काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा कुल एक करोड २८ लाख ४३ हजार ७ सय २४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
एक समारोहकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा बाट पारित १ः१ अनुपातको हकप्रद निष्काशनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड बाट हुनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड २०६९ साल भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्वन्धि काम/कारोबार गर्दै आइरहेको छ । कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत, बैंक/वित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार/व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु छन् ।