×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरमा लगानी गरेका सरकारी कर्मचारीको ‘रबैया’: ‘लुकेर बजार हेर्छन्, बजार घटेपछि सेवाग्राही थर्काउँछन्, घुसको रेट बढाउँछन्’

PRIME CA

सेयरमा लगानी गरेका सरकारी कर्मचारीको ‘रबैया’: ‘लुकेर बजार हेर्छन्, बजार घटेपछि सेवाग्राही थर्काउँछन्, घुसको रेट बढाउँछन्’

अर्थ सरोकार

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ । शुक्रबार काठमाडौँस्थित मालपोतमा थामिनसक्नुको भीड थियो । यसै पनि मालपोत भनेपछि भीड हुने नै भयो । सेवाग्राही लाइनमा थिए । बिचौलियाहरुहरुको चलखेल प्रष्ट देखिन्थ्यो । सबै जना आ-आफ्नै सुरमा थिए । यसैबीच एक जना कर्मचारीहरु अलि ‘अभद्र’ तरिकाले प्रस्तुत हुँदै थिए । ग्राहकलाई थर्काउँदै थिए । आफ्ना मान्छेको फाइल भटाभट अगाडी बढाईरहे पनि उनीहरुसँग पनि उनको प्रस्तुती ठिक थिएन । अरु ग्राहकले पनि उनको व्यवहार अलि फरक देखिरहेकै थिए । लाग्थ्यो उनी केहि गम्भीर तनावमा छन् ।

एकछिनपछि अर्का कर्मचारी आएर ,’बजारतिर के छ हँ ?’ भनेर सोधे ।

उनले मोबाइल देखाउँदै भने- ‘आज पनि झरेर मर्यो नि !’

बल्ल थाहा भयो, उनको रिसको कारण नेप्सेको घटाई रहेछ । स्थिति केहि नमिठो लागेपनि घटाईको पीडा भोग्ने उनीमात्र थिएनन्, होइनन् । त्यसैले हामीले हाम्रो कामसँगै उनले देखाईरहेको हाउभाउ र उनको मुहारमा देखिएको आक्रोशबारे बुझ्न उनीसँग सम्बाद गर्ने प्रयास गर्यौं ।

‘सरको पनि सेयरमा हाम्रैजस्तो थुप्रो लगानी छ जस्तो छ नि !’

हाम्रो प्रश्नपछि उनले मोबाइललाई घोप्टो पारे र केहि बोलेनन् । अर्का कर्मचारी उनलाई जिस्क्याएको शैलीमा भन्दै थिए- ‘उहाँ त खेलाडी नै हो नि’

उनका अर्का साथी अलि बढी ‘फ्र्यांक’ देखिए । उनीहरुको व्यस्तता सकिएपछि केहि कुरा गर्न भनेर हामीले कुर्ने निर्णय गर्यौँ । तर मालपोतमा सेयरबारे गफिने कोहि भेटेपछि उनीहरु काम र गफ दुबै भ्याउने रहेछन् । त्यसपछि हामीले हाम्रो पनि सेयरमा लगानी छ भन्ने शैलीमा कुरा गर्न थाल्यौँ । हाम्रो कुरामा उनी हो मा हो मिलाउन थाले ।

‘लुकेर बजार हेर्छन् कर्मचारी’
आइतबारदेखि बिहिबारसम्म बजार खुल्दा शुक्रबार कर्मचारीको व्यवहार विहीबारको बजारले तय गर्ने गर्थ्यो । ‘बिहिबार बजार बढ्यो भने काम गर्ने जाँगर नै बेग्लै हुन्छ शुक्रबार ।’ उनले मोबाइलतिर तेर्स्याउँदै भने, ‘हेर्नुस् त आज त मुड नै छैन । बजार घटिगो ।’ उनको कुरामा ‘होमा हो’ थप्दै तेश्रा कर्मचारी बोले- ‘आफ्नो त १० दिनको ज्याला नै गएछ नि ।’

उनी आफ्नो तीन दिनको तलवबराबरको पोर्टफोलियो घटेको बताउँदै थिए । ‘१० दिनको ज्याला भनेपछि त खासै के घटेछ र ?’ हामीले उनले अलि बढी कुरा खोल्छन् कि भनेर सोध्यौँ । त्यहि बेला अर्का साथी बोले- ‘१० दिनको ज्याला र १० दिनको ‘स्याला’ जोडेर त ज्यालास्याला त निकै पो हुन्छ त ।’ हामीले बल्ल बुझयौं- ‘स्याला’ भनेको घुस रहेछ । र १० दिनको तलव र घुस जोडेर निकै पैसा हुने रहेछ उनीहरुको । र एकै दिन बजारमा उनको त्यति रकम घटेको रहेछ । सबै कुरा बुझ्दा अव उनको पोर्टफोलियो अनुमान गर्न खासै गाह्रो भएन । शुक्रबार ८.८७ अंकले बजार घटेको थियो । यो अंकको घटोत्तरीमा उनले १० दिनको घुस र ज्यालाको रकम हिसाब लगाउँदा उनको राम्रै पोर्टफोलियो छ भन्ने बुझ्न गाह्रो भएन ।

ती कर्मचारीका अनुसार उनको डेस्कटपमा नेप्सेको साइट नै खुल्दैन । धेरै कर्मचारीले नेप्सेको साइटमात्र हेरे र काम गरेनन् भनेर कार्यालयले सो साइट नै हेर्न नमिल्ने बनाएको रहेछ । र त उनीहरु मोबाइलमा डाटा चलाएर भएपनि नेप्से हेर्ने रहेछन् । त्यो पनि लुकेर हेर्नुपर्ने रहेछ । हाकिमले देखे त्यसो गर्दा पनि गाली खाइने रहेछ । बिगतमा केहि त कारवाहीमासमेत परेका रहेछन् ।

बजार घटेको दिन र भोलिपल्ट घुसको रेट नै बढ्छ, कर्मचारीले थर्काउँछन् सेवाग्राही
हाम्रो प्रश्न र कुरा गराई देखेर त्यहाँका कर्मचारी अलि बढी नै खुल्न थाले । अझ हामीले हाम्रो पोर्टफोलियो त घटेकै छैन, नाफा कमाईराखिएको छ, तपाईंको कम्पनी छनोट राम्रो भएन क्यार भनेर हाम्रो पोर्टफोलियो देखाएजस्तो गरेपछि उनीहरु हामीतिर झन् आकर्षित भए । उनीहरुको काम पनि आफ्नै पारामा चल्दै थियो । सेयर लगानीकर्ता नै भनेपछि हामीलाई उनीहरुले साथीजस्तै गरे । अघि झर्किरहेका साथी पनि हाम्रो कुरामा ध्यान दिन थाले । पछि एकले अर्काको व्यवहारबारे ठट्टा मजाक गर्दै उनीहरुले एक अर्काको पोल खोले । बुझ्दै जाँदा थाहा भयो, सेयर बजार गह्तेका दिन मालपोतमा लिईने घुसको रेट नै बढ्दो रहेछ । कर्मचारीले ग्राहकलाई बजार घटेको रिस पोख्दा रहेछन् । त्यहाँ रहेकामध्ये एक कर्मचारी भन्दै थिए -‘पहिला पहिला बुढाले बुढी कुट्छन् भन्थ्ये, अहिले बुढीले बुढा कुट्ने जमाना आएपछि के गर्नु ? रिस पोख्ने नै यहाँ आउने मान्छेलाई हो।’

हामीलाई उनीहरुले लिने घुसबारे अलि जान्ने इक्षा भयो । हाम्रो नजिक्याईबाट प्रभावित भएका उनीहरुले एक अर्काको पोल खोल्दै भने, ‘उहाँको त बजार घटेको दिन खाजा खर्चको रेट नै बढ्छ ।’ अरु साथीहरु मुसुमुसु हाँस्न थाले । आफूतर्फ व्यंग्य गरेको थाहा भएपछि ती कर्मचारी बोले, ‘तपाईंको पनि त बढ्छ नि । के गर्नु ? पोर्टफोलियो मेनेज त गर्नु नै पर्यो।’ ती कर्मचारीले दिएको जानकारी अनुसार उनीहरुको समूहमात्र होइन, र मालपोतमा मात्र होइन, अहिले जुनसुकै सरकारी कर्मचारीको स्थिति पनि यस्तै छ । धेरैको सेयरमा लगानी छ र धेरै डुबेका छन् ।

देशभरका सरकारी कर्मचारीमध्ये ठुलो हिस्स्सा सेयरका कारोबारी !
यसो त देशभरका सरकारी कर्मचारीमध्ये ठुलो हिस्सा सेयरको कारोबारी रहेको तथ्य यसअघि नै खुलासा भईसकेको तथ्य हो । २०७३ सालमै राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा केन्द्रीय बैंक तथा निजामती सेवाका जिम्मेवार तहका कर्मचारी सेयर कारोबारमा प्रत्यक्ष संलग्न रहेको यसअघि नै भेटेको थियो । यतिसम्मकि केन्द्रले धेरै कर्मचारी त आफ्नो काम नै छोडेर सेयर कारोबारमा लागेको पनि भेट्यो । नेपाल राष्ट्र बैंकका कर्मचारीसमेत फुल टाइम सेयर ट्रेडर रहेको तथ्य पनि केन्द्रले भेटेको थियो । यतिसम्मकि केन्द्रले सेयर कारोबारमा संलग्न केही कर्मचारीको नामसहित सम्बन्धित कार्यालयमा कारबाहीका निम्ति सिफारिससमेत गरेको थियो ।

अहिले सतर्कता केन्द्रले पनि यस्तो अनुगमन निकै फितलो गरिरहेको छ । २०७३ सालमा जस्तो अहिले सेयर कारोबार गरेकै कारण कारवाही भोग्ने सरकारी कर्मचारीहरु नगन्य छन् । तर २०७३ सालको भन्दा अहिलेको स्थिति झन् चौगुणा बिकराल छ । सेयर कारोबार गर्ने सरकारी कर्मचारीहरुको संख्या दिन दुई गुणा, रात चौगुणाजसरी बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: