Skip to content
LAXMI SUNRISE BANK

‘आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक’

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको उद्योगी व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले सोमबार नवनियुक्त मुख्य सचिव एक नारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए ।

‘महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,’ उनले भने । उनले निजी क्षेत्रको मर्यादा क्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन समेत मुख्य सचिव अर्यालसमक्ष आग्रह गरे ।

‘सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बन्दा लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्नुपर्‍यो ।’

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए ।

उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK