×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यज्योति लाइफमा मरेका मान्छेको पनि बीमा ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्यज्योति लाइफमा मरेका मान्छेको पनि बीमा ! (भिडियोसहित)

Artha Sarokar

२ फाल्गुन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । जीवन बीमा । जीवन बीमा भनेकै सुरक्षाका लागि गरिने हो । आफूलाई ठुलै रोग लाग्यो भने औषधी उपचार र घर चलाउन आर्थिक रुपमा सहज हुन्छ र केही भवितव्य भइहाल्यो भने परिवारको भरथेग हुन्छ भनेर गरिने हो बीमा । तर बीमा सचेतना कम हुँदा, अहिले बीमा गर्ने कारण फेरिएको छ । आफ्नो सुरक्षा  भन्दा पनि चिनेको साथी, काका काकी, मामा माइजु, भान्जा भान्जी अभिकर्ता छन्, फोन गरिरहन्छन्, किचकिच सुन्नु भन्दा बरु एउटा बीमा गरिदिन्छु भनेर बीमा गर्नेहरुको संख्या ठुलो छ ।

यसको अर्थ सबै बीमा अभिकर्ताले यसै गर्छन् भन्न खोजिएको पनि होइन । इमानका साथ चल्ने, बीमा बुझाईदिएर मात्र बीमा गरिदिने, साह्रै राम्रा बीमा अभिकर्ताहरु पनि धेरै छन् हाम्रो बीमा बजारमा । तर, बिजनेश बढाउने नाममा केहि फटाहा बीमा अभिकर्ता र बीमाका कर्मचारीहरुले गर्ने मनपरी चर्कै छ । कसैले घर बेचेको थाहा हुनै नहुने, कसैको बोनस आएको खबर पत्ता लाग्ने नहुने, बीमा भिडाईहाल्नेको संख्या दिन दुई गुणा रात चौगुणा बढिरहेको छ । बीमा दाबी भुक्तानी लिनआएकाहरुलाई अर्को बीमा नगरेसम्म भुक्तानी नदिने, पहिला नै अर्को बीमाको फरक मितिमा फर्म भराएर मात्र दाबी भुक्तानीको प्रक्रिया गर्नेहरुको संख्या पनि उतिकै छ । पहिला गर्नै नमिल्ने बीमा गर्ने, पछि भुक्तानी नदिने समस्या बीमा क्षेत्रमा ठुलो छ । र त, केही फटाहा र फन्टुस बीमा अभिकर्ता र बीमा कर्मचारीका कारण बीमा क्षेत्र नै बदनाम भइरहेको छ । आफ्ना साला, साली, श्रीमती वा साथीका नाममा डमी कोड बनाएर गैरकानुनी रुपमा अकुत कमाउने बीमा कम्पनीका केही कर्मचारी, र हुने नहुने गफ दिएर बीमा गराउने केही मुठीभरका बीमा अभिकर्ताका कारण बीमा क्षेत्र बदनाम बनिरहेको छ । 

बजारमा बीमाको लोभमा आफ्नै कलिली छोरीलाई मारेको, केही नबुझेको मान्छेको बीमा गरेर, उसलाई मारेर भुक्तानी दाबी गरेको लगायतका घटना असरल्ल छन् । हुँदा हुँदा मरिसकेको मान्छेको बीमा गरेको घटनासमेत सतहमा आएको छ । 

अव तथ्य बुझौँ        
सूर्यज्योति इन्स्योरेन्सले दाबी भुक्तानी दिएन, बरु दुःख मात्रै दियो भनेर अंगद खड्काले मिडिया गुहारे । त्यसपछि सूर्यज्योतिले आफ्नो कमजोरी छोप्न विज्ञप्तिबाजी गर्यो । तर, सूर्यज्योतिले हामी जति नै ठिक छौँ भनेपनि तथ्यहरुले यही भनिरहेको छ, अंगद खड्कालाई प्राधिकरणले मात्र होइन अदालतले समेत बीमा दाबी देउ भन्दा पनि सूर्यज्योतिले बीमा दाबी दिन आनाकानी गरिरहेको छ । र तथ्य यस्तो पनि देखिएको छ कि सूर्यज्योतिबाट मरिसकेका मान्छेको समेत बीमा भएको छ ।   

वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न थप दुई जनालाई प्रहरीले केही समय अगाडी पक्राउ गरेको थियो । जसमा सूर्यज्योति  लाइफ इन्स्योरेन्सका जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकीसमेत थिए । बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चैत २३ गते पक्राउ गरेको थियो ।

उनीहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू प्रहरीले फेला पारेको थियो । अर्थात, मरेको मान्छेको कागजात खोज्यो, झ्यापझ्याप बीमा गर्यो, ठग्यो । यस्तो कामका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सका कर्मचारीको सहयोग छँदै थियो ।  अझ न यो सूर्यज्योतिमा घटेको बदमासीको पहिलो घटना हो, न अन्तिम नै हुनेवाला छ । किनकि पर्दाभित्र यस्ता थुप्रै घटनाहरु घटिरहेका छन्, जसले सूर्यज्योतिमा यस्तोसम्म हुन्छ है भन्ने तथ्य देखाउँछ । एक एक गरी सूर्यको ज्योति देखिएजसरी ती घटनाहरु बाहिर आउने क्रममा नै छन् ।

  

सूर्यज्योति मात्र होइन, हालको प्रभु महालक्ष्मी, तत्कालीन प्रभु लाइफमासमेत बीमाको लोभमा आफ्नै कलिली छोरीलाई मारेको खबर सार्वजनिक भएको थियो । हालको हिमालयन लाइफ, तत्कालीन युनियन लाइफ इन्स्योरेन्समा पनि बीमाको लोभमा श्रीमतीको हत्या गरेको भेटिएको थियो । अझ यीमध्ये प्रभुलाइफको केसमा त बीमा अभिकर्ताले नै यस्तो गलत काम गर्न सिकाएको तथ्यसमेत खुलेको थियो । यी त बाहिर आएका घटनाका केही प्रतिनिधि उदाहरणहरु मात्र हुन्, अहिले पनि गर्नै नमिल्ने बीमा थुप्रै ठाउँमा गरिरहेका छन् बीमा अभिकर्ताले ।

बुझ्दै नबुझी बीमा गर्यो, अझ भिडाईएको बीमा धेरैसमयसम्म टिक्ने कुरै भएन ।  पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने झन्डै ४७ हजार जना बीमितले बीमा पोलिसी सरेन्डर गरेका छन् । आफूलाई हामी साह्रै अब्बल छौँ भनेर बेला बेला विज्ञप्ति निकालरहने, तर अंगद खड्काहरुले बीमा दाबीका लागि अदालत नै जानुपर्ने नियति भोग्नु परेको सूर्यज्योति लाइफको मात्र २ हजार ४८८ वटा बीमा सरेन्डर भएका छन् । सरेन्डर भएका अधिकांश बीमा बढाईचढाई गरेर बेचेका, अनावश्यक लोभ लालच देखाएर गराइएका, बिमितको आर्थिक स्थिति नै नहेरी देखाएका लगायतका छन् । आफ्ना बीमा कम्पनीमा समस्या छ भन्ने स्वीकारेका अन्य बीमा कम्पनीको त कुरै गर्नु परेन ।    

बीमा सरेन्डर बढ्नुको अर्को कारण बीमा कम्पनीबीचको अस्वस्थ प्रतिष्पर्धा त हुँदै हो, घटेको बोनस दर पनि अर्को कारण हो । त्यो भन्दा पनि बढी खास कारणचाहिं बीमा अभिकर्ताले बीमितको आवश्यकता र क्षमताको आधारमा भन्दा पनि आफु अनुकुल जथाभावी व्याख्या गरेर बीमा पोलिसी भिडाएर हो । 

अझ सूर्यज्योतिजस्तो बीमा कम्पनीले त बीमा दाबी भुक्तानी पाउन अदालत नै पुग्नुपर्छ भन्ने भाष्य बनाएपछि पनि धेरै बीमितहरु तर्सिएका छन् । अंगद खड्काकै कहानी सुनेर पनि सूर्यज्योतिको बीमा सरेन्डर गर्नेहरु बढेका छन् । सूर्यज्योति इन्स्योरेन्समा बीमा गरेका खड्काको कहानी सुनेपछि आफुले सूर्यज्योतिको बीमा सरेन्डर गरेको र गर्ने प्रक्रियामा रहेको जानकारी हामीलाई दिनेहरुको संख्या पनि बढेको छ । र पनि सूर्यज्योति भनिरहेको छ, हामी अब्बल छौँ । तपाईंले सुनेका, पढेका सबै कुरा भ्रम हुन्, हामी मात्र सत्य हौँ जसरी सूर्यज्योति बोलिरहेछ । तर, बजारका तथ्य केही फरक छन् ।

अव तपाईं भन्नुहोला, सूर्यज्योतिमा मात्र समस्या छन् र ? सूर्यज्योतिको मात्र किन कुरा गरेको ? अझ सूर्यज्योतिमा हुने नहुने गफ दिएर बीमा गराएका केही अभिकर्तालाई बिमितले यस विषयमा सोध्न थालेपछि त उनीहरुको काम नै अर्थ सरोकारको समाचार, र भिडियोमा आएर सूर्यज्योतिका पक्षमा कमेन्ट गर्ने भइरहेको छ । यहीँ तल पनि त्यस्ता केही फटाहा अभिकर्ताहरुको रोइलो पक्का हुन्छ । सूर्यज्योतिमा पनि धेरै राम्रा अभिकर्ता पनि छन्, धेरै राम्रा कर्मचारी पनि छन्, तर राम्रालाई मनपरी गर्नेहरुले पेल्ने देशमा सूर्यज्योतिले पनि त्यस्तै नियति भोगिरहेको छ, जसकारण आज बिमितहरु बीमा दाबी इन्स्योरेन्सले नदिएपछि बीमा प्राधिकरण जान बाध्य छन् । प्राधिकरणलाईसमेत अटेर गरी सूर्यज्योति उल्टै अदालत गएपछि तारिख धाउन बिमितहरु बाध्य छन् । हरे ! अदालतको तारिख धाउन बीमा गरेको हो र भन्या ? अनि अन्तिम अदालतले फैसला गर्दा दाबी देउ भनेको दिन मान्छे नै रहेन भने त्यो पैसाको के अर्थ ? तपाईं पनि सूर्यज्योतिमा बीमा गर्दै हुनुहुन्छ भने एक पटक आफुले बीमा गराएको अभिकर्ता वा कम्पनीमा गएर बुझ्नुहोला । भोलि फेरी अदालतको तारिख धाउनुपरेको दिन बीमाले दिने रकम भन्दा वकिललाई दिनुपर्ने फी महँगो भयो भने बीमा गरेको कुनै अर्थ नै भएन होइन र ?

हामी फेरी पनि भन्छौँ, अंगद खड्काले बीमा दाबी रकम पाउनुपर्ने थियो, प्राधिकरणले भनेपछि अझ पाउनुपर्ने थियो, अव उच्च अदालतले नै भनेपछि त झनै पाउनुपर्छ । बिन्ती सूर्यज्योतिका सरहरु, मेडमहरु, बिमितले दुख पाउन होइन, दाबी पाउन बीमा गर्छ । भन्नेबेलामा अब्बल छौँ अवार्ड पाएका छौँ भन्ने अनि बिमितचाहिं दाबी पाएनौँ भनेर रुँदै हिड्नुपर्ने ? के यो न्याय भयो र ? बीमा प्राधिकरणमा सूर्यज्योतिका  बढेका बढ्यै गर्ने, अनि सूर्यज्योति नाफा बढ्यो भनेर हाकिमहरुले नाक घिरौंलाजत्रो पार्ने ? मरेको मान्छेको समेत बीमा गर्न सूर्यज्योतिकै कर्मचारीहरु लाग्ने, अनि यस विषयमा समाचार प्रकाशन÷प्रशारण गर्दा हाम्रा कर्मचारीको प्रतिष्ठामा ठेस लाग्यो भन्ने ? हामी भनिरहेका छौं, सूर्यज्योतिमा राम्रा कर्मचारीमात्र छन्, बस् बिगारेको टार्गेटका नाममा मनपरी गर्ने, र सूर्यज्योतिको नाममा पैसाको फूर्ति लगाएर हिड्ने सो कल्ड कम्युनिकेसनका हाकिमले हो। एक पटक कर्मचारी, अभिकर्ता र सोचको गोडमेल गरे, सूर्यज्योतिले साँच्चै सूर्यको ज्योतिलेझैँ उज्यालो दिनेछ । नत्र ज्योति नभएको सूर्य, र इमान नभएको प्रकाशको कुनै अर्थ छैन । यसले सन्तुष्टिको मेघेन्द्र होइन, दर्दको बेग दिन्छ । चेतना भया । (भिडियो) 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी