×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्का डुबिन्छ थाहा छ, र पनि किन लगानीकर्तालाई ‘पत्रु’ कम्पनी नै आहा छ ? (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पक्का डुबिन्छ थाहा छ, र पनि किन लगानीकर्तालाई ‘पत्रु’ कम्पनी नै आहा छ ? (भिडियो ब्रिफिङ) 

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । जब सेयर बजारमा बुलको सुरुवात भयो, तव सेयर लगानीकर्ताहरु ओहो ट्रेन नै पो छुट्ने भयो भनेजसरी महँगो महँगोमा पत्रु कम्पनीका सेयर किनिरहेका छन् । बजार १८०० वरपर हुँदा बजार १६०० मा आउँछ भनेर दिन नै तोक्नेहरु बजार २८०० तिर आउन थालेपछी सेयर उठाउन थालेका छन् । बजार बुलमा प्रवेश गरिरहँदा छिटो धनी बन्ने रहरले लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गरिरहेका छन् । अघिल्लो बुलमा पत्रु कम्पनीबाट धोका पाएकाहरु केही सम्हालिए पनि अघिल्लो बुलको चोट नपरेकाहरु अहिले पनि महँगो मूल्य हालेर साह्रै कमजोर र उचालिएका कम्पनीहरुतर्फ आकर्षित भईरहेका छन् । धेरथोर पक्का डुबिन्छ भन्ने जान्दाजान्दै लगानीकर्ताहरु हौवामा लागेर साह्रै कमजोर कम्पनीलाई साह्रै महँगो मूल्य हालिरहेका छन् ।

हुन त पैसा पनि तपाईंको, कारोबार पनि तपाईंको, घाटा भए घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको, त्यसैले तपाईंको कारोबार तपाईंको अधिकार जरुर हो । तर किन्ने बेला आँखा चिम्लेर पत्रु कम्पनी किन्ने अनि डुबेपछि फलानोले टोपी लगायो, फलानो टोपी माष्टर भयो भन्ने पनि तपाईं नै हो । अहिले यस्तै पत्रु कम्पनी किन्ने, र भोलि बजारमा घाटा भयो भनेर आन्दोलन गर्ने पनि तपाईंहरू नै हो । जानेरै रिस्क लिइरहनु भएको छ भने त भन्नु केही छैन, तर खेलाडीको भाषामा यदि तपाईं मुर्गा बन्दै हुनुहुन्छ भने सचेत हुन जरुरी छ । किनकि उचालिएका कम्पनी किन्दा लगानीकर्ता पछारिने नै हो । विगतमा कुनै अमुक फाइनान्समा डुबेकाहरुलाई सोधे हुन्छ १५०० मा किनेको सेयर ५०० मा पनि बेच्न नसक्ने दिन आउँदा त्यसको पीडा कति हुन्छ भनेर ।

तर जब बुल आउँछ, लगानीकर्ता दायाँबायाँ हेर्दैनन् । अलिकति घट्न लागेपछि त बेचिहाल्छु नि भनेर पत्रु कम्पनी महँगोमा किन्छन् । अनि जव कम्पनी घट्न थाल्छ, केहि करेक्सन मात्र हो भनेर कसैले गरेको गफमा भुलिन्छन् । अनि अझ घट्न थालेपछी, अव धेरै घटिसक्यो अव घट्दैन, अबको स्विङमा बेच्ने हो भन्छन्, जव आफूले किनेको मूल्यमा सो सेयर आउँछ, फाइदामा त बेच्न सकिएन अव त के बेच्नु भन्छन् । जव सो सेयरमा घाटा हुन थाल्छ, तव फाइदामा त नबेचेको अव घाटामा के बेच्नु बरु थोरै थप्छु, एभरेजिङ गर्छु भन्नतिर लाग्छन् । अनि केही पनि नदिने कम्पनीमा सर्वश्व सकिन्छ, तव कोही टोपी माष्टर भन्दै फलानोले किन्न लगाएको भनेर सराप्न थाल्छन्, कोही राष्ट्र बैंकलाई गाली गर्न थाल्छन्, कोही यही भिडियोको तल गाली गर्न थाल्छन् । तर सत्य के हो भने, जुन समान किनिएको थियो, सामानमा खोट छ भन्ने जान्दाजान्दै किनेको सामान बिग्रियो भनेर सामान बेच्नेलाई गाली गर्नु व्यर्थ हो । सेयर बजारमा पनि त्यस्तै हुन्छ ।

अहिले पनि केही अमुक समूहले केहि पत्रु कम्पनीका सेयरहरु उचालिरहेका छन् । सुरुमा ५०० को सेयर २००० पुर्याएर अरुलाई लोभ देखाउने, अनि ५००० टार्गेट भनेर प्रचार प्रसार गर्ने । त्यसपछि जव बीचतिर लगानीकर्ताहरु सो सेयरमा उत्साहित भएर लाग्छन्, तव आफु लाग्ने । कसैले घाटा भयो भनेर कराउन थाल्यो भने, तिमीलाई त के घाटा छ र, मेरो तिम्रो भन्दा १५ गुणा घाटा छ भनेर नभएको हिसाब बुझाउने । अघिल्लो बुलमा पनि यस्तै भएको थियो, यसपाली पनि यस्तै भइरहेको छ । र त नेताहरुले पनि कुरा उठाउन थालेका छन्, कम्पनीको हैसियत अनुसारको मूल्य भएन । भलै उनीहरुलाई पनि गर्नुपर्ने त्यहि राजनीतिबाहेक केही छैन ।

अहिले सेयर बजार हेर्दा त्यस्तै कमजोर कम्पनीहरुले सर्किटका सर्किट लगाईरहेका छन् । हुन त खेलाडी छिरेपछि सर्किट लाग्नु पनि नौलो कुरा होइन । नियोजित रुपमा सर्किट लगाउन जहिले पनि खेलाडीलाई ठुलै पैसा चाहिन्छ भन्ने पनि छैन । भएभरको सेयर आफुसँग हुँदा पनि अमुक मान्छेलाई ठुलो संख्यामा बाई अर्डर राख्न लगाएर सेयरको मूल्य उचाल्ने काम भइरहेको छ । अनि त सेयर भएको आफूले नबेच्ने, र ठुलो संख्यामा बाई आफ्नै मान्छेले राख्ने भएपछि सेयरको भाउ बढ्ने भईहाल्यो । यो सब देखिरहेका सोझा लगानीकर्ताले जव महँगो मूल्यमा सेयर किन्ने रहर व्यक्त गर्छन् तव ती खेलाडीहरु महँगो मूल्यमा सो सेयरबाट बाहिरिन्छन् । झट्ट हेर्दा न कानुनको बर्खिलाप, न नियामकले डण्डा चलाउने ठाउँ । अनि त सोझा लगानीकर्ताको धोती न टोपी हुन्छ, खेलाडीले पैसा सोहोर्छन् । सोझा लगानीकर्ताले अनुभव मात्र कमाउँदा ठुला खेलाडीहरुले महँगोमा सेयर भिडाएर पैसा बटुल्छन् ।

बजारमा त्यस्तै केही कम्पनी छन्, जसको नेटवर्थ हेर्दा हाँसोउठ्दो छ, तर तिनैको सेयर भाउ लोभलाग्दो छ । त्यस्ता कम्पनीमा सर्किट लागिरहेका छन्, जसमध्ये कोही राष्ट्र बैंकले कारवाही गर्न ठिक अवस्थामा छन्, कोही अहिले नै डुब्ने हो कि भोलि नै डुब्ने हो भन्ने अवस्थामा छन् । त्यस्ता केही फाइनान्सको सेयर भाउ यसरी उचालिएको छ कि, ती फाइनान्सको हरिबिजोग स्थितिबारे कसैलाई थाहा छैन । अझ कतिपय लगानीकर्तालाई त सो कम्पनी पहिला नै खराब स्थितिमा पुगिसकेको थियो, बल्ल बल्ल तंग्रिएको हो भन्ने पनि थाहा छैन । नाफा कमाउँदा १ करोड हाराहारीमात्र कमाउने कम्पनीको सेयर भने करोडौंको किन्ने लगानीकर्ताले अझ त्यस्ता कम्पनीलाई नै सुन देखिरहेका छन् । जव कि राष्ट्र बैंकले थोरै मात्र कसिलो नीति ल्याए ति कम्पनी लसुनको भाउमा पनि बिक्नेवाला छैनन् ।

फाइनान्समात्र होइन, केही बिकास बैंकको हालत पनि यस्तै छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरिसकेको बिकास बैंकको सेयर मूल्य अचम्मलाग्दो गरी बढेको छ । अझ सोझा लगानीकर्ताहरु त्यस्तै कम्पनीको सेयरमा झुम्मिईरहेका छन् । तर तीतो यथार्थ के हो भने, ती कम्पनी डुब्ने संघारमा हुन सक्छन्, तर त्यस्ता पत्रु कम्पनीमा अनेक टार्गेट राखेर बसेकाहरुको कुरा पत्याएर सोझा लगानीकर्ताहरु त्यस्तै पत्रु कम्पनीमा फसिरहेका छन् ।

सेयर बजारमा बिहीबार ५.२९ अंकको करेक्सन आउँदा नेपाल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। कम्पनीको सेयर भाउ ९.९६ प्रतिशतले बढेर प्रति कित्ता २,१५४ रुपैयाँ पुग्यो।

यसरी तातोन छारोको स्थिति हुने तर सेयरको भाउ भने अत्यन्तै माथि रहेकामध्ये होटल पनि पर्दछन् । प्रति सेयर आम्दानी नै ऋणात्मक, प्रति सेयर नेटवर्थ सय रुपैयाना भन्दा कम भएको होटल अहिले बर्षकै हाई प्रेसमा पुगेको छ । त्यस्ता केही हाइड्रोको स्थिति पनि त्यस्तै छ । न त्यो हाइड्रोले केही दिने वाला छ, न प्रति सेयर आम्दानी सकारात्मक छ । बरु नेटवर्थ १०० मुनि छ । तर त्यस्तै हाइड्रोमा पोजेटिभ सर्किट लागिरहेको छ । लो क्याप कम्पनीहरुमा खेलाडीहरुले यसरी खेल्छन् कि उनीहरुले सुरुमा सबै सेयर सस्तोमा उठाउँछन् । सस्तोमा उठाएपछि प्रचारप्रसार गर्छन् । ती सेयरको बिरोध गर्नेहरुको सत्तो सराप गर्छन् । यहीं तल कमेन्टमा ती खेलाडीका चम्चाहरु कसरी क्याउँ क्याउँ गरिरहेका छन् भन्ने पनि हेर्न सकिएला । अनि सोझालाई टोपी लगाएर ती भाग्छन् ।

हिजो घाटा सहन नसकेर बजारबाट मात्र होइन, जिन्दगीसँग हार खाएर धेरैले आफुलाई मारेका छन् । सो संख्या नबढोस भन्नका खातिर मात्र हाम्रो अनुरोधसहितको खबरदारी हो– अहँ ! कम्पनीको स्थिति नबुझी, लहैलहैमा सेयर नकिन्नुहोस् । आधा केजी गोलभेडा किन्दा त ३ पटक ओल्टाईपल्टाई गर्ने तपाईं, आधा सम्पत्ति खर्चेर सेयर किन्दा कमजोर कम्पनी नकिन्नुहोस्, यसमै तपाईंको भलो हुन्छ । सेयर बजार पैसा कमाउने साह्रै राम्रो ठाउँ जरुर हो, तर बजार निर्मम पनि हुन्छ, यो तथ्यलाई नजरअन्दाज नगर्नुहोस् ।

बाँकी त हामीले हिजो पनि यही भनेका हौँ आज पनि यही भन्छौँ । आखिर पैसा पनि तपाईंको, कारोबार पनि तपाईंको । नाफा भए नाफा पनि तपाईंको, घाटा भए, घाटा पनि तपाईंको । आगे तपाईंकै मर्जी । (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी