पर्वत । इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका पर्वतका एक युवाले बङ्गुरपालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । कुश्मा नगरपालिका-७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक १८ लाखसम्म आम्दानी गरेका छन् । “आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए”, उनी भन्छन्, “मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।”
तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उनले चुनौतीकै माझ कुश्मा नगरपालिका-८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् । सात वर्षदेखि यो व्यवसायमा लागेका उहाँले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए । इराकमा मासिक ७० हजार कमाउने उनले बङ्गुरपालनबाटै मासिक डेढ लाख बचत गर्दै आएका छन् । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका छन् । “कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ”, उनी भन्छन्, “मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बङ्गुर पालिरहेको छु । बजारको माग धान्नै सकेको छैन ।”
समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर-बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उनका लागि सहज कहाँ थियो र ? तर आफैँले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठानेका उनले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न लागेका हुन् । सात वर्षका अवधिमा उनले फार्ममा झण्डै एक करोड लगानी गरेका छन् । यद्यपि अझै पनि उहाँलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ ।
व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन् । “मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उनले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ”, उनी भन्छन्, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि ” उनको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७/७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट तीन लाख ५० हजार अनुदानसमेत आएको थियो । उनले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई ८५ हजारमा बिक्री गरेका छ । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गरेका उनले आजभोलि फोहरलाई कम गरेर दाना खुवाउन थालेका छन् । यही कारण चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य पाँच हजार ५०० पुगेको छ ।
उनले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताए । उनले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बङ्गुर राखेका छन् । एउटा माउ चार÷पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताए । उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ । वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ । विदेशमा रहेका नेपालीले बङ्गुर फार्ममा पनि काम गरिरहेको बताउँदै व्यवसायी क्षेत्रीले विदेशमा जस्तो फोहरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताए ।-रासस