Skip to content
LAXMI SUNRISE BANK

‘लघुवित्तमा बहुबैंकिङको समस्या बढ्यो, कर्जा प्रवाह गर्दा ऋणीको क्षमता मूल्यांकन गरेर मात्र ऋण दिनु’ -तिम्सिना

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले ऋणीको क्षमता मूल्यांकन गरेर मात्रै कर्जा प्रवाह गर्न निर्देशन दिएकी छिन् । मंगलबार स्वर्गीय डा. हरिहरदेव पन्तको सातौं स्मृति दिवसको अवसरमा आयोजि कार्यक्रममा बोल्दै तिम्सिनाले यस्तो निर्देशन दिएकी हुन् ।

पछिल्लो समयमा देशभरीका लघुवित्त वित्तीय संस्थाहरुमा एकै खालको समस्या देखा परेको तिक्सिनाको भनाई छ । ‘अहिले प्राय धेरै लघुवित्त वित्तीय संस्थामा बहुबैंकिङको समस्या देखिएको छ । यसको मुख्य कारण ऋणीको क्षमता मूल्यांकन नगरी कर्जा प्रवाह गर्नु हो’, उनले भनिन्, ‘यस विषयमा लघुवित्त वित्तीय संस्था अलि बढी चनाखो हुनुपर्ने देखिन्छ ।’ वरिष्ठ डेपुटी गभर्नर तिम्सिनाका अनुसार पछिल्ला केही समययता लघुवित्त वित्तीय संस्थासँग जोडिएर घटेका घटनाको कारण पनि बहुबैंकिङ नै देखिएका छन् ।

‘देशको गरिबी निवारण, महिला सशक्तिकरण, आर्थिक विकास र वित्तीय पहुँच वृद्धिका लागि लघुवित्त वित्तीय संस्थाले थप पहल गर्नुपर्छ । राष्ट्र बैंकले लघुवित्त संस्था र संस्थाका कार्यहरुलाई ‘वाच’ गरिरहेको छ ।’ उनले भनिन् -‘लघुवित्त संस्थाबाट उत्पादनशील क्षेत्रमा लगानी गर्न लिएको ऋण अन्य क्षेत्रमा लगानी प्रवाह भइरहेको देखिन्छ । यसमा बेलैमा सजग नभएर थप दुर्घटनाको सामना गर्नुपर्ने हुनसक्छ ।’

लघुवित्त कार्यक्रममा सहभागी हुने महिलाहरू पारिवारिक निर्णय क्षमतामा बढी स्वायत्त, समुदायमा बढी सम्मानित, वित्तीय रुपमा स्वायत्त, सामाजिक तथा मनोवैज्ञानिक प्रभावयुक्त साथै आत्मविश्वासी भएको पाइएको उनको दाबी छ । विभिन्न अध्ययनले पनि लघुवित्तमार्फत महिलालाई अतिरिक्त आय आर्जन गर्न समेत मद्दत पुगेको पाइएको तिम्सिनाले बताएकी छिन् । कार्यक्रममा बोल्दै उनले आगामी दिनमा थप सशक्त बन्न र आफ्नो जिम्मेवारीप्रति पूर्ण बफादार बन्न समेत निर्देशन दिएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK