काठमाडौँ । खुलेर भन्न नसके पनि नेपालमा प्राइभेट बैंकमा जागिर खानेको दैनिकी यस्तै छ- बिहान जुरुक्क उठ्यो, हातमुख धोयो, खाना पकायो, खायो, अफिस कुदिहाल्यो । दिउँसो कामको तनाव, टार्गेटको प्रेसर, क्लाइन्टको किचकिच, कस्टमरको रिस, हाकिमको गाली सहनु नै छ । बेलुकी अबेर घर फर्कियो, खाना पकायो, खायो सुतिहाल्यो, किनकी भोलि फेरि अफिस जानू नै छ ।
जबजब मसान्त लाग्छ, मन उसै असान्त हुन्छ । रिकभरीको तनाव, बढेको कामको तनाव, के के हो के के ? तलव आउने दिनदेखि दुईचार दिन खुसी भयो, यताउता तिरोतारो, सरसपट उधारो तिर्दातिर्दै तलव सकिहाल्यो, पाँचौँ दिनदेखि फेरि तनाव । धन्न बोनसले श्वास भरिएको छ । बल्ल बल्ल पाएको जागिर नगरेर के गर्नु ? र त मनै नलागे पनि जागिर गरिएकै छ ।
मान्छेले देख्दा बैंकरको जिन्दगी कम्ति हरिप छैन । टक्क टाइ शुट लगायो, आइडी कार्ड भिर्यो, बैंक छिर्यो, एसीमा बस्यो । तर, चीसो एसीमा बस्दा कामको प्रेसरले ज्यान भतभती पोलेको कसले देख्ने ? चिटिक्कको कोटसँगै लगाएको टाई भन्दा कसिला जिम्मेवारी कसले देख्ने ?
बैंकका जागिरेको तनाव यतिकैमा रोकिँदैन । सँगै पढेको साथी विदेशमा छ, दिनभर मस्काउने, चम्काउने, टल्काउने काम गरे पनि रात परेपछी सामाजिक संजालमा उसको फुर्ती बेग्लै हुन्छ । बल्ल बल्ल बिदाको दिन पारेरै भए पनि समुन्द्र छेउ फोटो खिचेर हाल्छ । यता आफ्नो बल्ल बल्ल शनिबार बिदा हुन्छ, त्यही दिन बैंकले ट्रेनिङ भनेर बोलाउँछ । काम नगरौँ टार्गेटको प्रेसर, काम गरौँ कुन बेला कुन गलत ठाउँमा गरेको सहिले जिवनभर पोल्ने हो थाहा छैन । यति मरेर काम गर्दा पनि प्रमोसनका बेला कुमचाहिँ हाकिमको चाप्लुसी गर्नेले उछिन्छ । रात विरात नसुती पढेर बल्ल बल्ल पास गरेर खाएको जागिरमा पावर लगाउनेकै रबैया छ, पावर लगाउनेकै छिटो प्रमोसन छ ।
ओहो ! जिन्दगीमा तनाव छ कि तनावको थुप्रोमा एक थान जिन्दगी छ भनेजस्तै भएको छ आजकल धेरै बैंकरलाई । अनि त्यसपछी के हुन्छ ? के हुनु नि ? बरु ह्या ! विदेश नै जान्छु भन्छ एउटा बैंकर । अनि एक, दुई, १०, ५०, सय हुँदै हजार, हजार हुँदै हजारौँ बैंकरहरु ह्या जागिर ! भन्दै विदेशिन थालेका छन् ।
अहिले विदेश भासिने बैंकरको संख्या यति बढेको छ कि ३० वर्षभन्दा कम उमेर समूहका बैंकर आज विकास बैंकमा, भोलि वाणिज्य बैंकमा र अर्को महिना एयरपोर्टमा भेटिन थालेका छन् । जुनियर अधिकृतहरु त झन्न विदेश जाने क्रम यसरी बढेको छ कि अब केही वर्षपछि बैंकमा मध्यम तहका दक्ष जनशक्तिकोको चरम अभाव हुने देखिन्छ । जागिर खाने समयमा ३ वर्ष बैंक छोड्दिन भन्नेहरु त्यही बैंकमै बसेर विदेशमा अप्लाई गर्छन्, भिसा झरेपछी राजिनामा दिन्छन् ।
अब यो समस्याको समाधान खोज्न आवश्यक छ । कतै हामीले बैंकिङलाई आवश्यक भन्दा ‘टफ’ बनायौँ कि ? बैंकिङ गर्दागर्दै जिन्दगी जिउन नै बिर्सने पो गरायौँ कि ? गम्भीर समीक्षा गर्न आवश्यक छ । बाँच्नलाई जागिर खाने हो, जागिर खानलाई बाँच्ने होइन भन्ने सत्य पो बिर्सियौँ कि ? एक पटक घोत्लिएर सोच्ने बेला भयो कि ? सम्बन्धित सबैको ध्यान पुगोस् । बैंकरका समस्याभित्रै पुगेर हल खोज्ने प्रयत्न गरियोस् ।