काठमाडौँ । सोमबार प्रहरी कन्ट्रोल रुममा आएको एउटा फोन कलले प्रहरीको ध्यान तान्छ । सो फोनमा आफूलाई पीडित बताउने एक व्यक्तिले दिपेन्द्र अग्रवाल कहाँ छन् र के गरिरहेका छन् भन्ने जानकारी दिन्छन् । गत असार ३१ गते नै पक्राउ पुर्जी जारी भएर प्रहरीले खोज्दै गरेका व्यक्तिको लोकेसन पाएपछि प्रहरीको टोली त्यहाँबाट मुभ हुन्छ र दिपेन्द्र अग्रवालसम्म पुग्छ ।
लगत्तै दिपेन्द्र अग्रवाल पक्राउ पर्छन् । उनी पक्राउ परे लगत्तै फेरी एक जनाले अर्थ सरोकार लगायतका केही मिडियाहरुलाई दिपेन्द्र अग्रवाल पक्राउ परेको सूचना दिन्छन् । हामीले प्रहरीसँग बुझ्दा सूचना पुष्टि हुन्छ । केही मिडियाहरुमा सो खबर सार्वजनिक हुन्छ । त्यसपछि दिनभर सो सूचना यसरी फैलिन्छ कि मानौँ देशमा ठुलै हलचल भएको छ । एक सामान्य सेयर लगानीकर्ता मात्र पक्राउ परेको भए यो खबर त्यति सनसनीपूर्ण नहुने थियो, किनकि कुनै बेला सेयर लगानीकर्ता संघका नेता भएर काम गरेका व्यक्ति पनि अहिले जेलमा छन्, जसको कुनै सोधीखोजी छैन । तर दिपेन्द्र अग्रवाल सेयर बजारका माहिर खेलाडी मानिएकै कारण, उनी मिडियाका हेडलाइन बने, उनका विरोधीले सामाजिक संजाल तताए, उनका समर्थकहरुले पनि तातिएको सामाजिक सञ्जालमा आफ्ना प्रतिवाद गर्ने नै भए ।
काठमाडौँ प्रहरी परिसरले टोखाबाट पक्राउ गरेपछि अदालतबाट अनुसन्धानका लागि ३ दिनको म्याद लिएर अहिले दिपेन्द्र अग्रवाललाई हिरासतमा राखेको छ । काठमाडौँ प्रहरी परिसर प्रमुख विश्व अधिकारीका अनुसार उनलाई ठगी र विश्वासघात कसुरमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
अव बुझौँ भएको के हो ?
यो विषय सेयर कारोबारसँगै लेनदेनसँग सम्बन्धित छ । जाहेरीकर्ताको आरोप छ, दिपेन्द्र अग्रवालसँग पैसा लिनुछ, उनले सेयर दिन्छु भनेका थिए, सेयर पनि दिएनन्, पैसा पनि दिएनन् । तर दिपेन्द्र अग्रवालको कुरा छ, मैले पैसा दिनु होइन, उल्टै लिनुछ । अग्रवालका अनुसार सिप्रभि सेक्युरिटीज नामक ब्रोकर कम्पनीको खातामा अग्रवालले पैसा हालिदिएका थिए, र पैसा सापटीको रुपमा थियो । सो ब्रोकरमा हालिएको कुल ३३ करोड ७३ लाख २३ हजार एक सय ८६ रुपैयाँ ब्रोकरले सेटलमेन्ट गर्न गाह्रो भनेर ब्रोकरले मागे अनुसार दिईएको थियो । तर, सो रकम ब्रोकरले नीतिन शाह र दिनेश शाहको नाममा रहेको लेजरमा सेटल गरिदियो । त्यसपछि बाँकी रहेको पैसा नीतिन र दिनेशको खातामा हालियो । पछि सो रकम फेरि घुमाएर नीतिन र दिनेशले २३ करोड ९९ हजार ९ सय रुपैयाँ दीपेन्द्र, ज्योति र मित्त मुरारकाको एकाउन्टमा हालिदिए । सिएको ३३ करोड, खातामा आयो २३ करोड । बाँकी रकम माग्दा ब्रोकरले निहुँ खोज्यो, र ब्रोकरविरुद्ध केस गरियो । ब्रोकर विरुद्ध पक्राउ पूर्जी जारी पनि भयो, र उनीहरु फरार पनि छन् । यहि बीचमा घटनामा ट्वीष्ट आयो, र जसको खातामा सो रकम एडजष्ट गरिएको थियो, तीनै नीतिन र दिनेशले प्रहरीमा ठगी र अपराधिक विश्वासघातको केसमा जाहेरी हाले । सोहि जाहेरीको आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो । असार ३१ गतेबाट नै प्रहरीले अग्रवाललाई खोजिरहेको थियो तर भेटाएको थिएन । सोमबार लोकेसनबारे जानकारी पाएपछि प्रहरीले उनलाई टोखाबाट पक्राउ गर्यो ।
अव, जाहेरीकर्ता दिनेशको दाबी अर्कै छ । उनको दाबी छ, दिपेन्द्र अग्रवालले दिनुपर्ने पैसा दिएनन्, ठगी गर्न खोजे, अपराधिक विश्वासघात गरे ।
यो केस सरसर्ती हेर्दा पनि सेयर कारोबारबीचको सेटलमेन्टको केस हो भनेर बुझ्न गाह्रो छैन । नियम अनुसार न ब्रोकरले काम गरेका छन्, न कारोबार गर्नेले । अनि सेटलमेन्टमा इस्यु आएपछि दुवै पक्षका आआफ्नै दाबी छन् । यसो त यस्तो सेटलमेन्टको केस यो पहिलो हुँदै होइन । यसअघि सिप्ला सेक्युरिटिज नामक ब्रोकरसँग पनि यस्तै भएको थियो अग्रवालको । कुरा यति हो, यसपटक अग्रवाल पक्राउ पर्नुपर्यो र बजार तातिएको छ यहि विषयले ।
अग्रवाल नै प्रहरी हिरासतमा पुगेपछि उनको नामले चल्ने अल्ट्रा लो क्याप कम्पनीका सेयर मूल्य नमज्जासँग घटेका छन् । अव किन्ने, वा थामिदिने नै मान्छे हिरासत पुगेपछि ती सेयरका भाउ घट्ने नै भए । बाँकी रह्यो कुरा, अग्रवाल दोषी हुन् वा जाहेरीकर्ताको दाबी ठिक छ भन्ने विषय । यस विषयमा प्रहरीले नै अनुसन्धान गरिरहेकोले सत्यतथ्य उतैबाट पक्का आउनेछ, अदालतले के हो ? के होइन ? कसले कसलाई पैसा दिनुपर्ने हो भन्ने विषय पनि पक्कै भनिदेला, तर यसले सेटलमेन्टका नाममा ब्रोकरहरुमा भईरहेको किचलोलाई भने प्रष्ट पारिदिएको छ । जुन सेयर बजारका लागि बिष बनिसकेको छ ।
कुरा के सहि हो के गलत हो भन्ने कुरा त हो नै, तर यहाँ प्रहरीले नै अनुसन्धान गरिरहेका बखत नै दीपेन्द्र अग्रवाललाई ठग करार गर्नेहरुको हुल ठुलो देखिएको छ, जुन सरासर गलत छ । को ठग हो वा होइन, त्यो भन्ने अदालतले हो, सामाजिक संजालले होइन । यो विषयमा सम्बन्धित सबै पक्षले ख्याल गर्नुपर्छ । ब्रोकरहरुले सेटलमेन्टका नाममा अनेक मनपरी गर्छन्, यो रोगको निवारण गर्नुपर्छ भन्ने विषयमा नियामक नेपाल धितोपत्र बोर्डले यहि केसलाई बेस बनाएर सोचोस्, र समाधान गरोस् । सेटलमेन्ट गर्न नसक्ने कम्पनीका लाइसेन्स खारेज गरिदियोस् । जसरी हुन्छ, सेयर बजार बलियो बनोस्, सफा बनोस् ।
दिपेन्द्र अग्रवालका समर्थकहरु पनि आत्तिनुपर्ने कुरा केहि पनि छैन, अनुसन्धानका लागि प्रहरीले पक्रनु ठुलो कुरा होइन । उनी निर्दोष भए बाहिर निस्कीहाल्छन् । दोषी ठहर भए त सजाय पाउनुपरि नै हाल्यो । कुरा यो चाहिं जरुर हो, फरार ब्रोकरका संचालकहरुलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । गर्नैपर्छ । र कुरा यो पनि हो, कि गलत गर्ने जो कोहिले विधिको शासन भएको मुलुकमा प्रचलित कानुनअनुसार सजाय पाउनु नै पर्छ । (भिडियो)