काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओबादी केन्द्रका सांसदहरुले नेपाल धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषयमा छानविन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठेर बिरोध गर्दै उक्त विषयमा छानविन गर्न माग गरेका हुन् ।
माओबादी केन्द्रका सांसद माधब सापकोटाले धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण २२ महिनादेखि ८९ वटा कम्पनीको आईपीओको अनुमति रोकिएको बताए । ‘धितोपत्र बोर्डमा कमिसनको खेलका कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको छ ।’ उनले भने ‘ यस विषयमा भरपर्दो संयन्त्रमार्फत छानविन गर्नु पर्यो ।’
बोर्डले सानो परियोजनासँग ५ र ठूलासँग ७ प्रतिशतसम्मको बार्गेनिङ गरेको समाचारहरु बाहिरिएको भन्दै सापकोटाले यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र भरपर्दो संयन्त्रबाट उक्त विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न माग गरे ।
यता, नेपाल धितोपत्र बोर्डले भने मंगलबार विज्ञप्ति जारी गर्दै आईपीओ स्वीकृति प्रक्रियामा कमिसन मागेको आरोप भ्रामक भएको बताएको छ । बोर्डले उक्त आरोपहरु पूर्णरुपमा तथ्यहीन र भ्रामक भएको बताएको छ । बोर्डले पूँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता भ्रामक आरोप लगाएको बताएको छ ।