×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायी पुष्पा न्यौपाने प्रकरणमा पर्दा पछाडीका कथा : पुष्पा जलिरहिन्, सुधन टुलुटुलु हेरिरहे… (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

व्यवसायी पुष्पा न्यौपाने प्रकरणमा पर्दा पछाडीका कथा : पुष्पा जलिरहिन्, सुधन टुलुटुलु हेरिरहे… (भिडियो रिपोर्ट)

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । पुष्पा न्यौपानेलेइन्गेजमेन्ट भईसकेका सुधन संग्रौला र उनको परिवारले इन्गेजमेन्ट तोड्ने निर्णय गरेपछि केटाको घर अगाडी गएरै देहत्याग गरिन् । संगै बाँच्ने र मर्ने कसम खाएका सुधन र पुष्पाको प्रेम टुटेपछि पुष्पा नमिठो निर्णयसम्म पुगिन् । र अहिले यो घटना चर्चामा छ । केटाको घरै अगाडी पुष्पाले ज्यानमा पेट्रोल खन्याएर आफ्नै शरीर जलाउँदा पनि केटा सुधनले टुलुटुलु हेरिरहेको आरोप लागेपछि अहिले यो घटना थप रहस्यमय बनेको छ । र त आजको अर्थ सरोकार ट्रेन्डिङमा आज हामी यहि घटनाक्रमको नालीबेली खोतल्ने प्रयास गरिरहेका छौं ।

पुष्पा न्यौपाने दरबारमार्गको कल्मी नेपाल स्टोरमा काम गर्थिन् । सानैमा आमाको निधन भएपछि अर्की आमा र बाबुले हुर्काएका पुष्पाको काकाको व्यापार थियो कल्मी नेपाल स्टोर । चीनबाट बच्चाहरुको खेलौना ल्याएर नेपालमा बिक्री गर्ने व्यापारी सुधन संग्रौला एक दिन पुष्पा काम गर्ने पसलमा पुग्छन् । पुष्पाको व्यवहारबाट उनी इम्प्रेसड भए । त्यसपछि दुवैको हिमचिम बढ्यो । सुधनले पुष्पाको फेसबुक आईडी मागे र दुवैजना सामाजिक संजालमा जोडिए । कुरा हुँदै जाँदा एकअर्कासँग प्रेमिल दुनियाँका बात हुन थाले । दुबैले एकअर्कालाई मन पराएको बताउन थाले ।

सुधन र पुष्पाले समय समयमा कफी टक हुँदा एकअर्काको बिगतको प्रेम सम्बन्धका बारेमा सोध्थे । यहि क्रममा सुधनले यस अघि आफ्नो कसैसंग प्रेम भएको बताएका थिए भने पुष्पाले आफ्नो बिगतको प्रेमबारे केहि बोलेकी थिईनन् ।बिगत अधिकांसको हुन्छ । आखिर मन त माया बस्ने घर न हो, यहाँ आउने जाने क्रम चलिरहन्छ । आउनेहरुमध्ये सबैभन्दा मन परेकोले न हो मनमा बस्न पाउने । यहि सोचेर पुष्पा र सुधनले एकअर्काको हुने निर्णय गरे र एक बर्षपछि विवाह हुनेगरी गत भदौ १८ गते इन्जेगमेन्ट गरे।

तर विस्तारै उनीहरुको सम्बन्धमा दरार आयो । कुनै बेला एकअर्काविना बाच्नै नसक्ने भएका उनीहरु अव एकअर्कासँग सँगै विवाह नगर्ने निर्णयमा पुगे । पुष्पाले सुधन र पुष्पाको फोटो फेसबुकमा हाल्न खोज्दा सुधन मान्दैनथिए । यस्तै यस्तै ससाना निहुँपछि झगडा बढ्दै गयो । यतिसम्मकि यसअघि पनि सुधन सम्पर्कविहीन भएपछी पुष्पाले सुधन सम्पर्कमा नआए आफुले प्राण त्याग्ने चेतावनी सुधनको परिवारलाई दिएकी थिइन्।

जाहेरीमा उल्लेख भएअनुसार सुधनको परिवार पुष्पाको बुद्धनगरमा रहेको घरमा आएर ‘हामी विवाह गर्न सक्दैनौँ, विवाह क्यान्सिल गरौँ’ भनेर विवाह क्यान्सिल गरेका थिए । सुधनको परिवारले इन्गेजमेन्ट कार्यक्रममा लिएको दक्षिणा एवं गहना फिर्ता गरेर मानसिक यातना दिएको जाहेरीमा उल्लेख छ।

उता सुधनको परिवारले भने सहमतिमै इन्गेजमेन्ट तोडिएको दाबी गरेका छन् । सुधनका परिवारका पटक पटकको छलफलपछि सहमतिमै इन्गेजमेन्ट तोडिने नै भएपछी परम्परा अनुसार सुधनको परिवारले इन्गेजमेन्टमा दिइएको जनाई सुपारी फिर्ता गर्न पुष्पाको घर पुगे । पुष्पाको परिवारले पनि ठिकै छ, यस्तै भयो भनेर भारी मनले जनै सुपारी फिर्ता लिए । सुधनको परिवार फर्कने बेलामा पुष्पा सुधन र उनको परिवारलाई बिदा गर्न तल ओर्लीइन् । दुबैले अंकमाल गरे, ‘जे नहुनु भईहाल्यो, तपाईं पनि आफुले चाहेकोजस्तै केटासँग विवाह गर्नु, म पनि राम्रो केटा खोजेर विवाह गर्छु भनेर’ सुधनलाई पुष्पाले बिदा गरे ।

तर उनै पुस्पाले आइतबार बेलुका धुम्बाराहीमा रहेको संग्रौला परिवारको घर अगाडि जलेर प्राण त्यागेको खबर आयो । पुस्पा जलिरहँदा सुधनले हेरिरहेकोसम्मका कुरा आए । त्यसपछि सुधन र पुष्पा अर्थात दुई व्यापारीको नमिठो प्रेम कहानीले नयाँ मोड लिएको छ यतिबेला।

पुष्पाको परिवारको तर्क छ -‘विनाकारण इन्गेजमेन्ट तोडियो । मानसिक तनाव सहन नसकेर पुष्पाले प्राण त्यागिन । तर सुधनको परिवारले भनिरहेको छ, ‘सहमतिमै इन्गेजमेन्ट तोडिएको हो । उनी आफ्नो घरअगाडी जल्नुमा आफ्नो कुनै दोष छैन ।

पुष्पाको परिवारले जाहेरी दिएपछि आत्महत्या दुरुत्साहनको आरोपमा पुष्पाको परिवारले सुधनसहित मधु संग्रौला, दिनेश संग्रौला, बिन्दु संग्रौलासहित ६ जना पक्राउ परे । तर उनीहरुलाई फिल्मी शैलीमा प्रहरीले छोडेको र सुधन मात्रै प्रहरी हिरासतमा भएको प्रति पुष्पाको परिवारले आपत्ति जनाएको छ ।

खास भएको के हो, त्यो प्रहरीले अनुसन्धान त पक्कै गर्ला तर पुष्पाले आफुलाई जलाउँदा सुधन र उनको परिवारले उनलाई किन बचाउन खोजेन भन्ने प्रश्न भने टड्कारो बनेको छ । भलै यसबारेमा पनि प्रहरीले अनुसन्धान त गर्ला, तर घटना जे जस्तो भए पनि पुस्पाको ज्यान गयो, जे भयो दुखद भयो ।

कारण जे भएपनि उनले मानसिक तनाव सहन नसकेर मृत्युको बाटो रोजेको कुरामा कुनै शंका छैन । पुष्पालाई कति सम्म तनाव थियो भन्ने तथ्य बुझ्न गाह्रो छैन । तर उनलाई केहि हुँदैन, सब ठिक हुन्छ भनेर सम्झाउने कोहि नहुँदा उनले आफुलाई सम्हाल्न सकिनन् । व्यापार गरेर व्यवसायिक दुनियाँको उदाहरण बन्नुपर्ने पुष्पा अहिले प्रेम असफल भएकै कारण आफैंलाई आगो लगाएको कुरामा समाचारको विषय बनिरहेकी छिन् ।

पुष्पा त बितेर गइन् । तर हरेक कुरामा महिलाहरु नै जल्नुपर्ने कहिलेसम्म ? भन्ने प्रश्नको जवाफ अझै पनि भेटिएको छैन । इन्गेजमेन्ट तोडीदा सधैं महिला नै गलत देखिनुपर्ने ? सम्बन्धमा दरार आएपछि महिला नै गलत हुने ? यो कहाँको नियम हो ? यो कस्तो नियति हो ? यस विषयमा अव पनि बहस सुरु नगरे कहिले गर्ने ?

जाँदाजाँदै पुस्पाको नाममा लेखिएको यो सिर्जना:

आमा !!

क्षितिज पारी, धेरै पर, तिम्रो बास छ भनेको सुनें।
छोरी, मात्र म छोरीप्रति तिम्रो आस छ भनेको सुनें
तर आमा,

विवाह तोकियो, कसैले मलाई म छु नि भनेन
विवाह रोकियो, कसैले मलाई म छु नि भनेन
विवाह गर्ने सुसार हुँदा पनि कसैले मलाई म छु नि भनेन
विवाह तोडिने सुरसार हुँदा पनि कसैले मलाई म छु नि भनेन

संसार बुझाउने तिमी थिएनौ, संसार सोचेको मान्छे, आफ्नो भएन
संसारलाई म कसरी बुझाउँ, जव संसारमै खोजेको मान्छे आफ्नो रहेन
कसैले देखेन, म भित्र जलेको, कसैले सोचेन, पिल्सिएको म
कसैले बुझेन म भित्रको पीडा, कसैले खोजेन सिद्धिएको म

बोल्न खोजें, आवाज आएन
कुरा खोल्न खोजें, आँट आएन
आँट आएन किनकि मसँग आँट दिने तिमी थिएनौ
एक्ली भएँ किनकि मलाई साथ दिने कोहि भएन ।

जव आफ्नै भनिएको उ, आफ्नो बन्दिन भनेर हिड्यो
सुनाउन खोज्दै थिएँ मनका बह, तर अव सुन्दिन भनेर हिड्यो
जनै सुपारी फिर्ता भयो, तर मेरो प्रेम मैसँग रह्यो
अनि त आमा, कसरी सहुँ, अनि त के भयो खै यस्तै भयो

माफ गर्नु आमा !!
अव तिमीसँग आउनुको विकल्प भेटिन
आफैंलाई सिध्याउनुको विकल्प भेटिन
जलाएर आफैंलाई पाप गरें थाहा छ
पाप गरे किनकि धर्मको कुनै बाटो भेटिन

आमा !!
हो, म छोरी त मरेर आएँ, लाचार भई आफैंलाई जलाएर आएँ !!
तर नजिर यस्तो बसोस्, कि दुनियाँले बुझोस्, म आफैंले आफैंलाई गलाएर आएँ

कसैले तिमी नसहनु म छु भनिदिएको भए, म मर्दिनथिएँ होला
कसैले म छु नि भनेको भए म मर्दिन थिएँ होला।

तिम्रो इज्जत जनै सुपारीमा अड्केको छैन भनिदिएको भए म मर्दिन थिएँ होला
सम्बन्ध सिद्धिनुमा फगत तिमी दोषी छैनौं भन्ने भनिदिएको भए म मर्दिन थिएँ होला

बाँचेर लड म छु भनिदिएको भए
सबै नभए पनि, तर म छु भनिदिएको भए
यो समाजले पटक पटक होइन मात्र एक पटक
एक पटक मात्र होइन, त्यो अन्तिम एकपटक
म छु तिमी नमर भनिदिएको भए म मर्दिन थिएँ होला
मृत्यु विकल्प होइन भन्ने समाजले बुझ्नेगरी बुझाईदिएको भए म मर्दिन थिएँ होला
म मर्दिन थिएँ होला किनकि मसंग त जागिर थियो, आफन्त थिए, मात्र उ त थिएन
उ त थिएन, अहँ उ त कहिल्यै आफ्नो थिएन, म मर्दिन थिएँ होला।

तर आमा, सबै दोष मेरै देखाईपछि
सबै बिगारेको मैले नै हो भन्ने पारेपछि
मैले मारिदिए आमा आफैंलाई
मैले मारिदिए आमा तिम्री छोरीलाई

तर फेरी पनि बुझोस् समाजले, कान खोलेर सुनोस् समाजले
छोरीले आफैंलाई मारेको अन्तिम होस् भनेर म मरेको हुँ
छोरीहरुले अव मर्नु नपरोस् भनेर म मरेको हुँ
म एउटा कथा होइन, अन्तिम कथा हुन मरेको हुँ
म एउटा पात्र होइन, अन्तिम पात्र हुन मरेको हुँ

अव कहिल्यै छोरीहरु यसरी मर्नुनपरोस भनेर म मरेको हुँ
छोरीहरुले ज्यानमा पेट्रोल छर्नु अव नपरोस भनेर म मरेको हुँ
बुझोस्, फेरी एक पटक बुझोस् यो समाजले
सुनोस्, फेरी एक पटक सुनोस् यो समाजले
म अव तपाईंकि छोरी यसरी नमरोस भनेर मरेको हुँ
तपाईंले बेलैमा सम्झाएको भए छोरी बाच्ने रहेछिन भन्ने नपरोस भनेर म मरेको हुँ
तपाईंले बेलैमा सम्झाएको भए छोरी बाच्ने रहेछिन भन्ने नपरोस भनेर म मरेको हुँ

– पुस्पा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: