×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण नतिरेको भन्दै लघुवित्तले ‘टर्चर’ दिएपछि रेश्माले गरिन् आत्महत्या, स्थानीयबासी विरोधमा…

PRIME CA

ऋण नतिरेको भन्दै लघुवित्तले ‘टर्चर’ दिएपछि रेश्माले गरिन् आत्महत्या, स्थानीयबासी विरोधमा…

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छिन् । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ कि ३७ वर्षिया रेश्मा चौधरीले भदौ दुई गते विष सेवन गरी आत्महत्या गरेकी हुन् । रेश्माले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ३ लाख २० हजार ऋण लिएकी थिईन् । सो ऋण तिर्न नसकेपछि वित्तीय संस्थाले दिएको प्रेसरका कारण रेश्माले आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

युनिक नेपालले घर जग्गा बेचेरै ऋण तिर्छु भन्दाभन्दै आत्महत्या गर्न बाध्य बनायो
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट रेश्माले लिएको ३ लाख २० हजारमध्ये २ लाख ३९ हजार तिर्न बाँकी थियो । भदौ १ गते संस्थाको केन्द्र समुह बैठकमा नियमित किस्ता र ऋण ब्याज तिर्न नसकेपछि संस्थाले दबाब दिन भन्दै सूचना टाँस गर्दै बिहान ११ बजे उनको घरमा तालाबन्दी गरेको थियो । सूचना टाँस गरेर घरमा तालाबन्दी गरेपछि पनि रेश्मा किस्ता तिर्न नआएपछि पुनः संस्थाका कर्मचारी दबाब दिन भन्दै उनको घरमै पुगेका थिए ।

‘रेश्माले कमजोर आर्थिक अवस्थाका कारण तत्कालै रकम तिर्न नसक्ने बताएकी थिइन्’, संस्थाका एक कर्मचारीले भने, ‘उनले ३ महिनाभित्र घरजग्गा बेचेरै भएपनि ऋण तिर्ने भन्दै भाका मागेकी थिईन् ।’ तर उनलाई जसरी भएपनि पैसा तिर्नुहोस् भन्दै संस्थाका कर्मचारीहरुले दबाब दिएका थिए । ऋण तिर्छु भन्दाभन्दै पनि वित्तीय संस्थाले असह्य दबाब दिएपछि रेश्माले भदौ २ गते विष सेवन गरी आत्महत्या गरेको मृतकका छोरा सरोज चौधरीले बताएका छन् । ‘ऋण लिएको हो तर तिर्छु भन्दाभन्दै संस्थाका कर्मचारीले पालैपालो घरमै आएर दबाब दिए । त्यही तनाब सहन नसकेर आत्महत्या गर्नुभयो’, उनले भने, ‘कमसेकम अवस्था बुझेर केही समय भाका दिएको भए ज्यानै जाने त थिएन ।’

के भन्छ प्रहरी ?
यता युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले रेश्माले ऋण तिर्न नसक्दा उनको ऋणको साक्षी बसेकाहरुले संस्थाबाट ऋण लिन नमिल्ने भएपछि दबाब दिएको बताएको छ । मृतक रेश्माले किस्ता नतिरेपछि केन्द्रका सदस्यहरुको सल्लाह अनुसार दबाब दिन तालबन्दी गरेको संस्थाको भनाई छ । तर तालबन्दीको जानकारी भने प्रहरीमा नगरेको इलाका प्रहरी कार्यालय चौमालाका प्रमुख तथा प्रहरी नायब निरिक्षक विशनदत्त भट्टले बताएका छन् । ‘रेश्माले लघुवित्तबाट लिएको ऋणको ६ किस्ता तिरेकी रहिछन् । तर लगातार किस्ता नतिरेपछि संस्थाका कर्मचारीले उनको घरमा गएर दबाब दिएका रहेछन् र तनाब सहन नसकेपछि उनले विष सेवन गरी आत्महत्या गरेको भन्ने बुभिएको छ’ प्रहरी नायब निरिक्षक भट्टले भने, ‘घरमा ताला लगाएको विषयमा हामीलाई कुनै जानकारी छैन । हामीले त उनले विष सेवन गरेपछि मात्रै थाहा पाएका हौँ । शनिबार उनको दाहसंस्कार भएको छ ।’

गौरिगंगा नगरपालिकामा रेश्माले भदौ २ गते साँझ करिब ६ बजेको समयमा विष सेवन गरेकी थिईन् । साढे ७ बजे उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको र राती १० बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले जानकारी दिएका छन् । ‘विष सेवन गरी आत्महत्या गरेको भन्ने विषयमा प्रहरीमा जाहेरी परेको थियो तर के कारणले भन्ने उल्लेख गरिएको थिएन । तर बुझ्दै जाँदा ऋण तिर्न नसकेरै आत्महत्या गरेको भन्ने बुझिएको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले भने –‘रेश्माले छोरीका नाममा पनि ऋण लिएकी रहिछन् र छोरीले पनि ऋणका कारण आफ्नो घरमा समस्या भएको बताएको र संस्थाले पनि ऋण तिर्न प्रेसर दिँदा विष सेवन गरेको भन्ने प्रारम्भिक अनुसन्धानमा देखिन्छ । तर घटनाको बाँकी पाटो अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा भने त्यसपछि नै थाहा हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: