काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. ३ स्थाई बतन भई हाल काठमाडौं महानगपलिका वडा नं. ३२ नरेफाट बस्ने २९ वर्षीय लक्ष्मण थापा पक्राउ परेका हुन् ।
उनले झापा जिल्ला कमल गाउँपालिका वडा नं. ७ ठुलो बाराघारी बस्ने ४० वर्षीय सोमनाथ उप्रेतीलाई वैदेशिक रोजगारीमा क्यानडा पठाईदिने भन्दै रकम ठगी गरेको पिडितले बताएका छन् ।
थापाले क्यानाडा जान प्रतिव्यक्ति २३ लाख रकम लाग्ने र सम्बन्धित देशमा पुगेपछि गाई फर्ममा काम लगाइदिने, मासिक तलब ३ लाख बढि हुन्छ भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । उनले पिडितबाट पटक-पटक गरी कुल १९ लाख ९० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले थापालाई फाल्गुन ४ गते काठमाडौँ महानगपलिका वडा नं. १० बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ ।