काठमाडौं । रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् ।
काठमाडौं महानगपलिका वडा नं. ४ सुकेधारा स्थित ग्लोबल भिलेज सोर्स प्राइभेट लिमिटेडका संचालकहरुले विभिन्न ९ जना व्यक्तिहरुलाई वैदेशिक रोजगारीका लागी रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरुमा पठाईदिन्छु भन्दै प्रतिव्यक्ति ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित देशहरुमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने र मासिक १ लाख भन्दा बढी तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी पिडितहरुबाट पटकपटक गरी कुल ३१ लाख ९० हजार रुपैयाँ ठगि गरी सम्पर्क बिहिन भएका थिए ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले निज संचालकको खोजतलास गर्ने क्रममा माघ २० गते काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ११ शेषमतिबाट ४० वर्षीय हरी बस्नेत र ४२ वर्षीय हेमलाल पुन मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी जनाएको छ ।