ल्याईएन । बोर्डको अध्यक्षका लागि अरबको डिल गर्ने को थियो ? यस विषयमा उनी किन मौन छन् ? कसले कुन स्वार्थका लागि कति अर्वको डिल गर्यो भन्ने तथ्य थाहा छ भने के त्यो विषय जनतामाझ ल्याउनुपर्दैन ? प्रश्न गम्भीर छ, जति गम्भीर उनले अर्वको डिल भएको छ भन्ने आरोप छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न करोडौंको डिल हुन्छ भन्ने चर्चा नयाँ होइन । तर यस विषयमा पूरापूर थाहा भएजसरी बोल्ने पूर्व अर्थमन्त्री पुनले, यस विषयमा तथ्य किन बाहिर ल्याउँदैनन् । के यो विषय गम्भीर छैन र ? कि आफुले गर्दा ठिक, अरुले गर्दा त्यहि बेठिक भन्ने आशय हो पुनजीको ? वा आफ्नो पालामा डिल भएको भए ठिकै थियो, अव एमालेको पालामा डिल हुने भयो भन्ने चिन्ता हो पुनजीको ? यदी यस्तो होइन भने यति गम्भीर विषयमा अर्थमन्त्री भईसकेको मान्छे जिम्मेवार हुनुपर्छ । कसकसले कति करोडको, वा कति अर्वको डिल गर्न खोजे भन्ने तथ्य बाहिर ल्याउनुपर्छ । अनि पो हुन्छ त सुशासन, होइन र ?

सेयर बजार निकै संवेदनशील क्षेत्र हो । जव यहाँ राजनीति छिर्छ, तव धेरै कुरा बिग्रिन्छ । कुनैबेला बुल बजारमा राजनीति छिर्दा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नरको ट्युनिङ बिग्रियो । ट्युनिङ बिग्रिएपछि बजार बिग्रियो । बजार बिग्रिएपछि लगानीकर्ताको आत्मविश्वास खस्कियो, परिणाम बजारको माहोल बिग्रियो । पछि प्रकाश शरण महत र बर्षमान पुन अर्थमन्त्री बन्दा राजनीति पनि साइडवेजमा चल्यो, परिणाम बजार पनि साइडवेजमै चल्यो । र अहिले अर्थमन्त्री विष्णु पौडेल आएपछि राजनीतिक दृष्टि बजारमा सकारात्मक भयो, परिणाम बुल आयो । बुल आएपछि कतिपय नेताहरु जस अपजशको खेल खेलिरहेका छन् । जसकारण बजार फेरी धुमिल हुने हो कि भन्ने पीर छ लगानीकर्तालाई । किनकि राजनीतिले दिएको आत्मविश्वास र राजनीतिले खोस्ने आत्मविश्वास, दुबैको खास अर्थ हुन्छ सेयर बजारमा भन्ने तथ्य घामजतिकै छर्लंग छ । बस्, राजनीतिकर्ममा लागेकाहरुको पनि नियत सहि हुनुपर्छ, कुरा यति हो ।

सँगै विष्णु पौडेलले पनि बजारका विषयमा आएका प्रतिक्रिया सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्छ । हो, प्रकाश शरण महतले जुन नियतका साथ बोलेपनि उनका केही कुरा सहि छन् । बजारमा गलत कम्पनीको भाउ उचालेर टोपी लगाउने काम भइरहेको छ । यसतर्फ सरकार सचेत हुनुपर्छ । किनकि बजारमा यसै पनि ९० प्रतिशत जनताले खाने घाटा नै हो । बाँकी पैसा सोहोर्ने भने त्यहि १० प्रतिशतले हो । कानुनका लुपहोल टेकेर गलत गर्न पल्किएकाहरुको पाटा कसे मात्र बजार बलियो हुन्छ । लोकप्रियताको मात्र पछि लागियो भने लगानीकर्ताले फेरी बुलमन्त्रीको ताज खोसेर भुलमन्त्री नभन्लान् भन्न सकिन्न । सबैले ख्याल गरौँ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी