काठमाडौँ । इ-सेवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । अधिवक्ता तीर्थराज भट्टराईले इ-सेवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका हुन् । उनले कम्पनीले विभिन्न बहानामा करिब २ महिना आफ्नो रकम होल्ड गरेको र त्यसको क्षतिपुर्तीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गराएका हुन् ।
भट्टराईका अनुसार होल्ड भएको रकम इ-सेवालाई पटक-पटक फलोअप गरी दुई महिनामा फिर्ता भएको थियो । तर इ-सेवाको अकर्मण्यताका कारण रकम होल्ड हुनु उपभोक्ता अधिकारविरुद्द भएको र त्यसबाट आफूलाई नोक्सान पुगेको उनको दाबी छ । त्यसविरुद्ध मनासिब क्षतिपूर्ति माग गर्दै इ-सेवालाई लिगल नोटिससमेत पठाएका उनले राष्ट्र बैंकमासमेत उजुरी दिएका थिए ।
यद्यपि कतैबाट पनि गुनासो सुनुवाई नभएपछि भट्टराईले अदालत पुगेका हुन् । यसो त इ-सेवाले विभिन्न बहानामा यसरी रकम होल्ड गर्ने कुरा अहिले सामान्यजस्तै भइसकेको भन्दै उनले यसबाट धेरै प्रयोगकर्ता पीडित भएको दाबी पनि गरेका छन् । पछिल्लो समय आम मानिस इ-सेवाबाट पिडित बनेका छन् तर आफ्नो समस्या नसुनेपछि उनीहरु मौन बसेका छन् ।