काठमाडौं । हप्तादिनमै खानेतेलको मूल्यमा उच्च वृद्धि भएको छ । बजारमा हप्तादिनमै खाने तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको हो । गत हप्तासम्म सनफ्लावर तेलको मूल्य प्रतिलिटर अधिकतम ३२० रुपैयाँमा बिक्री वितरण भईरहेको छ । तर अहिले सोही तेलको मूल्य प्रतिलिटर ३७० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
अहिले उद्योगीहरूले उत्पादन गरी बजारमा पठाउने तेलको मूल्य प्रतिलिटर नै ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य बढाएर पठाइरहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । नेपालमा एक दर्जनभन्दा बढी तेल उद्योग छन् । तेलको मूल्य उच्चरुपमा बढ्न थालेपछि साना-साना खुद्रा व्यापारीहरूले तेल नै बिक्री गर्न छोडिसेकेको छ । साथै ठूला होलसेल व्यवसायीहरूले सीमित मात्रामा तेल खरिद गरी बिक्री गरिरहेका छन् ।
यता तेलको मूल्य बढेसँगै व्यवसायीहरूले सीमित परिमाणमा तेल बिक्री गरिरहेको छ । बजारमा अहिले फरच्युन तेल प्रतिलिटर ४०० रुपैयाँमा बिक्री वितरण भइरहेको छ भने सनफ्लावर ३५० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । यस्तै धारा सन्फ्लावर तेल ३७० रुपैयाँ, सेफको ३४० रुपैयाँ, कुकको ३४० रुपैयाँ, पतञ्जली सनफ्लावर ४२५ रुपैयाँ, अमृत तेल ३५० रुपैयाँ, प्रकृति सनफ्लावर ३४५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । भटमासको तेल ३२० रुपैयाँदेखि ३४० रुपैयाँमा बिक्री भइरहेको छ ।
बजारमा खुलेआम कालोबजारी हुँदा पनि सरकारले ध्यान नदिँदा उपभोक्ता दिनहुँ महंगीको मारमा परेका छन् । उद्योगीहरूले मूल्य बढ्नुको मुख्य कारण रुस-युक्रेनबीचको द्वन्द्व रहेको जनाएको छ । उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपाली बजारमा पनि सोहीअनुसार मूल्य बढेको दाबी गर्दै आएका छन् ।