×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद्‌मा सेयरका कुराः नारायणी शर्माले किन नबुझी बोलिन् ? बुझेका हरि ढकाल के भन्छन् ? (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL

संसद्‌मा सेयरका कुराः नारायणी शर्माले किन नबुझी बोलिन् ? बुझेका हरि ढकाल के भन्छन् ? (भिडियोसहित)

९ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार बियरिस चक्रमा हुँदा, लगानीकर्ताको सम्पत्ति स्वाहा हुँदा ती नेताहरुलाई कुनै चासो भएन । तर जव बजार बुलिस लयमा गयो, जनताका छोराछोरीले केही पैसा कमाए, तव नेताहरुलाई यतिसम्मको पिरलो भएको छ कि के भन्ने ? सेयर बजारको ‘स’ र डिम्याटको ‘ड’ नबुझेकाहरु पनि कनिकुथी सेयर बजारका बारेमा बर्बराउन थालेका छन् । जसलाई न सेयर बजारको ज्ञान छ, न बजार कसरी चल्छ भन्ने थाहा छ । न बजारमा लगानीकर्ताले कसरी कारोबार गर्छन् भन्ने थाहा छ, न यसको विधिविधान बारे थाहा छ । थाहा छ त मात्र यति थाहा छ, सेयर बजारमा पचासौँ लाख लगानीकर्ता छन् र यस विषयमा बोलियो भने नोटिसमा आइन्छ ।

यो देशको प्रतिनिधि सभामा नारायणी शर्मा नामधारी सांसद पनि छिन् भन्ने कुरा हिजोसम्म कि उनकै क्षेत्रका मान्छेलाई मात्र थाहा थियो, कि उनका आसेपासेलाई मात्र थाहा थियो । तर सेयर बजारबारे नकारात्मक के बोलेकी थिइन्, अहिले उनी सामाजिक संजालमा भाइरल छिन् ।

विहीबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रकी सांसद नारायणी शर्माले नेपालको सेयर बजार बिचौलियाको हातमा रहेको बताएपछि उनको चर्चा र विवाद चुलिएको छ । सेयर बजारबारे उनको चासो भन्दा पनि बजारलाई देखाएर सरकारलाई कमजोर देखाउने र लगानीकर्तालाई तर्साउने नियत पो थियो कि भन्ने शंकाका बीच उनलाई समर्थन गर्ने थोरै र अचाक्ली गाली गर्नेहरु बढेका छन् ।

संसद्‌मा बोल्दै सांसद शर्माले अहिले सेयर बजार उकालो यात्रा देखेर ढुक्क भएर नबस्न सरकारलाई आग्रह गरेकी थिइन् । शर्माले आम सर्वसाधारण भन्दा सेयर बजारमा विचौलियाको पहुँच धेरै हुनुले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न नसकेको बताएपछि यसले बजारलाई सिधा असर गर्ने बुझेका लगानीकर्ताले सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरिरहेका छन् ।

लगानीकर्ताको प्रश्न छ- यदि उनको बोलीमा सही नियत थियो भने वा सेयर लगानीकर्ताको हित उनको उद्देश्य हो भने हिजो बजार बियरिसमा हुँदा उनी कहाँ थिइन् ? लगानीकर्तालाई कसैको सहानुभूति नै ठुलो कुरा भएका बेला उनी किन चुप थिइन् । लगानीकर्ताको सर्वश्व गुम्दा केही नबोल्ने अनि अहिले लगानीकर्ताले दुईचार पैसा कमाए भनेर उनलाई किन औडाहा भयो ? नजानेको विषयमा बोल्न कसले उचाल्यो ? संसद्‌मा पढेको कुरा कुनचाहिँ बजार विरोधीले टिपेर दियो ?

सेयर बजार निकै संवेदनशील बजार हो । यहाँ नेताले के बोले भन्ने कुराले खास अर्थ राख्छ । केही समय अघि पनि सांसद अमरेश कुमार सिंहले सेयर बजारका बारेमा बोल्दा पनि बजार नमज्जासँग घटेको थियो । अव यिनी शर्माले बोलेर कतिको घरमा रुवाबासी चल्ने हो थाहा छैन । अनि के जनता रुँदा यीनीहरुको मुहारमा चमक आउने रहेछ ? जनताले पैसा कमाउँदा यीनीहरुलाई किन छटपटी हुन्छ ? सेयर बजारका बारेमा जानी नजानी संसद्‌मा बोल्नुको नियत के हो ? जनता जान्नचाहान्छन् माननीयज्यू ।

नेपाली सेयर बजारमा थुप्रै समस्या छन्, जसका बारेमा थोरै मात्र बोल्छन् । अझ माओवादी नेताहरु त झन् लगानीकर्ताका पक्षमा निकै कम बोल्छन् । सुप्रिमो प्रचण्ड सट्टाबजार भन्ने, बाबुराम माओवादीबाटै अर्थमन्त्री हुँदा जुवाघर भन्ने, अनि बजार बढेको बेला नारायणी शर्माहरुलाई तनाव हुने । जनार्दनहरुको हावा भरिएको तर्क र अन्य सांसदले बेला बेला बोल्ने कुराको त झन् के गन्ती । माओवादीलाईचाहिं जनताले पैसा कमाएको किन चित्त बुझ्दैन हँ ? सेयर बजारका समस्याहरु समाधान गर्नुपर्ने ठाउँ धेरै छ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन भएको एक वर्ष पुग्न लाग्यो । यसबीचमा ३ वटा सरकारसङ्गै ३ अर्थमन्त्री परिवर्तन भए । तर अध्यक्षको नियुक्ति भएन । यसको बारेमा ती नेताहरुलाई मतलव छैन । बोर्डको नेतृत्व अलपत्र मात्रै पारिएन, मन्त्रालयको प्रतिनिधिको रुपमा जाने सहसचिव समेत ३ महिनामा तिनचोटी फेरियो । लगानीकर्ताको चिन्ता गर्ने मात्र हैन, बजार ब्यवस्थित पार्ने र बिकास गर्ने बोर्डलाई कमजोर बनाएर, अझ लगानीकर्ताप्रति खुबै मायाभाव उराल्नु ‘आफैँ धामी र आफैं के जाती’ भनेजस्तो भएन र ? संसद बैठकमा सेयर बजार किन किन बढ्यो ? बजारमा विचौलिया धेरै छन् कि लगानीकर्ता धेरै ? कुन कम्पनीको भाउ कति हुनुपर्छ ? भनेर चिन्ता गर्नुभन्दा हाम्रो अर्थतन्त्र किन चलायमान भएन ? पूँजिगत खर्च किन हुँदैन ? राष्ट्रिय गौरबका आयोजनाहरु किन अलपत्र परे भनेर छलफल गरेको भए बेस हुन्थ्यो नि, होइन र ?

सेयर बजार जोखिमको बजार जरुर हो । यहि रिस्कमा गेन देखेर लगानीकर्ताले सेयरमा लगानी गर्ने हो । यो सत्यबारे अलिकति पनि जनाकार नभएको शैलीमा सेयर बजारमा राजनीति प्रवेश गराएर माओवादीले जे गर्दैछ, त्यसले अलिअलि बाँकी रहेको माओवादी सिध्याउँदैछ । यस विषयमा ख्याल गरेको राम्रो ।

अर्थमन्त्रीमा विष्णु पौडेलको इन्ट्री भएदेखि घरदेखि अफिससम्म, चोक, चिया पसल, स्कूल, कलेज जताततै सेयर बजारकै चर्चा चुलिएको छ । केहिले पूरानो घाटा पूर्ति गर्दैछन्, केही जान्नेले कमाउँदैछन् । सरकारलाई ठुलो मात्रामा राजश्व आएको छ । सेयर बजार बढ्दा खासमा घाटा कसैलाई छैन । तर, नजानी नजानी, मुख अमिलो पारेर सेयर बजारकै बारेमा कनिकुथि बोल्न के खाँचो थियो ? जनताले बुझ्न सकेनन् ।

यसो त देशमा यो हदसम्मको बेथिति छ कि सेयर बजारका बारे बोले भाइरल भईइन्छ र नोटिसमा आइन्छ भन्ने स्वार्थ छ माननीयहरुलाई । अघिल्लो संसद्‌मा सेयर कारोबार र नेप्से भन्ने नै नबुझेका मान्छे सेयर बजारबारे गठित संसदीय समितिका प्रमुख बनेको विषयदेखि अहिले त झन क्यापिटल मार्केटको ‘क’ नबुझेका मान्छेहरु बहुतै विज्ञ बनेर संसदको समय बर्बाद पारिरहेको तथ्यसम्म हेर्दा हाम्रा माननीयहरुलाई सेयर शिक्षा दिनुपर्ने अवस्था देखिंदैछ ।केही साताअघि अर्थसमितिको बैठकमा सेयर बजारबारे भएको छलफल झन् सुनिनसक्नु थियो । धितोपत्र बोर्डको काम धितो लिने हो भन्ने आशयका अभिव्यक्ति दिने सांसदबाट सेयर बजारको विकासको अपेक्षा गर्नू हुटिट्याउँले आकाश थाम्छ भनेझैँ हो भन्ने कुरामा अव दुईमत रहेन ।

संसारको कुन मुलुकमा सेयर बजार बढ्यो भने जनताको प्रतिनिधित्व गर्ने सांसदलाई औडाहा हुन्छ ? संसारको कुन मुलुकका सांसदहरु सेयर बजार बढ्दा रन्थनिदै पुँजीबजारप्रती नै जनताको बिश्वास घटाउनेगरी बर्बराउँछन ? आफ्नो पार्टी सरकारमा हुँदा एउटा सामान्य कर्मचारी नियुक्ति नगर्ने, बर्षौसम्म संसद्‌मा अड्केको विधेयक पारित नगर्ने तर आफ्नो जिम्मेवारी र दायित्व भुलेर कथित सेलिब्रिटी बन्न ‘कसैले लेखेर दिएको चिर्कटो’ बाचन गर्नेहरुले कस्तो उदारवादी खुलाबजार अर्थतन्त्रको अभ्यास गर्न खोजेका हुन ? बरु, माननीयज्यूहरु आउनुस, संविधानमा लेखिएको खुला बजार अर्थतन्त्र अनि पुँजीवादको बाटो हुँदै समाजवादसम्म पुग्ने अर्थतन्त्रको बाटोमा पुँजीबजारको स्थान कहाँनेर हुन्छ भन्ने बिषयमा बहस गरौं ।

कहिलेकाहीं त यस्तो लाग्छ धन्न बजार बुझेका हरि ढकाल संसद्‌मा छ, र लगानीकर्तालाई कोहि आफ्नो भएको आभास भएको छ । धन्न सेयर बजारबारे माननीयहरुलाई बुझाउन सक्ने कोहि छन् संसद्‌मा । बजार घटेका बेला, लगानीकर्ताका पक्षमा, बजारका पक्षमा बोल्ने उनैमात्र थिए । अरु नेताहरु त सेयरलाई बहाना बनाएर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्दैछन् । यो तथ्य बुझेर, नबुझेकाहरुसँग दोहोरी खेलेर काम छैन, यसले बजारलाई झन् धुमिल बनाउन सक्छ भन्ने बुझेर नै अहिले हरि ढकाल चुप देखिन्छन् । तर अव बोल्नुपरेको दिन एक हरि ढकाल मात्र होइनन्, थुप्रै नेपाली लगानीकर्ताहरु बोल्नेछन् । त्यसैले गर्नुपर्ने काम गरौँ, जनताका पक्षमा बोलौं, जानेको विषयमा कि नबोलौं, कि विज्ञको राय लिएर बोलौँ । संसद जनताका लागि कानुन बनाउने थलो हो, जनतालाई कंगाल बनाउने थलो होइन । माननीयज्यूहरुलाई चेतना भया । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी