Skip to content
LAXMI SUNRISE BANK

सीआईबीको विज्ञप्ति- ‘ज्योति पाण्डे भाग्दाभाग्दै पक्राउ’, तर अर्थ सरोकारलाई खण्डनपत्र पठाउँदै बैंकको दाबी- ‘सिइओ मन्दिर दर्शन गर्न गएका थिए’

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओलाई सीआईबीले पक्राउ गर्दा ‘भाग्दाभाग्दै पक्राउ’ भनी प्रष्ट उल्लेख गरेको भए पनि बैंकले भने आफ्ना सिइओ धर्मकर्ममा रुची राख्ने हुनाले सिन्धुलीमा मन्दिर दर्शनका लागि गएको दाबी गरेको छ । इमेल इन्टरनेटको जमानामा पनि अर्थ सरोकारको कार्यालयमै दुई कर्मचारी पठाएर खण्डनपत्रको ‘हार्ड कपि’ बुझ्न लगाएको बैंकले खण्डनपत्रमा अर्थ सरोकारले  बैंकका सिइओ पक्राउ सम्बन्धि प्रकाशन गरेको समाचारको समेत खण्डन गरेको हो ।

बैंकले पाण्डे सप्तरीको छिन्नमस्ता भगवती र बाराको गढीमाई मन्दिर दर्शनका लागि जाने क्रममा रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको दाबीसहितको लिंकलाई आधार बनाएको छ । तर, सीआईबीले पक्राउ गर्ने नै दिन रातारात मन्दिर दर्शन गर्न केको हतारो पर्यो भन्ने विषयमा खण्डनमा केही पनि खुलाइएको छैन ।

बैंकले खण्डनमार्फत बैंकको गाइघाट शाखा, तौलिहवा शाखा लगायतमा बैंकका कर्मचारीले निक्षेपकर्ताको पैसा चोरेको विषयलाई पनि बैंकका एकाध कर्मचारीको व्यक्तिगत दुराशययुक्त कार्य भनेको छ । पटक पटक बैंकका कर्मचारीको बदमासी र निक्षेपकर्ताको रकम चोरी भएको विषयमा बनाइएको समाचारलाई बैंकले भ्रामक भन्ने दाबी गरेको छ ।

गाईघाट शाखा होस् वा तौलिहवा, ग्राहकको रकम चोरी भएको विषयमा बैंकमा पैसा राख्दा होसियारी अनपनाउन सचेत गराउने उद्देश्यले सम्प्रेषित समाचारलाई पनि बैंकले भ्रामक भन्दै हटाउन आग्रह गरेको छ । जबकी खण्डनमै बैंकले निक्षेपकर्ताको चोरी भएको रकम फिर्ता गरिसकेको दाबी गरेको छ ।

सीआईबीले हाल सिइओ पाण्डेविरुद्ध अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा बैंकका सिइओ काममा फर्किंदा प्रमाण नष्ट हुने जोखिम भएकोबारे अर्थ सरोकारमा प्रकाशित समाचारलाई पनि बैंकले सबै लिलामी प्रक्रिया कानुनअनुसार नै गरिएको भन्दै अनुसन्धानका क्रममा अभियुक्तले प्रमाण नष्ट गर्न सक्ने गम्भीर विषयलाई सामान्यकरण गरेको छ ।

हेर्नुहोस् बैंकले पठाएको खण्डनपत्र जस्ताको त्यस्तै:

NIMB Khandan

अव हाम्रो भन्नु:
१. सीआईबीको विज्ञप्तिले नै प्रष्ट पारिसकेको छ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे भाग्दाभाग्दै गरेको अवस्थामा सिन्धुली बसपार्कबाट पक्राउ परेका थिए । सीआईबीले विज्ञप्ति नै जारी गरिसकेको कुरामा सीआईबी गलत, बैंकको दाबी सहि भन्न सकिने अवस्था भएन । त्यसैले पनि बैंकले दाबी गरेजस्तो उनी मन्दिर दर्शनका लागि सिन्धुली गएका थिए भन्ने कुरा पत्याउन सकिने कुरा पनि भएन । अर्को कुरा, मन्दिर दर्शन गर्न गएको भए, प्रहरी किन परिचालित भएर उनलाई पक्राउ गर्छ त ? स्मार्ट सेल प्रकरणजस्तो गम्भीर विषयको चौतर्फी चर्चा चलिरहेका बेला र कम्पनीका सिइओसमेत पक्राउ परिसकेको अवस्थामा सो केसमा बैंकको मिलेमतो भएको खबर विभिन्न मिडियामा आएकै दिन मन्दिर दर्शन गर्न किन जानु परेको होला ? यो विषयमा बैंकले केही बोलेको छैन । हामीले सो रात बसपार्कमा सिइओ पाण्डे के गर्दै थिए ? भनेर समाचार लेखेको सत्य हो । सो समाचार लेख्दा पनि हामीले बैंकका अधिकारिक व्यक्तिलाई फोन गरेका थियौँ । सूचना अधिकारीले फोन नउठाउने, सीआईबीले भाग्दाभाग्दै पक्राउ भनी विज्ञप्ति जारी गरेको अवस्थामा पाण्डे मन्दिर दर्शनका लागि गएका थिए भन्ने विषय सोच्ने कुरा पनि भएन । त्यसैले हाम्रो समाचार यो मानेमा भ्रामक हुनै सक्दैन ।

२. बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेले बैंक छोडेको भनी उल्लेखित समाचारलाई पनि भ्रामक भनेको छ । जवकि बैंककै अधिकारीहरुले अर्थ सरोकारलाई ‘अव म सायद तत्काल बैंक आउँदिन’ भनेर बैंक छाडेको जानकारी दिएको तथ्य उनलाई सीआईबीले भाग्दाभाग्दै पक्राउ गरेको विषयसँग मेल पक्कै खान्छ । यो विषय समाचार बनाउँदा पनि हामीले बैंकका सूचना अधिकारीसँग राय मागेका थियौँ, तर उनले फोन उठाएनन् । फोन नउठाएपछि बैंकको आधिकारिक धारणा नआउनु स्वाभाविक भयो । तर, हामीलाई बैंक स्रोतले दिएको पाण्डेले बैंक छाडेको खबर उनी पक्राउ परेको घटनासँग मिल्ने देखियो । हामीले स्रोतसँग राजीनामा हो कि बैंकचाहिँ अव नआउने हो भनेर पनि सोधेका थियौँ । बैंककै उच्च अधिकारीले हामीलाई राजीनामा आएको होइन, अव सकेसम्म बैंक नआउने, उतै कतै बस्ने भनेर दिएको खबर उनी पक्राउ परेको विषयसम्म पुग्दा प्रष्ट जोड्न सकिने अवस्था छ । त्यसैले पनि यो समाचार बैंकले दाबी गरेजस्तो भ्रामक भन्न सकिने अवस्था देखिएन ।

३. बैंकमा अनेक बदमासी भएका छन् । ठाउँ ठाउँमा जनताले राखेको पैसा चोरिएका छन् । यति गम्भीर विषयमा पनि बरु प्रहरीले घटनाको विवरण दियो, बैंकले आफ्नो धारणा दिएन । एक दिन होइन, दुई दिन होइन, धेरै पटक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नै जनताको पैसा चोरिएको खबर आयो । तर, यति गम्भीर विषयमा पनि बैंक बोल्न मानेन । किन ? जनताको निक्षेप रहेको बैंक यतिसम्म जिम्मेवारहीन बन्न मिल्छ ? त्यसपछि हामीले बदमासी गरेर नथाक्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भनेकै हो । अहिले पनि भन्छौँ । बैंकले बैंकभित्र घटेको घटनालाई व्यक्तिगत दुरासय भनेको छ । निक्षेपकर्ताले पैसा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा राखेका हुन्, अनि आफ्नो पैसा चोरिएपछि, बैंकले यो घटनालाई व्यक्तिगत भन्न मिल्छ ? अझ बैंकले नै संस्थागत जिम्मेवारी लिएर प्रहरीसम्म यी घोटाला र चोरीका केस लगेको छ । अनि यो व्यक्तिगत कसरी भयो ? एउटा होइन, दुईवटा होइन, पटक पटक यस्ता घटना बाहिरिएपछि हामीले पैसा राख्नेहरु होसियार भनेकै हो, अझै पनि भन्छौँ । तर बैंक यस्ता घटना व्यक्तिगत भन्छ, जुन मान्न सकिन्न । यसको पूरापूर जिम्मेवारी बैंकले लिनुपर्छ । अझ बैंकले जिम्मा लिएर पैसा फिर्ता गर्यौं पनि भन्छ, फेरी घटना व्यक्तिगत भन्छ, यो त द्वेद कुरा भएन र ?

४. सीआईबीले ज्योति पाण्डेलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको थियो, अदालतले उनलाई हाजिरी जमानीमा छोड्न भन्यो । हाजिरी जमानीमा छोड्नु भनेको उनले सफाई पाउनु होइन । उनलाई विदेश जान रोक लगाइएको छ, सीआइबीले भनेको बेला अनुसन्धानका लागि हाजिर हुनु उनको दायित्व पनि छ, अनि यस्तो बेला उनले प्रमाण नष्ट गर्ने अवस्था वा जोखिम हुँदैन र ? पक्कै हुन्छ । हामीले लेखेको पनि त्यहि हो । अनि यो विषयलाई सबै कुरा कानुनी रुपमा सल्टाइएको छ भनेर उनले प्रमाण नष्ट गर्न सक्ने जोखिम जस्तो गम्भीर विषयलाई छायाँमा पार्न मिल्छ र ?

हामी प्रष्ट छौँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योति पाण्डेविरुद्ध सरकारी सम्पत्ति नै बेचेको आरोप छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । अदालतले हाजिरी जमानीमा छाड्न भनेको अर्थ उनले सफाई पाएको होइन, त्यसैले उनी काममा फर्कंदा प्रमाण नष्ट हुने जोखिम छ । पाण्डे दोषी भए सजाय भोग्लान्, निर्दोष भए सफाई पाउलान्, तर हाकाहाकी प्रमाण नष्ट हुने जोखिमका बीच नै बैंक फर्कनु ठिक भयो र ? पक्कै भएन ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई हाम्रो भन्नु छ, हामी त समृद्ध बैंकिङको परिकल्पना गरेका जिम्मेवार संस्था हौँ । हाम्रो काम नै खबरदारी गर्नु हो । जुन काम हामीले गरेका छौँ, आज पनि गर्छौं र भोलि पनि गरिरहनेछौँ । बरु तपाईंहरुलाई हाम्रो केहि सुझाव छ, मनन गरिदिए राम्रो हुन्थ्यो ।

१. बैंकका धेरै शाखामा ग्राहकको पैसा चोरिएका छन् । यो समाचार हामीले ब्रेक गर्नुभन्दा अगाडी नै तपाईंहरुले नै सुसुचित गरेर अरु निक्षेपकर्ताको पैसा सुरक्षित छ भनिदिएको भए कति राम्रो हुन्थ्यो । यस विषयमा अवदेखि ख्याल गर्नुहोला । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बदमासी विषयमा अर्थ सरोकारमा आएका गुनासाका चाङ्ग कति छन्, हेर्न मन लागे हाम्रो निम्तो भयो । राष्ट्र बैंकमा कति गुनासा छन्, त्यता पनि ध्यान दिनुहोला । अन्य निकाय पनि हेरिरहेकै होला । तर, हामीलाई कसले छुने भन्ने घमण्ड छ भने, माफ गर्नुहोस्, हामी जनताको निक्षेप सुरक्षाका पक्षमा बोलिरहनेछौँ ।

२. कम्तीमा पनि मिडियाको प्रश्न फेस गर्ने सूचना अधिकारी राख्नुहोस् । बैंकका हाकिमले थर्काएर, टर्चर दिएर एउटा बैंकरलाई हृदयघात हुन्छ तर बैंक बोल्दैन । बैंकका डेपुटी सीइओमाथि कष्टमरमाथि दुर्व्यवहार गरेको आरोप लाग्छ, बैंक बोल्दैन । अझ यस्तो कुरामा त खण्डनले यसपाली पनि केहि बोलेन । यो विषयमा पनि बोल्नुहोस् । खराब कर्जाको स्थितिलाई ख्याल गर्नुहोस्, सरकारी अनुसन्धानलाई सहयोग गर्नुहोस् । मन्दिर दर्शन नै गर्नु परे ३-४ दिन बिदा हुन्छ नि बेला बेला, त्यो बेला गरे हुन्न र ?

३. हामी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सदैब भलो चाहान्छौँ । तपाईंका एकाध राम्रो कामको खुलेरै प्रशंसा गरेका छौं । तपाईंहरुका पटक पटकका बदमासीबारे हामी खबरदारी गर्छौँ र गरिरहनेछौँ । अदालतको आदेशको अपव्याख्या गराउन मान्ने, आफुले जे भन्यो त्यहि लेखाउन सक्ने मिडिया ठिक, अरु बेठिक भन्ने भ्रमबाट तपाईंहरु मुक्त हुनुहोस् ।

कतिपय समाचारमा खण्डन नै के हो के हो जस्ता आउँछन्, यसपाली नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खण्डन पनि त्यस्तै आयो । खैर, खण्डन प्रकाशन गर्ने तपाईंको अधिकारलाई सम्मान गर्दै हामीले प्रकाशन गर्यौँ । अझ, औपचारिक प्रकाशन गरेको मात्र भए पनि हुन्थ्यो, हामीले त भिडियो नै बनाएर बैंकको भनाई यस्तो आयो, हाम्रो कुरा यो हो भन्यौँ । अझ थप खण्डन आए, फेरी भन्छौँ । तर माफ गर्नुस् महासय, आफु नबोल्ने, खण्डनका नाममा अनेक दाबी पठाउने र हाम्रो समाचार हटाउन आदेश दिने, यो काम ठिक भएन । हामी हाम्रा समाचार तथ्यपरक छन् भन्ने कुरामा अडिग छौँ । प्रकाशित समाचार हटाउन नमिल्ने त कानुनी व्यवस्था नै छ, पर्सि जेठ १४ गतेदेखि ४ दिन बिदा छ, फुर्सद मिलाएर बैंकर अङ्कलहरुले पढ्नुहोला । अनि साच्चै सूचना अधिकारी कि नतोक्नु, कि मिडियाको फोन उठाउनु, रेस्पोन्स गर्नु । कि मिडिया फेस गर्ने मान्छे राख्नु, होइन भने सत्य समाचार लेख्दा, अप्रतक्ष नथर्काउनू, नधम्काउनू । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गलत कामबारे हामी निरन्तर फलोअपमा छौँ ।

अनि साच्चै यो इमेलको जमानामा दुई दुई जना कर्मचारी पठाएर, हार्ड कपि पठाएर के बेकार काम गरेको हौ ? सिधै हाम्रो इमेलमा खण्डन पठाए हुन्छ है । जनशक्तिको सदुपयोग पनि त तपाईंहरुको दायित्वभित्र पर्ला नि, होइन र ?

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK