सर्लाही । द्वन्द्वको बाहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् । एकाउन्न किलोमिटर भारतसँग प्रत्यक्ष खुला सीमा जोडिएको सर्लाहीमा सातवटा छोटी भन्सार कार्यालय थिए । मंगलबारबाहेक अहिले अरु छोटी भन्सार कार्यालय बन्द रहेका कारण साना व्यापारी मारमा परेका छन् । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनु पर्दा पनि भन्सार बुझाउन मुख्य भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ भने त्यसको प्रत्यक्ष फाइदा तस्करले उठाइरहेका छन् ।
जिल्लामा सातवटा छोटी भन्सार कार्यालय बन्द हुँदासमेत सरोकार निकाय मौन छ । भारतसँग खुल्ला सिमाना जोडिएको जिल्लाको ५१ किलोमिटरभित्र मलङ्गवासहित सङ्ग्रामपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय भए पनि ती अहिले बन्द छन् । भन्सार कार्यलय बन्द हुँदा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको जानकारले बताएका छन् । केही व्यापारी आफ्नो सामानको राजस्व तिर्न जिल्ला भन्सार कार्यालय नै पुग्ने गरेका भए पनि धेरैले राजस्व नतिर्ने गरेको पाइएको छ । पछिल्लो समयमा त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइए पनि कार्यालय सहयोगी मात्र रहेका कारण राजस्व उठ्न सकेको थिएन ।
माथिल्लो तहबाट छोटी भन्सार सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरुले मात्रै निर्णय गरेर कार्यालय खुलाउन सक्ने अवस्था नरहेको जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख राजेश दत्तले बताए । मुख्य भन्सार नाका बाहेक सबै नाका बन्द छन् भने छोटी भन्सार कार्यालय तत्कालै सञ्चालनमा आउने अवस्था पनि छैन । सीमा क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयको खासै काम पनि नरहेको कार्यालय प्रमुख दत्तले बताए ।
छोटी भन्सार कार्यालयको क्षेत्रको बाटो भएर साना व्यापारीले सामान ल्याउने र ती कार्यालय बन्द हुँदा अधिकांशले राजस्व नतिरी जाने गरेका छन् । सामान्य सामान ल्याउछौँ, राजस्व तिर्न मलङ्गवा जानुपर्छ १२÷१५ हजारको सामान ल्याउदा १२÷१५ किलोमिटर धाएर राजस्व तिर्न जानुपर्छ त्यसकारण आफूहरुले चाहेर पनि राजस्व तिर्न नपाएको एक व्यापारीले बताए । “राजश्व तिर्न नपाउदा सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको आँखा छल्न चोर बाटो प्रयोग गर्न स्थानीय व्यक्तिलाई केही रकम दिनुपर्छ । तब मात्र सहज हुन्छ । यसो गर्नुभन्दा भन्दा छोटी भन्सार कार्यालय खुलेदेखि सबै झन्झट सकिने थियो ।” ती व्यापारीको गुनासो थियो ।
त्रिभुवननगर सर्लाहीका सीमा नाकामध्यको सबैभन्दा चल्तीको नाका हो । सोनवरसा, सीतामाढीलगायत बजारसँग प्रत्यक्ष सम्बन्ध रहेको त्रिभुवननगरबाट दैनिक लाखौँको कारोबार हुने गरेको भए पनि सो नाकास्थित रहेको छोटी भन्सार कार्यालयका कर्माचारीले मासिक १०÷१२ हजार मात्र राजस्व उठेको भन्दै जिल्ला भन्सार कार्यालयमा बुझाएपछि कर्मचारीको मिलेमतोमा भन्सार छली बढेको भन्दै कार्यालय प्रमुख दत्तले उक्त छोटी भन्सार कार्यालय पनि बन्द गरिदिएका छन् ।
छोेटी भन्सार कार्यालय बन्द हुँदा झोलेपोके तस्करको बिगबिगी बढेको सुरक्षाकर्मीको तथ्याङ्कले देखाउछ । चालू आवको चार महिनामा जिल्ला प्रहरीले करिब एक करोडभन्दा बढीको भन्सार छलीको सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो तर सुरक्षाकर्मीले नियन्त्रणमा लिएका सामानको मूल्याङ्कन बढी गर्ने र भन्सारले कम गर्ने गर्दा प्रहरी र भन्सार कार्यालयको तथ्याङ्क पनि नमिलेको पाइएको छ । मलङ्गवाको गोरखकाली नाकामा जिल्ला भन्सार कार्यालय रहेको छ । -रासस