×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीको सेयरमा जानी जानी किन फस्दैछन् लगानीकर्ता ? पोजेटिभ सर्किट पछाडी अचम्मको चलखेल ! (भिडियो विश्लेषण) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णालीको सेयरमा जानी जानी किन फस्दैछन् लगानीकर्ता ? पोजेटिभ सर्किट पछाडी अचम्मको चलखेल ! (भिडियो विश्लेषण) 

Artha Sarokar

१४ मंसिर २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय अर्थशास्त्री तथा पूँजी बजार विश्लेषक आरएन भाष्करले कुनै बेला भनेका थिए, ‘सेयर बजार भनेको खालीबाटोमा हिंडेको एउटा जँड्याहाजस्तै हो, कुन बेला कता जान्छ थाहा नै हुन्न । एक अनुभवी पूराना सेयर लगानीकर्ताले पनि भन्थे- ‘नेपालको सेयर बजार र मुड स्विङ श्रीमती उस्तै हुन्, कुन बेला रिसाउँछन्, कुन बेला खुसी हुन्छन् थाहा नै हुन्न ।’ अव त झन् नेपाली सेयर बजारमा यतिसम्म अराजक चलखेल हुन थालेका छन् कि मानौँ यो सेयर बजार नभई अरु केही बजार हो । पैसाको पावर देखाएर, सोझा सेयर लगानीकर्ताहरुलाई टोपी लगाईदिने बदनियत राखेर मुट्ठीभरका सेयर खेलाडीहरुले जे गरिरहेका छन्, त्यसले सोझा लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा मात्र परेको छैन, नेपाली सेयर बजारमा नियामकीय भूमिकामाथि नै शंका उब्जिने स्थिति देखिएको छ ।

अव विषय प्रवेश गरौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई मंगलबार नेपाल राष्ट्र बैंकले समस्याउन्मुख भन्दै कारवाही गर्यो । वित्तीय स्थिति सार्है नाजुक भएपछि नियामक राष्ट्र बैंकले कर्णालीलाई वित्तीय कारोबार गर्न नै रोक लगायो । राष्ट्र बैंकले सूचना निकालेको दिन सो कम्पनीको सेयर मूल्य स्वाभाविक रुपमा घट्यो । तर राष्ट्र बैंकले समस्याउन्मुख भनिसकेपछि आत्तिएका सेयर लगानीकर्ताले अझै पनि ‘कोही आउनुपर्छ र यो सेयर किनिदिनुपर्छ, अनि म भाग्नुपर्छ’ भन्ने आसय जानेगरी यो कम्पनीको सेयर मूल्यलाई उचाले र सार्है अस्वाभाविक ढंगले टाँट पल्टिने संकेत देखिएको बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । राष्ट्र बैंक पनि ट्वाँ, धितोपत्र बोर्ड पनि ट्वाँ । फण्डामेण्टलका मात्र कुरा गर्ने झन् ट्वाँ, कर्णालीमा आँखा नगएकाहरु पनि ट्वाँ । कर्णालीकै कर्मचारी पनि ट्वाँ, राष्ट्र बैंकको स्थलगत रिपोर्टिङका लागि पुगेकाहरु त झन् ट्वाँ । र सबै ट्वाँ परेको स्थितिका बीच भोलि को गवाँ गवाँ रूनुपर्छ भन्ने थाहा छैन । कारण जुन कम्पनीको आम्दानी स्रोत सुकिसक्यो, कम्पनी बिग्रिसक्यो, त्यो कम्पनीमा चलिरहेको बजार मूल्य अस्वाभाविक मात्र थिएन, शंकास्पद पनि थियो । कारोबारको अन्तिम दिन केहि घटे पनि यो कम्पनीमा ठुला खेलाडीहरु अझै पनि कम्पनीको सेयर मूल्य बढाउन के गर्न सकिन्छ भन्ने सोचिरहेका छन् । कारण बढेको छ, बढ्छ भन्ने देखाएर, सोझालाई फसाएर उनीहरुलाई उम्कनु छ, र टोपी लगाईदिनुछ अबुझ लगानीकर्ताहरुलाई ।            

कर्णाली लो क्याप कम्पनी हो, अर्थात केहि पैसावाल मान्छेले चाहंदा यो कम्पनीको सेयर मूल्य माथि जान गाह्रो छैन । पैसावाल ठुला खेलाडीहरुले यो बैंकको सेयर सुरुमा सस्तोमा किने । बजारमा जति बाँकी अरुका नाममा सेयर छ, त्यो भन्दा कयौँ गुणा बढी सेयर आफ्नै साथीभाइलाई बाइ अर्डर राख्न लगाएर कृतिम रुपमा कम्पनीको सेयरमूल्य बढाए । जव ओहो यो कम्पनी त बढेको बढ्यै छ भनेर सेयर लगानीकर्ताहरु आउनेवाला थिए, पूराना लगानीकर्ताहरु सो सेयर बेचेर निस्कनेवाला थिए । तर झ्याप्प यहि बीचमा राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको सूचना आयो, तव राष्ट्र बैंकसँग रिसाएका ती पैसावालहरुले राष्ट्र बैंकलाई नै च्यालेन्ज गरेर कम्पनीको सेयर मूल्यमा सर्किट लगाए ।

त्यसपछि त बजार भनेकै कमजोर कम्पनीको भाउ बढ्ने ठाउँ त होइन ? के राम्रा कम्पनीको सेयर मूल्य कहिल्यै बढ्दैन ? जस्ता चर्चाहरु सुरु भएका छन् । यतिसम्म कि अव त कुनै कम्पनीको सेयर भाउ बढ्न थाल्यो भने, यो कम्पनीमा कुनै न कुनै समस्या त छैन ? भनेर शंका गर्नुपर्ने अवस्था नआउला भन्न सकिने अवस्था छैन । 

खासमा सेयरको मूल्य कम्पनीले गरेको व्यापार, कम्पनीको संस्थागत सुशासन र कम्पनीको वित्तीय अवस्था हेरेर बढ्नुपर्ने हो । तर कर्णाली डेभलपमेन्ट बैंकको त आर्थिक कारोबार नै ठप्प भईसकेको छ, वित्तीय अवस्था झुर छ, कर्पोरेट गभर्नेन्स भागेका सहकारीको भन्दा खत्तम भईसक्यो । फेरी यहि कम्पनीको सेयरमूल्य उचाल्न खोजिएको छ ।  पछिल्लो एक वर्षमा कर्णालीको सेयर मूल्य २७१ रुपैयाँबाट तीन गुणाभन्दा माथि पुगेको छ । र सेयर बढ्नुको कारण कर्नरिङ बाहेक केहि छैन । ठुला खेलाडीहरुले पैसाको पावर देखाएरबाहेक यो कम्पनीको सेयर मूल्य बढ्नुको कुनै कारण पनि छैन । नेपालमा रहेका बिकास बैंकहरुमध्ये सबैभन्दा झुर स्थिति रहेको बैंकको सेयर मूल्य यसरी उचालिएको छ कि मानौँ, यो सेयर बजार होइन, फुर्ती देखाउ बजार  हो । अनि यस्तो अवस्थामा नियामकहरुको मौनताले खेलाडीहरुलाई प्रसय दिएको छ, जसका कारण सोझा लगानीकर्ताको ठुलो पैसा डुब्ने देखिन्छ । 

राष्ट्र बैंक स्वयमले डुब्ने अवस्था आउन लागेको संकेत दिएको कम्पनीको सेयर मूल्यमा सर्किट लागेको रमाइलो त छँदै छ, यहाँ नियामक राष्ट्र बैंकले पनि, धितोपत्र बोर्डले लगानीकर्तामाथि मजाक गरिरहेका छन् । बैंकले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ७.७२ प्रतिशत खराब कर्जा सहितको वित्तीय विवरण पेस गरेको थियो । यहि बेला नियामक नेपाल राष्ट्र बैंकले सुपरिवेक्षणका क्रममा निष्कृय कर्जा ४०.८५ प्रतिशत रहेको पाएको छ । राष्ट्र बैंकले भनेजस्तै ४०. प्रतिशत निष्क्रिय कर्जा थियो भने बैंकले ७.७२ प्रतिशतमात्र खराब कर्जा छ भनेर भन्दा राष्ट्र बैंकले पत्याईदियो ? अनि लगानीकर्तामाथि राष्ट्र बैंकको कुनै दायित्व भएन ? धितोपत्र बोर्डको त झन् के कुरा गर्नु ? त्यहाँका हाकिमहरु जित्न सकिन्न भन्ने पक्का हुँदाहुँदै पनि बोर्डको अध्यक्ष बन्ने दौडमै भ्याईनभ्याई थियो ।  यसरी नियामकको लाचारीपनाले सिधासिधा फसिरहेका छन् लगानीकर्ताहरु । जान्ने बाठाहरु फसाएर टाप कसिरहेका छन् ।  

हुन त सोझालाई फसाउन तयार भएर बसेका ठुला खेलाडी र तिनका भाडाका टट्टूहरुको तर्क हुन्छ, किन्नेले किनिरहेका छन्, बेच्नेले बेचिरहेका छन्, अरुलाई केको खसखस । तर कुरा यहाँ किनबेचको मात्र होइन, नियामक अभिभावक हुनुपर्ने बेलामा खेलाडीकै आफ्नो बनेर सोझा लगानीकर्ताहरुमाथि सौतेनी व्यवहार देखाईरहेको छ भन्ने कुरा गम्भीर छ । नियामकको लाचारीपनाका कारण, सेयर बजारमा मौलाएको विकृतिले कयौंको घरबार उजाडिने जोखिम झनै गम्भीर विषय हो । इतिहास साक्षी छ, सेयरमा फसेर, थुप्रैले आफ्नै गलामा पासो लगाईसके, विष पिईसके, खोलामा हाम फालिसके । लगानीकर्ताको रक्षा नियामकको धर्म होइन र ?

हामी फेरि पनि भन्छौँ, नेपालको सेयर बजार सबैका लागि होइन । यहाँ सबैले पैसा कमाउँदैनन् । नपढी, नपरी, यहाँ कसैले पैसा कमाउँदैन, उनीहरुले कमाउने भनेको दुखद् अनुभव मात्र हो । पैसा त तिनले कमाउँछन् जसलाई सेयर बजारमा लड्डु देखाएर बिष पिलाउने बानी परेको छ । अनि कहाँ मैले पिलाएको हो र ? उसले नै लड्डु मागेर खाएको हो भन्ने तर्क दिने बानी परेको छ । हामी फेरी पनि भन्छौँ, कमजोर वित्तीय अवस्थाका कम्पनीहरुमा लगानी गर्दा हजार बार सोच्नुपर्छ । नियामकले नै समस्याउन्मुख भएको कम्पनीमा लगानी गर्नु भनेको कुनै बेला क्यापिटल मर्चेन्ट, नेपाल सेयर मार्केट्स फाइनान्समा पैसा डुबाएर आज पनि रोहिरहेकाहरुको साथी बन्नु हो । बाँकी त फेरी पनि पैसा तपाईंको कारोबार तपाईंको । नाफा भए नाफा पनि तपाईंको, घाटा भए घाटा पनि तपाईंको । (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी