Skip to content
LAXMI SUNRISE BANK

एनसेलले एनपीएलका चौका वापत २६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने

अर्थ सरोकार

काठमाडौँ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २६ सय भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने भएको छ । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिक कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने जनाएको छ ।

क्रिकेटदेखि कक्षा कोठासम्मको यस नविन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ ।

विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेल २६ चौका वापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छन् । त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।

एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK