×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बीमा दाबी भुक्तानीका नाममा तातो आँशुको व्यापार नगर…’ (सम्पादकीय)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘बीमा दाबी भुक्तानीका नाममा तातो आँशुको व्यापार नगर…’ (सम्पादकीय)

Artha Sarokar

६ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । एक पटक सोच्नुस् त, तपाईं बैंकमा चेक लिएर जानुभयो । तपाईंको खाताबाट पैसा झिकेर दियो । अर्थात, नियम पूरा गरेर तपाईंले तपाईँको पैसा झिक्नुभयो । अब भन्नुस् यस्तो बेलामा बैंकले पख्नुस् पख्नुस् बैंकले तपाईंलाई पैसा दियो भनेर एउटा फोटो खिचौँ भनेर बैंकका कर्मचारीले खिचे र सोसल मिडियामा हाले भने त्यो भन्दा भद्दा मजाक अरु केही हुन्छ र ? हुँदैन । किनकी बैंकको काम नै तपाईंले राखेको पैसा झिकेर दिने हो । बैंकमा पैसा दिँदा त्यो बेला मात्र सो घटना समाचार हुन्छ, जुन बेला समस्याग्रस्त बैंकले तपाईंलाई पैसा दिन्छ ।

अब हाम्रा बीमा कम्पनीलाई हेरौँ त । बीमा गरेपछि दाबी भुक्तानी दिनु उनीहरुको कर्तव्य हो । तर, तपाईंलाई धेरै बीमा कम्पनीका कर्मचारीले दुईचार भाषण नदिई, एउटा फोटो नखिचाई पैसा दिँदैनन् । अझ बीमा दाबी भुक्तानी दिन अदालत जाउ भन्ने बीमा कम्पनीहरुले त आजकल दुईचार मिनेट भुक्तानी पाउने बिमितलाई बोल्न लगाएर मात्र चेक दिन्छन् । 

बिचरा बिमितको पीडा अर्कै छ । यति नगरौँ पैसा नै नदेलान् भन्ने पीर, गरौँ, आफ्नो प्यारो मान्छे बितेपछि आएको रकम दिँदा बीमा कम्पनीका कर्मचारी हर्ष बढाई गर्छन्, अझ ताली पिटेर उत्सव मनाउँछन् । अझ कुरा यतिमा मात्र सीमित रहन्न । मृतकका आफन्तले यति दाबी भुक्तानी पाउनुभयो भनेर सामाजिक सञ्जाल रंगाइन्छ । बिमित र बिमितका आफन्तको गोपनियताको अलिकति पनि प्रवाह नगरी उनीहरुका व्यक्तिगत विवरणहरु छरपस्ट गरिन्छ । 

यस्तो काममा पछिल्लो समय सूर्यज्योति लाइफका कर्मचारी सबैभन्दा अगाडि छन् । अझ, अंगद खड्काहरुले सहजै बीमा दाबी भुक्तानी नगरेको खबर सार्वजनिक भएपछि त फुर्सदिला बनेका सूर्यज्योतिका कर्मचारीहरु गोप्य राख्नुपर्ने बिमितका विवरणहरु सामाजिक सञ्जालमा छरपष्ट पारिरहेका छन् । यो सरासर अपराध हो । गोपनियताविरुद्धको कसुर हो । तर, संजालमा यस्तो मनपरी चल्दा पनि आफ्ना कर्मचारीहरुलाई सूर्यज्योतिले कारवाही गर्दैन । गरोस् पनि कसरी, गरेको भोलिपल्ट हाकिमकै हर्कत बाहिरिने डर होला । होइन भने यस्ता गलत प्रवृत्ति रोकिनुपर्छ । पीडाका बेला दाबी भुक्तानी दिनु कम्पनीले गरेको समाजसेवा होइन, कर्तव्य हो । पीडाका बेला पीडामाथि बिजनेश गर्नु सही हुनै सक्दैन । 

यसमा समस्या हामी मिडियाहरुको पनि छ । कम्पनीले गर्वका साथ फलानोलाई यति दाबी भुक्तानी दियौँ भनेर प्रेस रिलिज पठाउँछ, हामी छाप्छौँ । सुरुवात आफैँबाट गर्नुपर्छ भनेझैँ हामीले आजकै मितिबाट त्यस्ता समाचार प्रकाशन प्रशारण नगर्ने अठोट लिएका छौँ । किनकी बीमा कम्पनीले दाबी दियो त के ठूलो काम गर्यो ? मासु बेच्नेले मासु नै बेच्ने हो, लुगा बेच्नेले लुगा । बैंकले पैसा भुक्तानी गरेजस्तै बीमा कम्पनीले दिने बीमा दाबी भुक्तानी नै हो । अझ बीमा दाबी भुक्तानी गर्दा गोपनियताको अलिकति पनि ख्याल नगरी बिमितका वैयक्तिक विवरण सार्वजनिक गर्नु गलतमात्र होइन कसुरजन्य कार्य हो । यस्तो कार्य रोक्न सबैको ध्यान जाओस् । बीमाका नाममा दर्दको व्यापार गर्नु मानवीयताको सिमा रेखा भित्र पर्नै सक्दैन ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी