काठमाडौँ । कुनैबेला समय यस्तो थियो, मोबाइलमा रिचार्ज गर्न पहिला पसल गयो, कार्ड घोट्यो, नम्बर हेरीहेरी थिच्यो, गर्नुपर्थ्यो । त्यो पनि कहिले नक्कली कार्ड परेर हैरान, कहिले रिचार्ज नभएर हैरान । महँगो रिचार्ज गर्न पैसा हुन्न, ५० को रिचार्ज कार्ड किन्दा पसलेले पुलुक्क हेर्थ्यो, १०-२० रुपैयाँको रिचार्ज गर्न कम्ती गाह्रो थिएन ।
आमाको दिन बिजुलीको बिल तिर्न लाइन लागेरै जान्थ्यो, हवाई टिकट किन्न कि एयरपोर्ट, कि ट्राभल, कि एयरलाइन्सकै अफिस जानुपर्थ्यो । पैसा बोकेर खाजा खान गयो, पकेटमारको फन्दामा पर्दा उल्टो बेइज्जत । खुल्ला छैन भनेर धेरैले चकलेट भिडाउंथे, घुम्न जाँदा घुमेको रमाइलो भन्दा पनि पकेटको पैसाको चिन्ता हुन्थ्यो । विस्तारै इसेवाको समय आयो । इसेवाले इसेवाका नाममा कति गलत काम गर्यो, देशको कानु मिच्यो, त्यो पछि चर्चा गरौँला, तर इसेवाको सो युग सुनौलो थियो । विस्तारै धेरै कुरा सहज हुँदै गए । रिचार्ज कार्ड युगको लगभग अन्त्य भयो । अहिले कुनै पनि महसुल, स्कुलको फी, खानेपानीको बिल, टेलिफोनको रिचार्ज, एयरलाइन्सको टिकट सबै वालेटमा आएको छ । भलै अहिले इसेवा नै चाहिन्छ भन्ने छैन । इसेवा भन्दा धेरै राम्रा र इसेवाभन्दा बढी सुरक्षित अन्य वालेटहरु बजारमा छन् । तर डिजिटलाईजेसनको सुरुवात इसेवाले नै गरेको थियो, र यो इतिहासका लागि इसेवालाई साधुवाद भन्नैपर्छ ।
जति जति इसेवाको प्रगति हुँदै थियो, इसेवा त्यति नै सम्हालिनुपर्ने थियो । तर विस्तारै इसेवा विभिन्न गलत काममा जोडियो । नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति नै नलिई वित्तीय कारोबार गर्न थाल्यो, नेपालमा प्रतिबन्धित कारोबार पनि इसेवाबाट हुन थाल्यो । सुरुमा केहि गलत काम गर्यो, सो गलत कामलाई छोप्न थप गलत काम गर्यो, त्यसलाई पनि छोप्न राजनीतिको साहारा लियो । र त डिजिटलाईजेसनको एउटा युग ल्याउने सामर्थ्यवान इसेवा राजनीतिको कन्दनीमा परेर बदनाम भयो । दिनहरु बित्दै गए, डिजिटल युगको जसलाई प्रयोग गर्नुपर्ने ठाउँमा इसेवा संचालक घमण्डी बने ।
हुँदाहुँदा इसेवा संचालकको समाचार सार्वजनिक गरेको भनेर कम्पनी एउटा स्वतन्त्र संचारमाध्यमको सिष्टमभित्र छिर्यो र समाचार नै हटाईदियो । आफ्नो सिष्टम ह्याकरबाट जोगाउनुपर्नेमा इसेवाका संचालक आफैं ह्याकर बने । परिणाम, इसेवा चौतर्फी बहिष्कारमा पर्यो । इसेवा गलत थिएन, तर इसेवाका संचालकको शैली ठिक छँदै थिएन । जनतासँग विकल्प थिएन, राजनीतिक नेतृत्वलाई पनि व्यवसायीको हात नसमाई चुनाव जित्ने विकल्प थिएन ।
तर, विस्तारै इसेवाको एकाधिकार भंग भयो, बजारमा खल्ती, आईएमई पे जस्ता वालेटहरु आए । हरेक बैंकले आफ्नै वालेटहरु बनाए । मोरुजस्ता नयाँ वालेटहरु बिकसित भयो । यहि बीच इसेवाभित्र पनि राजनीति सुरु भयो । इसेवाका जन्मदातामध्येका एक अस्गर अलि इसेवा छोडेर राजनीतिमा लागे । इसेवामा नयाँ सेयरधनी भित्रिए, बच्चा देखि हुर्काएको इसेवा बैंश युगमा नपुग्दै सुबास सापकोटा कम्पनीमा सीइओ बने । यहाँसम्म इसेवाको ठिकै चल्दै थियो । काठमाडौँ प्रेसमाथिको हवाला काण्डले बदनाम बनेको इसेवा पुन: लयमा फर्किंदै थियो । तर, फेरी इसेवालाई अर्को खड्को आईपर्यो । सीइओ सुबास सापकोटा इसेवा छोडेर यति एयरलाइन्सको सीइओ हुन गए, कोचिङ्ग सेन्टरमा विद्यार्थी पढाईरहेको एक लक्का जवान ठिटो जगदीश खड्का सीइओ भए । सुबासका उत्तराधिकारी मात्र होइन, पढाईले चार्टर्ड एकाउन्टेन्ट हुन् जगदीश । टेक्नोलोजीका ज्ञाता नभए पनि उनीमा व्यवस्थापकीय क्षमता राम्रो छ भन्ने चर्चा थियो बजारमा । तर संस्थाभित्र कोसँग के कुरा मिलेन कुन्नि, जगदीश खड्का सीइओ भएर गएपछि इसेवाको उँधोगति सुरु भयो । कम्पनीको टेक्निकल टीम उनीसँग चिडिएन मात्र, उनको कार्यकाल असफल बनाउन हात धोएर लागेको छन् इसेवाका केहि ठुलै हैसियतका कर्मचारीहरुको एउटा टोली । र यहि टसलले इसेवा भित्रभित्रै खोक्रो भईरहेको छ । जनताको अरवौं कारोबार गर्ने इसेवा, लाखौँ जनताको डाटा बोकेर बसेको इसेवाको सुरक्षा प्रणालीमाथि प्रश्न उठेको छ । इसेवामात्र पटक पटक बिग्रिएको छैन, इसेवा अपराधीको अखडा बनिरहेको छ । इसेवामा रहेका लाखौँ जनताका डाटा असुरक्षित मात्र देखिएका छैनन्, इसेवा नै असुरक्षित देखिएको छ । कारण इसेवा घरीघरी प्ले स्टोरबाटै हराएको छ, इसेवामा ग्राहकको पैसा हराएका घटना बेहिसाब छन् ।
अव मूल प्रसङ्गतिर आऔँ,
आजकल इसेवा यति धेरै बिग्रिन थालेको छ, त्यति धेरै त थोत्रो मोटलसाइकल पनि बिग्रिंदैन । इसेवा यति धेरै बिग्रिन थालेको छ, त्यति त रिसाएकी श्रीमतीको मुड पनि बिग्रिंदैन । इसेवा यति धेरै बिग्रिन थालेको छ कि, इसेवाले सेवा अवरुद्ध भएको सूचना र फेरी सेवा सूचारु भएको सूचनाको ग्राफिक्स बनाउने छुट्टै मान्छे नै राख्नु परेको छ । इसेवा यतिधेरै बिग्रिन थालेको छ कि प्रयोगकर्ताहरु इसेवा अव सधैंका लागि बन्द गरिदिए हुन्छ भन्नेसम्ममा पुगिसके । इसेवा यति धेरै बिग्रिन थालेको छ कि, उसले नियमित धेरै ग्राहक गुमाईसक्यो । पहिला पो उसको विकल्प थिएन । अहिले त अरु थुप्रै वालेटहरु छन्, इसेवा भन्दा बढी सुरक्षित छन् । ती वालेटहरु इसेवाजस्तो प्ले स्टोरबाटै हराएको सुनिएको छैन । कस्टमर सर्भिस इसेवाको जस्तो झुर छैन । र त इसेवामात्र बिग्रेको छैन, ग्राहकको संख्याको हिसाब पनि नमज्जासँग बिग्रिएको छ इसेवामा । परिणाम, बजारमा लाजैमर्दो भएपछि इसेवामा कार्यरत राम्रा कर्मचारीहरु भकाभक जागिर छोडिरहेका छन्, मर्चेन्टहरु इसेवा भन्दा बढी अर्को सर्भिस प्रोभाईडरसँग व्यापार गरिरहेका छन् ।
इसेवामा पटक पटक समस्या आउन थालेपछि आजकल पान पसल देखि रेष्टुरेन्टहरुले पनि सकेसम्म इसेवा प्रयोग नगर्न भनिरहेका छन् । कतिपय बैंकहरुले त इसेवाबाट भुक्तानी लिंदैनौं भनेर घोषणा नै गरिरहेका छन् । इसेवाबाट काटिएको प्लेन टिकटको भर छैन, बेलुकी काट्दा विहानको काटिने समस्या छ, टिकट काट्यो आफैं क्यान्सिल हुने समस्याले धुरुक्कै रुवाएको छ, कतिपय ठाउँमा बिजुलीको पैसा इसेवाबाट तिर्दा आएकै छैन भनेर जरिवाना तिर्नुपरेपछि ग्राहकहरु झन् वाक्क भएका छन्, समग्रमा भन्दा इसेवाले आफ्नो सेवामात्र कमजोर बनाएको छैन, बरु समग्र ग्राहकको डिजिटल भुक्तानीप्रतिको मनोवल नै गिराउने काम गरेको छ । धन्न अहिले अरु वालेट पनि छन् र जनतासँग विकल्प छ ।
इसेवा बिग्रिन थालेपछि धेरै ग्राहकहरु समस्यामा परे । पठाओ र इन्ड्राइभ चालक मर्कामा परे, रेष्टुरेन्टहरुको हिसाब बिग्रियो, ग्राहकहरु खाए पछि पैसा नतिरेको जस्तो देखिएर हैरानीमा परे । खायो, पियो, पैसा तिर्ने बेलामा इसेवाको भर पारिएको थियो, वालेट नै चलेन के गर्नु ? पाठाओ चढ्यो, इसेवाबाट पैसा तिर्छु भनेर लाग्यो, वालेट नै चल्दैन । सापटी दिएको मान्छे सापटी फिर्ता गर्छु भनेर आयो, तर वालेट चलेन । गाह्रो पर्दा काम लाग्ने इसेवा आफ्नो भएन । आफ्नो नभएपछि जनतासँग अर्को वालेट प्रयोग गर्नुको विकल्प भएन । फोनमा स्पेस बेकार किन भर्नु भनेर त्यसपछि इसेवा अनस्टल गर्नेहरु बढे ।
इसेवा किन यति धेरै बिग्रिरहन्छ ? इसेवाको दाबी छ, लोड बढी भएर । तर होइन, लोड बढी भएर मात्र होइन, इसेवामा ठुलो प्राविधिक समस्या छ, जसकारण इसेवा यति धेरै बिग्रिरहेको छ भन्छन् त्यहींका प्राविधिकहरु । बनाउँ भन्यो, केहि समयलाई काम चलाउँ भन्ने कुरो आउँछ, सीइओ टेक्नोलोजी बुझ्दैनन्, टेक्नोलोजीमा काम गर्नेहरु सीइओको ठाडो भाषा बुझ्दैनन्, बुझे पनि रिसाउँछन् । हाकिमले हाकिमको पारा देखाउन थालेपछि संस्थामा काम गर्ने वातावरण बिग्रिन्छ, र त इसेवामा जगदीश खड्का सीइओ भएपछि इसेवामा दिनहुँजसो समस्या आईरहेको छ ।
इसेवामा जगदीश खड्का सीइओ भएपछि अहिले इसेवाले हराएको बर्ष मनाईरहेकोझैं भएको छ । प्ले स्टोरबाट एप हरायो, फाइनान्सबाट भेन्डरको बिल हरायो, कर्मचारीमा कन्फिडेन्स हरायो, ग्राहकप्रतिको इमान हरायो, ग्राहकको विश्वास हरायो, नियामकको आश हरायो, एपभित्र सजिलोपन हरायो, काटेको टिकट एपबाटै हरायो, क्रेज हरायो, स्वाभिमान हरायो, माउ कम्पनीकै खाताबाट पैसा हरायो । खै इसेवालाई दशा लागेको हो वा सीइओलाई, संयोग भनौँ वा कमजोरीको परिणाम इसेवामा हराउने सिलसिला जारी छ । कुनै दिन इसेवा नै हराउँदा त अचम्म मानिएन भने तपाईंले इसेवालाई दिएको डाटा हराएर कतै ह्याकरले सार्वजनिक गरिदियो भने पनि अचम्म नमाने हुन्छ । किनकि इसेवा पछिल्लो समय कमजोर मात्र होइन, सार्है असुरक्षित पनि बनिरहेको छ ।
अव प्रसङ्ग उठ्छ, के इसेवा सुरक्षित छ ?
जति बहस गरे पनि, जति तर्क वितर्क गरेपनि यो प्रश्नको सहज उत्तर छ, अहँ इसेवा हुनुपर्ने जति सुरक्षित छैन । इसेवा कहिले प्ले स्टोरबाट हराउँछ भन्ने टुंगो स्वयम् कम्पनीलाई छैन, जुन एपमा हप्तामा २ पटक समस्या आउँछ त्यो एप सुरक्षित छ भन्न सकिने अवस्था छँदै छैन । इसेवा एपकै टुंगो नभएपछि तपाईं हाम्रो पैसा र डाटा सुरक्षित हुने कुरै भएन । र त आज थोरै मात्र प्रविधि बुझेकाहरुमध्ये धेरैले इसेवा चलाउन छोडीसके भन्दा फरक पर्दैन ।
अर्को महत्वपूर्ण कुरा त झन् के छ भने, पछिल्लो समय जसजसको बैंक खाता ह्याकरले ह्याक गरिरहेको छ, तीमध्ये अधिकांशको बैंक खाता इसेवासँग लिंक भएको देखिएको छ । इसेवाको सुरक्षा कमजोरी भित्र पसेर पहिला इसेवा ह्याक गर्ने, र त्यसपछि तपाईंको बैंकखाताबाट पैसा चोर्नेहरुको गिरोह सक्रिय बनेको छ । त्यसैले पनि तपाईंको खातामा इसेवा प्रयोग गर्नुभएको छ भने होसियार रहनुहोला, तपाईंको खाता कुनै पनि बेला रित्तिन सक्छ ।
अझ पछिल्लो समय इसेवाभित्र प्रवेश गर्नका लागि ह्याकरहरुले तपाईंहरुलाई फेसबुक, व्हाट्सएप लगायतमार्फत लिंक पठाईरहेका हुन्छन् । त्यो लिंक तपाईंले क्लिक गर्नुभयो भने तपाईंको फेसबुकमात्र होइन, इसेवा पनि ह्याक हुन्छ । इसेवा ह्याक भएपछि यदी सो इसेवामा बैंक खाता लिंक गरिएको छ भने तपाईंको बैंक खाता पनि रित्तो हुन्छ । यस्ता दर्जनौं केसहरु अहिले प्रहरीमा छन् । तपाईं हामीले पनि यस विषयमा विशेष ख्याल गर्न जरुरी छ ।
इसेवा अहिले साइबर अपराधीहरुलाई अखडा बनिरहेको छ । इसेवा ह्याक गर्न सजिलो हुने हुनाले ह्याकरहरु इसेवालाई रोजिरहेका छन् । नेपालमा प्रतिबन्धित अनलाइन जुवाको ठुलो खाल चलिरहेको छ इसेवामा । तर इसेवा तर्क गर्छ, हाम्रो त प्लेटफर्म हो कारोबारको हामीलाई पत्तो हुँदैन । र त जुवा खेलाउनेहरुका लागि इसेवा बरदान बनेको छ, प्रहरीलाई टाउको दुखाई बनेको छ ।
अनि अव प्रश्न उठ्छ के इसेवालाई राष्ट्र बैंकले नियमन गर्दैन ?
इसेवालाई वित्तीय कारोबारको वालेटका रुपमा काम गर्न राष्ट्र बैंकले स्वीकृति दिएको पक्कै हो । तर बैंक तथा वित्तीय संस्थालाई जसरी राष्ट्र बैंकले इसेवालाई नियमन गर्दैन । यदी राष्ट्र बैंकले नियमन गर्थ्यो भने राष्ट्र बैंकले इसेवालाई कर्णाली डेभलपमेन्ट बैंक अगावै टेकओभर गरिसक्थ्यो । दिनदिने बिग्रिन यस्तो झुर सिष्टम चलाउन राष्ट्र बैंकले दिंदैनथ्यो । र त इसेवा बिग्रिरहेको छ, जनताको पैसा हराईरहेको छ, टिकट काट्ने सिष्टम देखि महसुल तिर्ने सिष्टमसम्म समस्या छ, हेरिदिने, बुझिदिने, खबरदारी गर्ने कोहि छैन । अनि अव तपाईंलाई लाग्दो हो, सरकारले इसेवालाई नियमन गर्नु पर्दैन ? सरकारले यति धेरै जनताको पैसा र विवरण भएको कम्पनीमा निगरानी राख्नु पर्दैन ? के राख्थ्यो ? इसेवालाई अलिकति छुन मात्र खोजे आज सरकार ढल्छ । हिजो सरकारसँगको इसेवा संचालकको साँठगाँठ छ भनेर समाचार लेख्दा काठमाडौँ प्रेसको सिष्टम नै इसेवाका संचालकले ह्याक गरिदिएका थिए । कसले कति कारोबार गर्यो, के मा गर्यो, कहाँबाट गर्यो सबै डाटा भएको कम्पनीसँग न सरकारले निहुँ खोज्छ, न इसेवा सरकारले भनेको सुन्छ । अनि समस्यामा उही नेपाली जनता ।
त्यसो भए अव के गर्ने त ?
हामीसँग सुरक्षित भएर कारोबार गर्नु र आफैं सतर्क हुनुबाहेक केहि विकल्प छैन । इसेवा त बिग्रिरहन्छ, कारण इसेवा फेरी नबिग्रिने गरी बनेकै छैन । फेरी पनि इसेवामा ठुलै समस्या आउने पक्का छ । फेरी पनि एप प्ले स्टोरबाटै हराउने जोखिम उस्तै छ । गलत कारोबारको अखडा बनिरहेको इसेवामा कुनै पनि बेला ह्याकर प्रवेश गर्न सक्छन् र तपाईंको लिंक भएको बैंक खाता रित्याउनसम्म सक्छन् भन्ने तथ्य अव घाम जतिकै छर्लंग छ । न सरकार, न प्रहरी, न राष्ट्र बैंक, न इसेवा स्वयम्, कसैले तपाईंको विवरणको सुरक्षा गर्ने वाला छैन ।
इसेवा नचलाउनुस् भन्न हामीले मिल्दैन, तर इसेवामा बैंक खाता नै लिंक गर्नुभएको छ भने अलि बढी सतर्क हुनुस् है भनेर हामी जरुर भन्छौँ । इसेवा आजै छोड्नुपर्छ भन्दैनौँ, तर विकल्प हुँदा हुँदै असुरक्षित छ भन्ने जान्दाजान्दै किन रिस्क लिने भन्ने विषय तपाईंको विवेकमा भर पर्ने हो । पैसा तिर्न खोजेकै बेला इसेवा नचल्दा कति झ्याउ हुन्छ, तपाईंले बुझ्नुभएकै हुनुपर्छ । कति ठाउँमा बेइज्जती सहनुपरेको हुनसक्छ । बाँकी त तपाईंको मोबाइल, तपाईंको इक्षा । खाता ह्याक भए दुख तपाईंलाई नास तपाईंको । हामीले त भन्ने हो, भनिदियौं ।
इसेवाले कुनै बेला राष्ट्र बैंकको अनुमति नलिई कारोबार गर्थ्यो । यो गलत भयो, राष्ट्र बैंकको अनुमति लिनुपर्छ भनेर हामी पहिलो पटक बोल्यौँ । त्यतिबेला एउटा जमातले हामीलाई यति गाली गर्यो कि के भन्ने, त्यति गाली त अहिले मुकुल ढकाललाई रास्वपाका कार्यकर्ताले पनि गर्दैनन् होला । फेरी इसेवा बहिष्कार अभियान चलायो । हामीले इसेवा बहिष्कारका नाममा इसेवाको योगदानचाहिं बिर्सनुहुन्न है भन्यौँ, हामीलाई फेरी पनि यति गाली आयो कि त्यति गाली श्रीमतीको जन्मदिन बिर्सिंदा श्रीमानले पनि खाँदैन होला । अहिले पनि इसेवाले साइबर सेना खटाएर हामीलाई गाली गर्न नलगाउला भन्न सक्दैनौं, तर जति गाली गरे पनि यति चाहिं जरुर भन्छौँ, इसेवा सुध्रिनुपर्छ । कि सच्चिन तयार हुनुपर्छ, कि सक्किन । थोत्रो मोटरसाइकलका पाठपुर्जा बिग्रिरहेजसरी इसेवालाई बिग्रिन छुट छैन । लुकामारी खेलेजसरी घरी प्ले स्टोरबाट, घरी एपस्टोरबाट हराउने छुट छैन ।
इसेवा संस्थागत रुपमा पनि कति कमजोर भईसक्यो भन्ने उदाहरण कम्पनीका सीइओको रेस्पोन्स पनि हो । इसेवा त सार्है खत्तमै हुन लाग्यो, प्रयोगकर्ताहरु पीडामा छन्, कारण के हो ? कति दिन वालेट बिग्रिन्छ ? भनेर प्रश्न गर्न खोज्दा कम्पनीका सीइओ जगदीश खड्का भेटेरै कुरा गरौँ, भोलि नै भेटौं भन्छन्, भोलि फेरी फोन उठाउँदैनन् । प्रश्नबाट भाग्छन् । यति ठुलो कम्पनीको प्रवक्ताको डिटेल वेव साइटमा छैन । एक जना म प्रवक्ता हुँ भन्दै आउँछन् तर मिडियासँग बोल्नै मिल्दैन भन्छन् । गुनासो सुनुवाई अधिकृत छन्, तर उनको फोन बिरलै उठ्छ । हुन त एक दुई गुनासो भए पो फोन उठाउन साध्य । हुन त सीइओ सापलाई पनि थाहा हुँदो हो, मलाई सोधिने प्रश्नको जवाफ मैसँग छैन । अनि किन उठ्थ्यो फोन ? किन सुनिन्थ्यो प्रयोगकर्ताको गुनासो ।
आशा गरौँ, बिरामी इसेवालाई छिट्टै निको हुनेछ । क्यान्सर लागेको व्यक्तिलाई सिटामोलले छुँदैन, सामान्य डाक्टरको हेरचाहले पुग्दैन । इसेवालाई पनि अव राम्रो डाक्टर चाहिएको छ, राम्रो मेनेजर चाहिएको छ । अहिलेकै थितिमा चल्ने हो भने त उही ओम जय जगदिश्वराय: इसेवा स्वाहा हुनेछ ।
जाँदाजाँदै सामाजिक संजालमा प्रकाशित भईसकेको छोटो मुक्तक:
साँझतिर थाहा पायो, इसेवामा समस्या छ
अनि उधारे साइँलो भट्टी धायो, इसेवामा समस्या छ
सापटी लगेर हराएको साथी, बर्षौँपछि भेटियो
त्यही दिन फेरि सूचना आयो इसेवामा समस्या छ
(भिडियो)