काठमाडौँ । इतिहास साक्षी छ, नेपालमा साना साना बहाना बनाएर ठूला ठूला दुर्घटना घटाइएका छन् । मदन भण्डारीको निधन भयो वा उनलाई मारियो, अहिलेसम्म खुलेको छैन । बाहिर आएका कुरा जनताले पत्याएका छैनन् । आज पनि स्वर्गीय राजा बिरेन्द्रको बंशनास दिपेन्द्रले गरेका हुन् भन्ने जति किताब लेखिए पनि, जति डकुमेन्ट्री बने पनि जनताले पत्याएका छैनन् । सुशील कोइरालाको निधन सामान्य निधन थियो वा अरु केहि, यस विषयमा खोजिनिधि नै गरिएन, प्रचण्डपुत्र प्रकाश दाहालको निधन सामान्य थियो वा अरु केहि, खोजिनिधि नै गरिएन । तत्कालीन पर्यटनमन्त्रीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सो दुर्घटना मौसम खराबका कारण मात्र थियो वा अरु केहि, बाहिर नै आएन । पछिल्लो समय, यति एयरलाइन्सको दुर्घटना दुर्घटना थिएन, बरु गम्भीर लापरवाही थियो भन्ने तथ्य बाहिर त आयो, तर यो तथ्य बाहिर आउने बेलामा थुप्रै नेपालीले ज्यान गुमाइसकेको पनि वर्ष पुगिसकेको थियो । यसपालि पोखरामा बेलुन पड्किनु पनि फगत दुर्घटना थियो, वा भित्री षड्यन्त्र केही थियो भन्ने विषय बाहिर आउन जरुरी छ ।२० लाख आन्तरिक पर्यटन भित्र्याउने भन्दै सुरु गरिएको पोखरा भ्रमण वर्ष उद्घाटनको कार्यक्रममा जसरी बेलुन पड्कियो, जसरी पोखराका मेयर र अर्थमन्त्री विष्णु पौडेलको ज्यान जल्नेगरी घटना घट्यो, सो घटना सामान्य दुर्घटना थियो वा नियोजित षड्यन्त्र भन्ने विषय अव खोतलखाताल गर्नुपर्ने बेला आएको छ । हुन त यस विषयमा छानविन समिति पनि गठन भएको छ,तर यो छानविन समिति पनि उही दरबार हत्याकाण्ड छानविन गर्न बनेको समितिले भटटट बन्दुक पड्केको भनेजस्तै हुरुरुरु आगो बल्यो भन्ने प्रतिवेदन नआओस् । र यसका लागि हामी सबैको खबरदारी आवश्यक छ ।
कुरा शनिबारको हो । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो । समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए- नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए । कार्यक्रममा यतिसम्म लापरवाही गरिएको थियो कि प्रविधिका नाममा कुनै पनि सुरक्षाको व्यवस्था नै गरिएको थिएन । बरु आगोसँग खेल्न खोजिएको थियो । स्टेजमा जताततै आगोको लप्का छोड्ने फायर मेसिन चलाइएको थियो । त्यसैको नजिक हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा ठुलै दुर्घटना हुन्छ भन्ने सामान्य विषयलाई पनि नजरअन्दाज गर्दा आगो बल्यो, अर्थमन्त्रीलाई पोल्यो, मेयरमाथि आगो सल्कियो ।
धन्न भाग्य बलियो रहेछ, अर्थमन्त्री र मेयर साप बाँचे । तर बेलुन पड्किएर, आगो लागेर अर्थमन्त्री र मेयर हायल कायल हुँदा पनि स्टेजमा बसेकाहरु मुसुमुसु हाँस्दै थिए, उद्घोषक प्राविधिक कारण भनिरहेका थिए, कसैमा पनि आकस्मिकताको आभास थिएन । यसले घटनालाई थप रहस्यमयी बनाएको छ । यो घटना बारे भित्री तहसम्म पुगेर अनुसन्धान हुनैपर्छ । कुरा दुर्घटनाको मात्र होइन, कुरा दुर्घटनाभित्र कतै अदृश्य शक्तिले गलत योजना त बुनेको थिएन भन्ने विषय हो । यस विषयमा अनुसन्धान होस्, हुनुपर्छ ।
दुर्घटना त भयो, षड्यन्त्र भए पनि, मात्र दुर्घटना भए पनि । तर पोखरामा मेयर र अर्थमन्त्रीलाई आगोले छोप्दा देशको बिकासको स्थिति भने नाङ्गो देखियो । पोखराजस्तो शहरमा जलनको उपचार हुने एउटा गतिलो अस्पताल पनि बनाएको रहेनछ सकरारले । र त अर्थमन्त्री र मेयरलाई उपचारका लागि काठमाडौँ ल्याइयो । यसबाट अन्तराष्ट्रिय क्षेत्रमा के सन्देश जान्छ । त्यहि पोखरा हो, जहाँ हट एयर बेलुनको प्रचार गरेर व्यवसाय गरिंदैछ । त्यस्तो कहिले पनि नहोस्, तर पर्यटक पनि यसरी नै जले भने उनीहरुलाई त्यहीं उपचार गर्ने ठाउँ नै रहेनछ भन्ने सन्देश जाँदा पोखराको पर्यटनले कसरी बिकास पाउँछ ? अहँ पाउँदैन । पोखरामा भ्रमण बर्ष नमनाउदा पनि देशविदेशबाट लाखौँ पर्यटक आईरहेका छन् । यस्तो ठाउँमा एउटा गतिलो जलन उपचार केन्द्र पनि नहुने भएपछि देशमा सरकार हुनुको के अर्थ भयो र ?
अहिले अर्थमन्त्री र मेयर सापको सुस्वास्थ्यको कामना गरौँ । सामाजिक संजालमा उनीहरुलाई गाली नगरौं । कारण मेयर र अर्थमन्त्री अहिले गाह्रो अवस्थामा छन् । उनीहरुलाई गाली गर्न पूरा जिन्दगी बाँकी छ, त्यसैले अहिले हतार नगरौं । तर जनताको प्रश्नको जवाफ सरकारले जरुर दिनुपर्छ, के पोखरामा एउटा गतिलो जलन उपचार केन्द्र आवश्यक छैन र ? उनीहरु त मन्त्री थिए, मेयर थिए र त सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइयो, त्यहाँ नभए पछि काठमाडौँ आकस्मिक रुपमा हेलिकोप्टरमा ल्याइयो । चिकित्सकहरुका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा आम जनताको चिन्ता कसलाई छ ? काठमाडौँको सानदार मममा काम गर्ने मजदुरहरुको ज्यान जल्दा उनीहरुलाई थोत्रो गाडीमा राखेर अस्पताल पुर्याइयो । यस विषयमा कोहि बोलेनन् । अन्ततः उनीहरुको प्राण गयो । आगोले मान्छे चिन्दैन, के मजदुर, के मन्त्री, सरकार पनि त त्यस्तै हुनुपर्ने होइन र ?
सरकारले कान खोलेर सुनोस्, जनता र सरकारबीच यति ठुलो खाडल हुने भए सरकार हुनु र नहुनुको खास भिन्नता छैन । जनतालाई आगोले पोल्दा जति पोल्छ, जति दुख्छ, त्यहाँ भन्दा बढी सरकार नहुँदा पोल्छ, सरकार नहुँदा दुख्छ । यो घटनाबाट पाठ सिकेर, जनतालाई पोल्दा पनि उपचार हुने अस्पताल बनुन्, मन्त्री र मजदुरबीच आगोको मामलामा भेदभाव नहोस् । पोखरामा हटएयर बेलुनका नाममा चलिरहेको व्यवसाय कतिको सुरक्षित छ ? त्यहाँ बेलुन भित्र कुन ग्याँस भरिएको छ ? यस विषयमा पनि सरकारले ध्यान देओस् ।
विज्ञहरुका अनुसार मेला, महोत्सव र विभिन्न समारोहमा प्रयोग गरिने हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुन्छ । हाइड्रोजन हल्का हुने भएकाले बेलुनमाथि उड्छ । यस विषयमा सबै सचेत हुनुपर्छ । किनकि आगोले शरीर मात्र पोल्दैन, मन पनि पोल्छ ।
जे नहुनु त्यो भयो, छानविन होस् । यहि बेला आगोले पोलिहाल्यो भने तपाईं हामीले के गर्ने भन्ने विषय पनि बुझौँ ।
विज्ञका अनुसार आगोले छाला पोल्नेबित्तिकै सबैभन्दा पहिला पोलेको भाग चिसो बनाउनुपर्छ । तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ । पोलेको ठाउँमा घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ । तर, पोलाइ बढी नै छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । छिटो भन्दा छिटो अस्पताल नै जानुपर्छ ।
जलनको प्राथमिक उपचारका बारेमा पनि सबैले ध्यान दिनुपर्छ । सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ । भने छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउँदा हुन्छ । पोलाई गहिरो हुँदा पनि समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने लगायतका समस्या हुन्छ, यो विषयमा ख्याल गर्नुपर्छ ।
आशा गरौँ, हाम्रा अर्थमन्त्री र मेयरलाई छिट्टै निको हुनेछ । अपेक्षा गरौँ यो घटनाबाट पाठ सिकेर सरकारले जलन उपचार केन्द्र सातै प्रदेशमा निर्माण गर्नेछ । आशा गरौँ, पोखराको बेलुन पड्केको घटनाको पनि निष्पक्ष छानविन हुनेछ । कोहि दोषी प्रमाणित भए उनीहरुलाई सजाया हुनेछ । र फेरी पनि भन्छौँ- आगो सँग नखेलौं । पानी रिसाए पछि बाढीको बितण्डा निम्त्याउँछ, आगो रिसाएपछि त कसैले आथ्था पनि भन्न नपाई सिद्धिने अवस्था आउन सक्छ । सबै सबैलाई चेतना भया । (भिडियो)