काठमाडौँ । इटहरी उपमहानगरपालिका-६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताएकी छिन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् ।
दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन् । उनले पोलेको सानो मकै घोगा रु २० र ठूलो मकै रु ४० सम्ममा बिक्री गर्दै आएकी छिन् ।
उनले भनिन्, ‘विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।’ दिनमा मकै बेचेर रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् । ‘महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ’, उनले भनिन् ।
इटहर-२ की पार्वती चौधरी तीन वर्र्षदेखि मकै पोलेर बिक्री गर्दै आउनुभएको छ । उनले भनिन्, ‘बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।’
मकै प्रतिघोगा रु १० देखि रु १५ मा खरिद गरेर रु २० देखि रु ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताएकी छिन् । फुर्सदको समयमा उहाँले बिहान जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु ।’
इटहरी-६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको जनाइन् । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकीछिन् । मण्डलले भनिन्, ‘अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।’ महिनामा रु २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनको भनाइ छ । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्